प्रथम जुमा उमेर समूह रात्रीकालीन फुटसल प्रतियोगिता २०७५ को उपाधी श्याम सुन्दर अधिकारीको नेतृत्वमा रहेको अर्ना टिमले हात पारेको छ । जुमा स्पोर्टस क्लबले नेपालगन्जमा आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा अर्ना टिमले भाष्कर काफ्ले नेतृत्वको शुभकामना टिमलाई ४ का विरुद्ध ६ गोल गर्दै उपाधीमाथि कब्जा जमाएको हो ।
अर्नालाई उपाधी दिलाउन मोहन अधिकारी २, जंग बहादुर थापा ३, कर्ण थापा १ गोल गरेका थिए । शुभकामनाका लागि केशव रानाले ३ र प्रेम चौधरी १ गोल गरेका थिए ।
८ वटा टिमले सभागिता जनाएको प्रतियोगिताको उपाधी विजेता अर्नाले २१ हजार १ सय ११ र उपविजेता शुभकामनाले ११ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड तथा प्रमाणपत्र हात पारेका थिए ।
प्रतियोगितामा अर्ना टिमका खेलाडीहरुले सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी तथा गोलकिपरको उपाधी पनि जितेका छन् । जंग बहादुर थापाले सर्वाधिक गोलकर्ता, मोहन अधिकारीले वेष्ट प्लेयर र मदन लाल जैसीले वेष्ट गोल किपरको उपाधी हात पारेका हुन् ।
जुमा स्पोर्टस क्लबका उपाध्यक्ष दीर्घराज आचार्यको संयोजकत्वमा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि, प्रदेशसभा सदस्य सुरेन्द्र बहादुर हमाल, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अब्दुल वाहिद मन्सुरी र क्लब अध्यक्ष भीम बहादुर रानाभाटले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य समेत रहेका ओलम्पियन हमालले फुटसलको विकाससँगै खेलकुदमा निजी क्षेत्रको चासो बढेकोमा खुशी व्यक्त गरे । विशेष अतिथि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीले फुटसलको विकासका लागि सरकारले आवश्यक योजना दिने बताए । ‘फुटसलले व्यस्त व्यवसायीहरुलाई खेलकुदसँग जोडेको छ’, उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मन्सुरीले भने, ‘हाम्रो स्वास्थ्यलाई पनि सहयोग पुर्याएको छ ।’ आयोजक जुमा स्पोर्टस् क्लबका अध्यक्ष भीम बहादुर रानाभाटले खेलकुदको विकासका लागि निजी क्षेत्रको योगदान बलियो बनाउन क्लब बनाइएको र त्यसले निरन्तर गतिविधिलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।