चट्याङ्ले आगलागी, डुडुवाका ३८ घर जले

चर्को गर्मीमा बुधबार विहान एकैछिन परेको झरीले बाँके डुडुवा गाउँपालिकाका थप पीडा दिएको छ । विहानै चर्को घाम लागेको बाँकेमा केही बेर आकास बादलियो, हावाहुरी र हल्का झरी पर्यो । बाँकेका अन्य ठाउँका बासिन्दालाई बर्षाले केही क्षण शितलता अनुभव गरिरहँदा डुडुवा–१ का चौखेरीका बासिन्दा भने घरमा लागेको आगो निभाउन दौडधुप गर्नु पर्यो ।


हावाहुरी र बर्षासँगै परेको चट्याङले लागेको आगोले चौखेरीका ३८ वटा घरमा क्षति पुर्याएको छ । आगलागीमा कसैले ज्यान गुमाउनु नपरेपनि आर्थिक रुपमा ठूलो क्षति पुर्याएको छ । प्रहरीले ३१ लाख ३७ हजार ५ सय बराबरको क्षतिको अनुमान गरेको छ । आगलागीका क्रममा नगद, जिन्सी तथा भण्डारण गरिएको अन्नबाली समेत जलेर नष्ट भएको स्थानीयबासीले जानकारी दिएका छन् । घटनामा स्थानीय राम खेलौना यादवको घर भित्र सुतेकी १६ बर्षिय छोरी नन्कैको ढाड जलेको छ ।


चट्याङले एउटा घरमा आगो लागेपछि जोडिएका घरहरुमा आगो सल्किदै गएको प्रहरी चौकी खडैचाले जानकारी दिएको छ । आगालागीको सूचना पाउने वित्तिकै खडैचा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विन्द्र कठायतको नेतृत्वमा पुगेको टोली र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।


‘खरले छाएका अस्थायी प्रकृतिका घरहरुमा बस्न नमिल्ने गरी आगोले क्षति पुर्याएको छ’, अवस्था बुभ्mन चौखेरी पुगेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षण अरुण पौडेलले भने, ‘एक साइडमा जोडिएका घरहरु जलेका छन् ।’


जिल्ला प्रशासन कार्यालय बाँके प्रमुख मदन भुजेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी, सशस्त्रका भेष बहादुर शाह, अनुसन्धानका उपनिर्देशक कमल भट्टराई चौखेरी पुगेका थिए ।


जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख भुजेलले आगलागी भएका घरहरु बस्न नमिल्ने अवस्था रहेकाले विकल्प खोज्नुपर्ने जानकारी दिएका छन् । पीडितहरुको राहतका लागि गाउँपालिकासँग समन्वय गरिरहेको जानकारी दिंदै प्रजिअ भुजलले तत्कालका लागि नगद प्रति परिवार ३ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने बताएका छन् । ‘गाउँपालिकाले प्रति परिवार २ हजार रुपैयाँ राहत दिने जानकारी आएको उक्त रकमसँगै प्रशासनको राहत बाँड्न आग्रह गरेको छु’, प्रजिअ भुजेलले भने । प्रजिअ भुजलले पीडितलाई आवश्यक पर्ने थप राहतका लागि पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया