नेपालगन्जमा जुमा स्पोर्टस् क्लबले आयोजना गरेको फुटसल प्रतियोगिताको फाइनल खेलमा आज अर्ना र शुभकामना टिम भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा अर्नाले हरिलाल न्यौपानेको टिम र शुभकामना नेतृत्वको टिमले कौशल आचार्यको टिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
श्याम सुुन्दर अधिकारीको नेतृत्वमा रहेको अर्ना टिमले हरिलाल न्यौपानेको नेतृत्वको टिमलाई ४–२ गोल अन्तरले पराजित गरेको आयोजक जुमा स्पोटर्स क्लबका अध्यक्ष भीम बहादुर रानाभाटले जानकारी दिए । अर्नाको टिमबाट जंग बहादुर थापाले २ गोल, कर्ण थापाले १ गोल, मोहन अधिकारीले १ गोल गरेका थिए भने न्यौपानेको टोलीबाट अम्मर श्रेष्ठले २ गोल गरे । प्रतियोगितामा म्यान अफ द म्याच अर्ना टिमका मोहन अधिकारी भएका थिए ।
प्रतियोगिताको अर्को खेलमा भाष्कर काफ्ले नेतृत्वको शुभकामना टिमले कौशल आचार्यको टिमलाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको हो । काफ्ले नेतृत्वको टोलीलाई विजयी गराउन माधव अर्यालले र प्रेम चौधरीले १/१ गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच केशव राना भएका थिए ।
८ वटा समूहले सहभागिता जनाएको फुटसल प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार १ सय ११, उपविजेतालाई ११ हजार १ सय ११ नगद सहित पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
आज प्रतियोगिताको समापन खेल प्रदेशसभा सदस्य सुरेन्द्र बहादुर हमालको प्रमुख आतिथ्यतामा हुने क्लब अध्यक्ष रानाभाटले जानकारी दिएका छन् । जुमाले यसअघि अन्तर व्यवसायी कप फुटबल प्रतियोगिता समेत आयोजना गरिसकेको छ । फुटसलका लागि नेकेड एक्सप्रेसले मुख्य प्रायोजन गरेको थियो ।