सहकारीमा करोडौं अपचलन प्रकरण, तीन कर्मचारी पक्राउ

नेपालगन्ज सहकारी वित्तिय विकास संस्था लिमिटेडमा करोडौं रुपैयाँ अपचलनको आरोप लागेका तीन जना कर्मचारी माथि सार्वजनिक मुद्दा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार सहकारीका प्रमुख व्यवस्थापक गोपाल भण्डारी, प्रबन्धक अरुण कुमार पाठक, नायब महाप्रबन्धक गंगाधर सुवेदीमाथि प्रहरीले प्रहरी सार्वजनिक मुद्दा लगाएर थुनामा राखेको हो ।


प्रबन्धक पाठक, महाप्रबन्धक सुवेदी यसअघि नै प्रहरी नियन्त्रणमा थिए । भण्डारीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले अपचलनको आरोप लागेका तीनै जना कर्मचारीलाई सार्वजनिक मुद्दा लगाइएको बताएका छन् । ‘अपचलनबारे अनुसन्धान भैरहेको छ’, उनले भने ।


सुरुमा सहकारीका आन्तरिक छानविन समितिले २६ करोड रुपैयाँ अपचलन गरेको प्रतिवेदन बाहिर ल्याएको छ । प्रबन्धक पाठकले २१ करोड ९४ लाख ३६ हजार १ सय ४२, सुवेदीले २ करोड ८९ लाख ४७ हजार ९ सय १५, खजुरा शाखा प्रबन्धक सुर्य बहादुर विकले ६२ लाख ८७ हजार ५२, बैजापुरका शाखा प्रबन्धक लिला प्रसाद वलीले ३८ लाख ७७ हजार ७ सय ७८ रुपैयाँ अपचलन गरेको स्वीकार गर्दै उक्त रकम फिर्ता गर्ने सहमति गरेका थिए । तर, उनीहरुले गरेको कागज अनुसार रकम फिर्ता नगर्दा बचतकर्ताको निक्षेप फिर्ता हुने वा नहुने अन्योल नै छ ।
बचत अपचलन स्वीकार्दै कागज गरेका कर्मचारीले रकम फिर्ता नगरेपछि सहकारी अहिले गम्भीर आर्थिक संकटमा परेको छ । प्रहरीले प्रहरी नियन्त्रणमा रहेकाहरुलाई माथि बचत फिर्ताको दबाब दिंदै मुद्दा भने दर्ता गरेको थिएन । तर, भनेको समयमा कर्मचारीले रकम फिर्ता नगरेपछि प्रहरीले मंगलबार मुद्दा दर्ता गरेको हो ।


सहकारी सञ्चालक समितिले आन्तरिक छानविनमा आशंका गर्दै थप छानविनका लागि जिल्ला सहकारी संघलाई गुहारेको थियो । जिल्ला सहकारी संघका उपाध्यक्ष नवराज सुवेदीको नेतृत्वमा रहेको ५ सदस्यीय छानविन समितिको प्रतिवेदनले सहकारीमा ३८ करोड १७ लाख ५० हजार ५ सय ४४ रुपैयाँ हिनामिना भएको देखाएको छ । प्रतिवेदनले नियम विपरित ऋण लेखदेनमा संलग्न रहेको भन्दै पाँच जना कर्मचारीलाई दोषी देखाएको छ । आन्तरिक छानविन समितिले दोषी नदेखाएको भण्डारी पनि बचत अपचलनमा संलगन रहेको पाइएको छ ।


प्रतिवेदन अनुसार, सहकारीमा कारोबारमा लापरवाही गरिएको छ । खाली तमसुकमा सहीछाप गरी रकमको अंक नलेखेको, तमसुकमा उल्लेखित भन्दा बढी बढी रकम ऋण लेजरमा उल्लेख गरेको, गोश्वारा भौचर विना कारोबार गरेको पाइएको छ ।


सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीले सहकारीमा ठूलो हिनामिना भएकाले बचतकर्ताको रकम फिर्ता गर्न समस्या भैरहेको बताए । त्यसैले भाखा नाघेका ऋणिहरुलाई ताकेता गर्नेदेखि बचतकर्ताको रकम फिर्ता गर्न ऋण लिने प्रयासमा रहेको अध्यक्ष चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले बचतकर्ताको रकम फिर्ताका लागि आफ्नो, सञ्चालक समितिका केही सदस्य र कर्मचारीको लालपुर्जा धितो राखेर सहकारी बैंकबाट ऋण लिने प्रक्रिया सुरु गरेको बताएका छन् । ‘हाम्रो लालपुर्जा अनुसार ऋण प्राप्त भएपछि केही सहज हुनेछ’, उनले भने, ‘अपचलन गर्नेबाट रकम फिर्ता आएपछि लिइएको ऋण तिर्नेछौं ।’


सहकारीले हप्ताको दुई दिन बचतकर्ताको १० प्रतिशत रकम फिर्ता गर्न सुरु गरेको छ । ‘२ सय ५० जति बचतकर्ताको ८० लाख रुपैयाँ जति फिर्ता गरिसकेका छौं’, अध्यक्ष चौधरीले भने । उनले रकम खजुरा र बैजनाथको शाखा सञ्चालनमा ल्याउन नसकिएको उल्लेख गर्दै भने, ‘बिस्तारै सबै व्यवस्थापन गर्दै जानेछौं ।’000 अपचलन गर्नेलाई सार्वजनिक मुद्दा लगाएको प्रहरीले बचतकर्ताको रकम फिर्ता नभए सहकारी ऐन अन्तर्गत मुद्दा चलाउने बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया