जो संघर्ष गर्दछ, एकदिन उ अवश्य शिखरमा पुग्दछ । सगरमाथाको शिखर होस या व्यवसायिक सफलताको शिखर । सफलताको लागि तीन चिजको आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोंच । नेपालगन्जका प्रतिष्ठित उद्योगपति सतिशचन्द्र अग्रवाल यसमा सहमत छन् । उनी थप्छन् –‘इमान्दारिता र मेहनत भए सफलता कसैले खोस्न सक्दैन ।’
आफु व्यवसायप्रति इमानदार रहेको र सबै कारोबारीसँग इमान्दारीपुर्वक सहकार्य गरेकै कारण आफु यो अवस्थामा रहेको उनी बताउँछन् । उनको एउटा सुत्र छ–‘खरिदमा टेन्सन नलिनुस, बिक्रीमा मात्र टेन्सन लिनुस ।’ उत्पादित सामग्री बिक्री वितरणमा हरेक बिक्रेतासँग उनको आग्रह यही हो ।
उनी पश्चिम नेपालकै सम्भवतः पहिलो सिमेन्ट उत्पादक कम्पनी जय मंगलम सिमेन्ट प्रालिका सञ्चालक हुन् । उनी ट्रेडिङ बिजनेसबाट उद्योगमा हात हालेका हुन् । यद्यपी अहिले ट्रेड र उद्योग सँगसँगै लगेका छन् ।
महानगर गाथाका लागि सुर्खेतरोडस्थित उनको वातानुकुलित अफिसको पहिलो तल्लामा चियाको चुस्कीसँगै उनले नेपालगन्जको भाग्य र भविष्यका बारेमा आशाका मार्ग मात्र देखाए । ‘यो त साविक मध्य र सुदुरपश्चिमको केन्द्र हो, अहिले पनि प्रदेश नं. ५, ६ र ७ को मुख्य प्रवेशद्वार हो नि ।’ उनले सुनाए–‘अब उद्योग पर्यटनको हब बन्दैछ नेपालगन्ज ।’ उनले उद्योग पर्यटनको परिचर्चा गरिरहँदा मलाई भने पर्यटन शब्द हलुका बन्दै गएको हो कि भन्ने लाग्यो । उनले भने यसको सबिस्तार व्याख्या गरिरहे । पर्यटन आफैंमा वजिलो शब्द हो । कसैलाई हलुको लाग्ला, कसैलाई गह्रौं शब्द । यद्यपी रिक्सावालादेखि हवाइसेवासम्म, चिया चाटदेखि पाँच तारे होटलसम्मले बिजनेस पाउने माध्यम पर्यटन हो । सर्वसाधारणदेखि करोडपतिसम्म लाभान्वित हुने पेशा व्यवसाय भनेकै पर्यटन हो । त्यसैले आजभोलि हरेकले आफ्नो पेशा वा व्यवसायलाई पर्यटनसँग जोड्दै आएका छन् ।
कृषि पर्यटन, खेल पर्यटन, साहसिक पर्यटन आदि आदि । उद्योगपति अग्रवालका आँखामा नेपालगन्जको भबिष्य हो –‘उद्योग पर्यटन’ । ठुला ठुला उद्योगधन्दाका कारण सामान्य मजदुरदेखि दक्ष प्राविधिक जनशक्तिका साथै सम्बन्धित उद्योगका सञ्चालकहरुको आउजाउ सम्बन्धित सहरमा बाक्लिन्छ । यो सत्य हो । यसले यहाँको होटल व्यवसाय फस्टाउँछ, बैकिङ कारोबार बढ्दै जान्छ, मनोरञ्जनका क्षेत्रमा व्यापार बढ्छ । ‘सायद यी सबले यहाँको व्यापार चलायमान हुन्छ ।’ उनको तर्कमा सहमत हुने आधार छ ।
उनी बिशुद्ध नेपालगन्जीया हुन् । यहीं जन्मिए, यहीं हुर्किए । यहाँको पवित्र माटोसँग उनलाई बिश्वास छ । तसर्थ नेपालगन्जसँग उनको प्रेम प्रगाढ छ । नेपालगन्जमै उनले भबिष्य खोजिरहेका छन् । नेपालगन्जसँगै उनी आशावादिता छन् ।
देश संघीयतामा प्रवेश गरेसँगै विकासका मुलहरु नसोचेको गतिमा फुट्नेमा सबैभन्दा बढ्दा कोही जानकार छ भने सायद त्यो उद्योगी व्यापारी वर्ग हो । सडक पुल पुलेसालगायत निर्माणका कामहरु धेरै हुने निश्चित छ । त्यसैले होला, पछिल्लो समय नेपालगन्ज र आसपास क्षेत्रमा उद्योग कलकारखाना खुल्ने गति तिब्र छ । साना उद्योगदेखि नेपालका प्रतिष्ठित घरानिया उद्योगहरु खुल्ने होड नै छ । यसबाट नेपालगन्जीया उद्योगपति अग्रवाल खुशी छन्, उत्साही छन् । उद्योग पर्यटनको बलियो आधार नै यही हो उनका विचारमा । ठुला घरानाको प्रवेशले यहाँको उद्योग व्यापारको भविष्य सुरक्षित रहेको संकेत गर्छ । उनी पनि यसमा सहमत छन् । भन्छन्–‘धेरैभन्दा धेरै उद्योग खुलेपछि नै स्वस्थ स्पर्धाको वातावरण बन्छ, मजदुरहरुमा काम गर्ने संस्कार विकास हुन्छ ।’ नेपालको समस्या भनेकै स्थानीय उद्योगमा काम गर्न हिचकिचाउनु पनि हो । काम गर्ने संस्कृतिको विकास हुन सके विकास टाढा नरहेको उनको भनाइ छ । समृद्धि हाम्रै पालामा सम्भव छ ।
यसका लागि उनले उद्योग र व्यापार दुवैलाई सँगसँगै अघि बढाएका छन् । यता सिमेन्ट उत्पादन गरिरहेका छन् यति सिमेन्ट ब्रान्ड नाममा, उता भारतबाट वाटरप्रुफ (पानी रोक्ने) सिमेन्ट आयात गरी बेचिरहेका छन् । यसको ब्रान्ड नाम एपीसी सिमेन्ट हो । यो वाटरप्रुफ सिमेन्टको बिक्रेता आफु मात्र रहेको उनले दाबी गरे ।
व्यापार उनको पुस्तैनी पेशा हो । उनका बुवा बिस्कुट, साबुन, चुरोट लगायत दैनिक उपभोग्य सामग्रीका बिक्रेता थिए । राम्रा उत्पादनको डिलरसीप उनीहरुको परिवारले लिन्थ्यो । उनीहरुको परिवारले त्यो बिश्वास आर्जन गरेको थियो । उनीहरुले सुर्खेतसम्म व्यापार बिस्तार गरेका थिए । दाइ सञ्जय नेपालगन्जको व्यापार हेर्थे । तीन दशक अघि जब सतिस कोलकाताबाट स्नातक तहको पढाइ पुरा गरेर नेपालगन्ज फर्किए, त्यहींदेखि उनको व्यापारमा औपचारिक यात्रा आरम्भ भयो । बुवाले सोझै सुर्खेत पठाइदिए । त्यहाँको व्यापारले उल्लेख्य नाफा कमाउन सकिरहेको थिएन । जब सतिशले सुर्खेतको व्यापार ह्याण्ड्ल गरे, कमीकमजोरी पत्ता लगाइहाले ।
‘कर्मचारीले ५,७ लाख हिनामिना गरेको मैले पत्ता लगाएँ, र बुवालाई त्यो रिपोर्टिङ गरें ।’ उनले विगत सम्झिए–‘यस प्रकरणबाट बुवामा म प्रतिको बिश्वास जाग्यो । उहाँ हौसिनुभयो, र मलाई सुर्खेतको सबै हेर्ने सम्पूर्ण जिम्मेवारी सुम्पिनुभयो ।’ यसरी व्यापारमा हात हालेका सतिश व्यापारमा मात्र रमाउन चाहेनन् । सुर्खेतको व्यापारले सही ट्रयाक समातेपछि उनी नेपालगन्ज फर्किए । अब उनले ठुलो हिम्मत बटुले उद्योगमा जाने । उनका दाइ सञ्जय छँदैथिए नेपालगन्जमा । राम र लक्ष्मणजस्तै छन् यी दाजुभाइ । समझदारीको स्तर निकै माथिल्लो तहमा छ । काम मात्र सोच्छन् दुवैजना । पद र प्रतिष्ठाको चासो छैन । ‘हामी काम र परिणाममा मात्र बिश्वास गर्छौं ।’ सतिश भन्छन्–‘उद्योग र व्यापारका बिषयमा को ठुलो, को सानो भन्ने छैन ।’ बिजनेस ग्रुपको अध्यक्ष भाइ सतिश र प्रबन्ध निर्देशक दाइ सञ्जय छन् । यसमा दुवै रमाएका छन् । ‘हामी दुबै दाजुभाइ मिलेर उद्योग र व्यापारको काम आपसी सल्लाह र सहमतिमा गर्छौ ।’ सतिशले भने ।
उद्योग र व्यापारमा के फरक रहेछ ? हामीले उनलाई सोध्यौं । सतिशले भने–‘व्यापारमा सामान ल्यायो, मुनाफा लियो बेच्यो । उद्योगमा कच्चा पदार्थ खोज्नेदेखि मजदुर व्यवस्थापन तथा बिभिन्न किसिमका बाधा अवरोधसँग सामना गर्नुपर्छ ।’ व्यापार भन्दा उद्योगमा चुनौति ज्यादा देख्छन् उनी । उद्योग भनेको चुनौतिका असंख्य पहाड छिचोल्नु हो । सरकारको अस्थिर नीति पनि उनी अर्को कारक मान्छन् । ‘बैकिङ ब्याजदरको घटबढले पनि हामीलाई कहिलेकाँही निरुत्साहित बनाउँछ ।’ उनको गुनासो छ–‘ब्याजदर प्रमुख कारणमध्ये एक हो । ट्रेड बिजनेस त बन्द गर्न सकिएला, उद्योग त बन्द गर्न सकिंदैन ।’ उद्योगका हकमा राज्यले स्थिर नीति लागु गर्नुपर्ने उनको धारणा छ । झण्डै ८० जनालाई प्रत्यक्ष रोजगार दिएका सतिशका मर्म र भावना आम उद्योगपतिसँग जोडिएका हुन्छन् । उद्योगले स्थानीयदेखि केन्द्र सरकारसम्मलाई फाइदा हुने भएकाले यसमा सबै जिम्मेवार हुनुपर्ने धारणा उनको छ । राजनीतिमा त्यति सारो चासो छैन । तैपनि भन्न भ्याए–‘नेपालगन्जलाई प्रदेश ६ सँग कनेक्ट गरिदिए राम्रो हुन्थ्यो ।’ सुर्खेतबाट व्यापारको यात्रा आरम्भ गरेकै कारण हो कि उनको सुर्खेतसँगको लिगेसी देखिन्छ । यद्यपी एक प्रदेशमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भन्ने सरकारको नीति आइदिए नेपालगन्ज ओझेलमा पर्नसक्ने आँकलन छ । यसअर्थमा पनि बाँके बर्दिया कर्णाली प्रदेशसँग गाभिदिए नेपालगन्ज विमानस्थल नै निर्विकल्प हुने उनी सम्भावना देख्छन् । परम्परादेखिको रितिरिवाज र मिल्दो संस्कृति पनि अर्को कारण देख्छन् । आफ्नो पुस्तैनी व्यापारको सम्बन्ध पनि कर्णालीसँग जोडिएका कारण उनको चासो र रुची कर्णालीसँगै बढता छ ।
अनलाइन रिटेल कम्पनी अलिबाबाका प्रमुख ज्याक मा एशियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनले कतै भनेका छन् –‘संसारमा पैसाको कुनै कमी छैन, कमी छ त केवल सपना देख्ने मानिसहरुको ।’ हो, नेपालगन्जीया उद्योगपति अग्रवाल पनि सपना देख्नेहरुमध्ये पर्छन् । नेपालगन्जमा व्यापारसँगै उद्योगलाई स्थापित गर्ने उनको सपना हो । साथै नेपालगन्जको समृद्धिका लागि सदैव हातेमालो गर्ने उनको रहर हो । यसका लागि उनले नेपालगन्ज उद्योग वाणिज्य संघमा रहेर पनि काम गरे । भलै नेतृत्व लिन सकेनन् । यतिबेला बाँके च्याम्बर अफ कमर्सको नेतृत्वमा छन् । तपाईंलाई उद्योगी व्यापारीको नेता बन्ने रहर नपुगेको हो? हाम्रो प्रश्नमा तत्काल जवाफिए–‘नेता बन्ने रहर हैन, उद्योगी व्यापारीको सेवा गर्ने रहर मरेको छैन ।’