खुल्यो, ‘नेपाल भुपु सैनिक सर्च अभियान’, दोषी उम्काउन खोजिएको आशंका

भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गर्ने पूर्व भारतीय सेनाको गिरोहलाई रंगेहात नियन्त्रणमा लिन प्रहरीलाई सघाउने ‘नेपाल भुपु सैनिक सर्च अभियान’ले आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । अभियानले अबैध असुली प्रकरणमा बाँके प्रहरीको अनुसन्धानमाथि प्रश्नचिन्ह खडा गर्दै गम्भीर असन्तुष्टी जनाएको छ ।


चार सयबढी युवाहरुलाई एकै ठाउँमा राखेर अनाधिकृत भेला गरिरहँदा नेपाल भुपु सैनिक सर्च अभियानले अबैध असुली गरिएको ३८ लाख बढी रकमसहित ७ जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको ४ दिनपछि शनिवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हो । यस प्रकरणमा दैनिक नेपालगन्जले प्रहरी अनुसन्धानलाई लिएर उब्जिएका आशंकालाई समाचार बनाएको थियो ।


जेष्ठ २० गते राती स्थानीय एक होटलमा रकम असुली गरिरहेको अवस्थामा उनीहरु रंगेहात पक्राउ परेका थिए । भुपु सैनिक सर्च अभियानको टोलीले एउटा होन्डाइ कार, ८४ थान मोवाइल समेत बरामद गरेर प्रहरीलाई बुझाएको जनाएको छ । प्रहरीले हिरासतमा रहेका उनीहरु सबैको नाम गोप्य राख्दै घटनालाई थामथुम पार्न खोजेपछि समितिले पक्राउ परेका भुपु सैनिकहरु नाम समेत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीका एकबहादुर गुरुङ्ग, पोखराका सुर्यबहादुर थापा, चितवनका रामकाजी पाण्डे, अर्जुन पौडेल, बुटवलका नीरबहादुर थापा छन् ।


नेपाल भूपु सैनिक विकास समिति कोहलपुर बाँके र अल नेपाल भारतीय भूपु सैनिक कल्याणकारी संघका पदाधिकारीहरुले शनिवार संयुक्त पत्रकार सम्मेलन गरि ‘नेपाल भुपु सैनिक सर्च अभियान’ बारे खुलासा गरेका छन् । उनीहरुले आफ्नो अभियानले पक्राउ परेका दोषीहरुलाई प्रहरीले उन्मुक्ती दिन खोजेको भन्दै संघर्षको चेतावनी दिएका छन् । ‘यो सिंगो प्रकरणमा प्रहरी भुमिका निकै शंकास्पद छ,’ अभियानका कमाण्डर समेत रहेका नेपाल भूपु सैनिक विकास समिति कोहलपुर बाँकेका अध्यक्ष भिम बहादुर रानाले पत्रकार सम्मेलनमा भने, ‘हामीसँग कुनै पनि समन्वय नगरेरै बरामद भएका सामाग्री फिर्ता गर्नेदेखि घरघर पुगेर रकम बुझाउने काम भएको छ ।’


प्रहरीले मुद्दा कमजोर बनाउन चलखेल गरिरहेको आरोर नेपाल भूपु सैनिक विकास समितिको छ । प्रहरीले ५ दिन देखि उनीहरुलाई हिरासतमा राखिरहेको छ । उनीहरुलाई अहिलेसम्म मुद्दा चलाइएको छैन् । समितिले किटानी जाहेरी दिंदा समेत उनीहरुलाई कारवाहीको दायरामा ल्याउन नसक्नुले आंशका पैदा भएको उनको भनाइ छ ।


घटनासँगै होटलबाट पोखराकी सुजाता पाठक र सिर्जना अधिकारीलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका सबैले सैनिक भर्ति केन्द्र खोलेर तालिम सञ्चालन गर्ने गरेको बताइएके छ । भर्ना छनोटमा खटिने विग्रेड कमाण्डरकै संलग्नतामा रकम असुलि भइरहेको गम्भीर आरोप समितिले लगाएको छ । प्रहरीले भने अहिलेसम्म पीडित पक्ष सम्पर्कमा नआएकाले उनीहरुले क–कसबाट कति रकम असुलेको भन्ने नखुलेको बताएको छ । ‘प्रहरी भुमिका र गिरोहको धम्कीको त्रासले कोही मुख खोल्न सकिरहेका छैनन्,’ पूवै सैनिक पदाधिकारीको भनाइ छ ।


साविक मध्य तथा सुदूर पश्चिम विकास क्षेत्रका २४ जिल्लाबाट युवाहरु भर्नाका लागि नेपालगन्ज आएका थिए । यो भर्ना छनोटमा ३७० जना कोटा छ । जसमा शारिरीक र लिखित परीक्षा सकिसकेको छ । शारीरिक र लिखित परीक्षामा ४४७ जना छनोट भएका छन् । छनोट भएकाहरु भारतको गोरखपुरमा हुने मेडिकल जाँचका लागि जानेछन् । ‘यो कुनै प्रक्रियामा अबैध असुलीले परिणाम प्रभाव पार्न सकिंदैन,’ पूर्व सैनिक पदाधिकारीहरु भन्छन्, ‘यति कडा व्यवस्थामा पनि ८ लाखसम्म असुली प्रयास भएको देखिन्छ ।’


जिल्ला प्रशासन कार्यालय बाँके र बाँके प्रहरीलाई लिखित ज्ञापनपत्र बुझाउँदै कानुन बमोजिम कारबाही नगरिए आन्दोलनको चेतावनी दिएका छन् । ‘ठुलो माछा फुत्काउने खेल भइरहेको छ,’ नेपाल भूपु सैनिक विकास समिति कोहलपुर बाँके र अल नेपाल भारतीय भूपु सैनिक कल्याणकारी संघका पदाधिकारीहरुले शनिवार संयुक्त पत्रकार सम्मेलनमा अपरेशन कमाण्डर रानाले भने । उनरुहरुले घटनालाई सामान्य रुपमा लिन नहुने चेतावनी पनि दिए । ‘प्रहरीमाथि कुनै दुव्र्यबहार नभएको घटनामा त्यसप्रकारको मुद्दा लगाउने चलखेल भएको सुनिएको छ,’ रानाले भने ।


गिरोहले नेपालदेखि गोरखपुरसम्मको छनोटको कनेक्सन गर्दै अबैध असुली गरिएको आशंका रानाको छ । ‘लिखित परीक्षामा प्रश्नपत्र आउट गर्दा एक लाखदेखि ५ लाख रुपैयाँ असुली गरिएको जानकारी आएको छ,’ अध्यक्ष रानाले दैनिक नेपालगन्जसँग भने, ‘सेनाका बहालवालाको संलग्नता विना यति ठुलो गिरोह चल्न सक्दैन ।’ उनले नेपाल र भारत दुवैमा गम्भीर अनुसन्धान हुनुपर्ने माग राख्दै समितिका तर्फबाट भने, ‘भारतको गोरखपुरमा हुने मेडिकलमा उत्तीर्ण भएपछि कम्तीमा ५ लाख अर्को असुलिन्छ भन्ने सुनिएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया