असहायलाई दरबारको खाना
होटल ग्यालेक्सी दरबारले आफ्नो दोस्रो बार्षिकोत्सवको अवसर पारेर ज्येष्ठ नागरिक र असहायहरुका लागि खानाको व्यवस्था गरेको छ । बिहीबार बार्षिकोत्सवको अवसर पारेर ज्येष्ठ नागरिक तथा असहायहरुको आश्रयस्थल निल सागरमै पुगेर आश्रितहरुलाई खानाको व्यवस्था गरेको हो ।
होटलका प्रबन्ध निर्देशक प्रशान्त लामिछाने सहित होटलका मार्केटिङ म्यानेजर हस्त बहादुर विक, चिफ सेफ लगायतको टोली निल सागर पुगेर होटलमै तयार भएको खाना पस्किएका थिए । ‘तारे होटलको खाना आश्रममा खुवाउँदाको प्रशन्नताले सन्तुष्ट बनाएको छ’, प्रबन्ध निर्देशक लामिछानेले दैनिक नेपालगन्जसँग भने, ‘होटल ग्यालेक्सी दरबारले सामाजिक उत्तरदायित्व अन्तर्गत बार्षिकोत्सवमा असहाय तथा ज्येष्ठ नागरिकहरुलाई खानाको व्यवस्था गरेको हो ।’
प्रबन्ध निर्देशक लामिछानेले नगद ५ हजार सहित खाद्यान्न पनि निल सागरका अध्यक्ष सरिता खनाल, उपाध्यक्ष अमन सुवेदी लगायत केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुलाई हस्तान्तरण गरे । कार्यक्रममा प्रबन्ध निर्देशक लामिछानेसँगै अप्रेशन म्यानेजर ज्ञान सुब्बा, एक्जुकेटिभ सेफ हरि कंडेल, मार्केटिङ म्यानेजर हस्त विक, रिलेसनशीप म्यानेजर बसन्त ढकाल, सुपरभाइजर रमेश पंगेनीले निल सागरमा आश्रित ४२ जना ज्येष्ठ नागरिक तथा असहायहरुलार्ई होटल ग्यालेक्सी दरबारमा तयार गरिएको खाना खुवाएका थिए ।
‘प्रत्येक उद्योग, प्रतिष्ठानले एक दिन भएपनि यसरी खानाको जिम्मेवारी लिइदिने हो भने ज्येष्ठ नागरिक तथा असहायहरुका लागि ठूलो समस्या हुँदैन’, प्रबन्ध निर्देशक लामिछानेले आफुहरुले यसबर्षदेखि सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको जानकारी दिंदै भने । लामिछानेका अनुसार, आज शुक्रबार बार्षिकोत्सवको अवसरमा रक्तदान लगायतका कार्यक्रम गरिंदैछ ।
निल सागरका अध्यक्ष खनालले खाना र छानाबाट वञ्चितहरुलाई आश्रय स्थलका रुपमा निल सागर अग्रसर रहेको बताइन् । सरकारले यसबर्षदेखि चासो लिएको जानकारी दिंदै अध्यक्ष खनालले नेपालगन्जमा ४२, कोहलपुरमा २० र बर्दियामा १५ जनालाई निल सागरले आश्रय दिइरहेको जानकारी दिइन् । ‘अब दाङ पुग्दैछौं’, यसबर्ष प्रदेश सरकारले ३ जना कर्मचारी उपलब्ध गराएको जानकारी दिंदै उपाध्यक्ष अमन सुवेदीले निल सागरले आश्रय भन्दा पारिवारिक पुनस्र्थापनालाई प्राथमिकतामा राखेर एक सय ५० बढीलाई आश्रमबाट पारिवारिक पुनर्मिलन गराइसकेको जानकारी दिए ।
‘त्यसअघि केयर सेन्टरका रुपमा यस संस्थालाई अगाडि बढाउने सोंच र अवधारणामा सेवा प्रवाह गरिरहेका छौं’, अध्यक्ष खनालले स्रोत अभावमा दाताहरुकै भरोसा निल सागर सञ्चालन भैरहेको जानकारी दिंदै भनिन् ।