प्रदेश विश्वविद्यालय नेपालगन्जमा ल्याउन कसरत

पूर्वाधारका लागि कार्यदल

प्रदेश सरकारले अघि सारेको विश्व विद्यालय नेपालगन्जमा स्थापना गर्न आवश्यक पहल थालिएको छ । प्रदेश विश्व विद्यालयको अवधारणा अघि सारेको प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले सुझाव संकलन गरिरहँदा नेपालगन्जमा विश्व विद्यालय स्थापनाका लागि पहल थालिएको हो ।


‘नेपालगन्जमा प्रदेश विश्वविद्यालय स्थापना गर्न पर्याप्त आधार र पूर्वाधार छ कि छैन भन्ने कुराको अध्ययन भैरहेको छ’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले प्राध्यापक डा. इश्वर गौतमको नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुझाव दिन गठित समितिसँगको छलफल पछि दैनिक नेपालगन्जसँग भने, ‘हामी पर्याप्त पूर्वाधार प्रस्तुत गर्दैछौं ।’
समितिसँगको छलफलपछि नगर प्रमुख डा. राणाको नेतृत्वमा पूर्वाधार अध्ययन कार्यदल पनि गठन गरिएको छ । नेपालगन्ज विश्व विद्यालय तयारी समितिका नाममा नगर प्रमुख डा. राणाको नेतृत्वमा गठित समितिमा नेपालगन्ज विश्व विद्यालय संघर्ष समितिका संयोजक अच्युत प्रसाई, सहसंयोजक पशुपति दयाल मिश्र, स्थानीय तहका प्रमुखहरु, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतलाई राखिएको छ ।


‘एक साताभित्र समितिले नेपालगन्जमा विश्वविद्यालय स्थापनाका लागि पर्याप्त आधार र पूर्वाधार प्रस्तुत गर्नेछ’, संयोजक डा. राणाले भने । लामो समयसम्म नेपालगन्जमा विश्व विद्यालय स्थापनाका लागि संघर्ष गरेको स्मरण गर्दै संघर्ष समितिका सहसंयोजक पशुपति दयाल मिश्रले नेपालगन्जमा विश्व विद्यालय स्थापनाका लागि आधार र पूर्वाधारको कमी नरहेको बताए । ‘प्रदेश ५ का लागि विश्व विद्यालय स्थापना नेपालगन्जको विकल्प छैन’, मिश्रले दैनिक नेपालगन्जसँग भने, ‘संसदमा पुगेको विधेयक पटकपटक अलपत्र पारेर भएको अन्यायको क्षतिपूर्तिका लागि पनि नेपालगन्जको विकल्प खोजिनु हुँदैन ।’


विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले प्रादेशिक विश्व विद्यालयको सम्भावित ठाउँ बुटवल, दाङ र नेपालगन्ज मध्ये अरु ठाउँमा यसअघि नै विश्व विद्यालय स्थापना भैसकेको तर्क गरे । ‘रुपन्देहीमा लुम्बिनी विश्वविद्यालय, दाङमा संस्कृत विश्वविद्यालय स्थापना भैसकेकाले नेपालगन्जको विकल्प छैन’, संघर्षताका सचिवालय सञ्चालन भएको नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठले भने ।


प्रदेश ५ सरकारले आफु मातहतमा प्रदेश विश्वविद्यालयको अवधारणा अघि सार्दै सम्भाव्यता अध्ययनका लागि सुझाव संकलन गर्न विज्ञ समिति गठन गरेको छ । समितिले विभिन्न जिल्लामा पुगी सुझाव संकलन गर्ने, सम्बद्धहरुसँग अन्तरक्रिया गर्ने र पूर्वाधारका लागि कार्यदल गठन गर्ने लगायतका काम गर्दै आएको छ ।


दशकअघिदेखि नेपालगन्जमा मध्यपश्चिम विश्व विद्यालय स्थापनाका लागि माग हुँदै आएपनि सुर्खेत लगिएपछि नेपालगन्जमा छुट्टै विश्व विद्यालयको माग गर्दै आन्दोलन गरिएको थियो । पश्चिम नेपालका २४ जिल्लाको शैक्षिक केन्द्रका रुपमा रहेको नेपालगन्जमा विश्व विद्यालय स्थापना गर्न स्थानीय स्तरमा निरन्तर माग हुँदै आएपनि सरकारी उपेक्षाले सार्थक परिणाम दिन सकेको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया