राष्ट्रपति समक्ष व्यवसायीका पीडा

नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्ना गुनासा र माग समेटेको ध्यानाकर्षण पत्र समेत राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

नेपालगन्जका उद्योगी, व्यवसायीहरुका तर्फबाट निजी क्षेत्रका विभिन्न पीडाहरु राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राखिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले राष्ट्रपति भण्डारीसँग अन्तरक्रियात्मक भेटघाटको आयोजना गरी विभिन्न चार बुंदे ध्यानाकर्षण पत्र नै राष्ट्रपतिलाई बुझाएको हो । संघका तर्फबाट निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ र अध्यक्ष नन्दलाल वैश्यले राष्ट्रपति भण्डारीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरे ।


‘हाम्रा यी विषयहरुलाई अभिभावकको हैसियतले सम्बन्धित निकायलाई निर्देशन गरिदिनुहोला’, ध्यानाकर्षण पत्र बुझाएपछि अध्यक्ष वैश्यले राष्ट्रपति समक्ष भने, ‘हाम्रो अभिभावकीय जिम्मेवारीबाट तपाईमाझ गुनासा प्रस्तुत गरेका छौं ।’


संघले सत प्रतिशत कृषिमा आधारित गहुँबाट दैनिक जीवनमा आम उपभोक्ताले प्रयोग गर्ने पिठोमा लगाइएको भ्याट फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै, सोयबिनमा लगाइएको भ्याट फिर्ता माग गरेको संघले नेपाली घ्यु ६ महिनादेखि भारत निकासीमा बाधा परेको समस्या ध्यानाकर्षण गराएको छ ।


‘नेपालगन्ज नाकालाई नोटिफाइड नाकाका रुपमा कायम गराउन’ सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रपति समक्ष बुझाएको ध्यानाकर्षण पत्रमा जडिबुटी निकासीमा भारतले रोक लगाउँदा परेको समस्याहरु पनि प्रस्तुत गरिएको छ ।


संघका निवर्तमान अध्यक्ष श्रेष्ठले सिक्टा सिंचाई आयोजनाको बारेमा ध्यानाकर्षण गराउँदै राष्ट्रिय गौरवको योजनामा भएको ढिलाईले लागत बढ्ने र बाँकेका किसानलाई निराश बनाउने काम गरिरहेको भन्दै समयमै निर्माण सक्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे ।

प्रतिक्रिया

प्रतिक्रिया