भारतीय सेना भर्नाको बहानामा ठगी गर्ने गिरोह पक्राउ प्रकरण, कहाँ पुग्यो प्रहरी अनुसन्धान !

भारतीय सेनामा भर्ना गराइदिने भन्दै करोडौं असुल्ने योजना बनाउने एउटा गिरोहलाई रंगेहात पक्राउ गरेको बाँके प्रहरीले त्यसको अनुसन्धानमा सघाउन ‘आव्हान’ गरेको छ । नेपालगन्ज स्थित एउटा सुविधा सम्पन्न होटलबाट साँढे चार सय युवा बीचबाट पक्राउ गरिएका सात जना विरुद्ध अहिलेसम्म ‘उजुरी नपरेपछि’ प्रहरीले आव्हान गर्नुपरेको हो ।


‘कोही कसै ठगीमा पर्नुभएको छ भने जिल्ला प्रहरीमा जाहेरी दिनुहुन अनुरोध छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले ठगी प्रकरण बारे सोधेको प्रश्नमा दैनिक नेपालगन्जसँग भने, ‘पक्राउ परेका सात जना मध्ये दुईलाई प्रहरी विरुद्ध दुव्र्यवहार र पाँच जनालाई ठगी मुद्दामा अनुसन्धान गरिरहेका छौं ।’


प्रहरीले गरेको अनुसन्धान प्रक्रियाप्रति सम्बद्धहरु पटक्कै सन्तुष्ट छैनन् । पूर्व भारतीय सैनिकहरुको सांगठनिक प्रयासबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले सजिलै छाड्ने नियत राखेको भन्दै असन्तुष्ट उनीहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेमा लिखित असन्तुष्टि दर्ज गराएका छन् । ‘बाँकेबाट मात्रै १० करोड रुपैयाँ असुल गर्ने योजनामा ठूलो गिरोह सक्रिय भएको हामीलाई आशंका छ’, पूर्व भारतीय सैनिक स्रोत भन्छ, ‘अन्तर्राष्ट्रिय स्तरमा मुलुकलाई बदनाम गर्ने गरी भएको यति गम्भीर प्रकरणमा बाँके प्रहरीको अनुसन्धान औपचारिक मात्रै देखिएको छ ।’


सम्बद्ध स्रोतका अनुसार, गत जेठ २१ गते मंगलबार विहान ८ बजेदेखि प्रहरी तालिम केन्द्र कारकाँदोमा हुने लिखित परीक्षामा सहभागीहरुलाई प्रश्नपत्र ‘लिक’ गर्ने योजनामा प्रतिव्यक्ति २ देखि ८ लाख रुपैयाँ उठाउन गिरोह सक्रिय थियो । ‘दुई लाख रुपैयाँ बुझाएका १४ जनाले त हामीसँग लिखित तथा मौखिक रुपमा सूचना नै दिएका थिए’, जुन सूचनाका आधारमा भूतपूर्व भारतीय सैनिकसँग सम्बन्धित संगठनले होटलमा छापा मार्न प्रहरीलाई सूचना दिइएको थियो उक्त स्रोत भन्छ, ‘जब आधिकारिक संगठनले रंगेहात घटनास्थलमै सबै कुरा खुल्ने गरी तथ्य प्रदान गरेपछि उजुरी माग गर्नुको अर्थ के हो ?’ उनीहरु प्रहरीको नियत माथि शंका गर्दै भन्छन्, ‘यो घटनामा भारतीय सेनाका बहालवाला ठूलै अधिकृतसम्मको सहभागिताको आशंका हामीले गरेका छौं ।’


दुई महिला सहित सात जनालाई बाँके प्रहरीले रु ३८ लाख १० हजार सहित पक्राउ गरेको थियो । गत सोमबारको उक्त घटनाबारे बाँके प्रहरीले अहिले पनि अनुसन्धान चलिरहेकै बयान दिन्छ । पक्राउ गर्न जाँदा जाइलाग्ने दुई जनालाई दुव्र्यवहार विरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढाएको बाँके प्रहरीले बाँकीलाई भने ठगीमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, दुव्र्यवहार गर्ने दुई जनाको कोठामा रकम फेला परेको थिएन ।


पक्राउ पर्ने पाँच जना भारतीय पूर्व सैनिक हुन् । उनीहरुसँग नगद सहित ८४ वटा मोबाइल बरामद गरेको प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गर्ने यसअघिको प्रचलनलाई ‘हतारो’ गरेको छैन । ‘हामीहरु तत्काल पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गर्न आग्रह गरिरहेका छौं’, पूर्व सैनिक संगठनका पदाधिकारीहरु भन्छन्, ‘प्रमाणसहित पक्राउ गरिएका विरुद्ध ९६ घण्टापछि मात्र अदालतको प्रक्रिया अगाडि बढाउने कुरामा पनि हामीलाई शंका छ ।’ उनीहरुले मुलुकभरीका पूर्व भारतीय सैनिकहरु बाँके प्रहरीको कारवाहीमा भएको ढिलाईबाट क्रुद्ध भएको प्रतिक्रिया दिइरहेका छन् ।


सम्बद्ध स्रोतका अनुसार, भारतीय उच्च सैनिक अधिकारीको संलग्नता आशंका गरिएको यस घटनामा पक्राउ परेकाहरुलाई थप कारवाही गर्दा लहरो तान्दा पहरो गर्जिने खतरा छ । भारतीय सेनाका फष्ट नाइन गोर्खा राइफल्सका रामकाजी पाण्डेको नेतृत्वमा पछिल्लो अपराधिक प्रकरण भएको दाबी सम्बद्ध स्रोतको छ । पक्राउ पर्नेमा पाण्डे सहित सेभेन एट गोर्खा राइफल्सका एक जना सेकेण्ड फोरका दुई जना लगायत छन् । उनीहरुसँगै रहेका दुई युवती पोखराबाट ल्याइएको र उनीहरुबारे कुनै एकिन विवरण सार्वजनिक भएको छैन ।


शुक्रबार मात्रै पूर्व सैनिकहरुको एउटा समूहले संस्थागत रुपमै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगी लिखित ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । यद्यपि, कुनै पनि पूर्व सैनिक पदाधिकारीहरुले सञ्चारमाध्यमसँग मुख खोलिरहेका छैनन् । ‘बाँके प्रहरीले अनुसन्धानमा बाधा पुग्ने गरी कुनै पनि काम नगर्न गरेको अनुरोधलाई सुनुवाई गरेका हौं’, उनीहरु भन्छन्, ‘यस्तै अवस्था रह्यो भने बोल्ने होइन आन्दोलनमै उत्रन बाध्य हुनेछौं ।’ भारतीय सेनाले घटनाबारे आफ्नै ढंगले अनुसन्धान गरिरहेको र पक्राउ परेका पाँच जनाको पेन्सन रोक्नेसम्मको कारवाही हुने सम्बद्ध स्रोतले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया