राष्ट्रपति समक्ष समुदायका स्वर, यो दिन मुस्लिम समुदायका लागि ऐतिहासिक हो

आफ्नो मुख्य पर्व ईद ऊल फित्रको अघिल्लो दिन मंगलबार विशेष कार्यक्रम बीच मुलुककै राष्ट्र प्रमुख समक्ष आफ्ना कुराहरु निर्वाध राख्न पाएका बाँकेका मुस्लिम अगुवाहरुले जिल्लाको समग्र विकासदेखि समुदायको पहिचान स्थापनासम्मका माग खुलेर अघि सारेका छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक आफ्नो पर्वलाई मान्यता दिएर रोजा इफ्तारमै सहभागी भएपछि उत्साहित मुस्लिम समुदायका अगुवाहरुले अभिभावकत्व दिएको महसुस गर्दै भने, ‘हाम्रो समुदायबारे हजुरले बोलिदिनु पर्यो ।’ पत्रकार समेत रहेका मुस्लिम अगुवा मो. हारुन हलवाईले राष्ट्र र मुस्लिम समुदाय बीचको पुलका रुपमा राष्ट्रपति उभिएको महसुस गरेको बताए ।


‘आर्थिक, सामाजिक र राजनीतिक रुपमा पिछडिएको हाम्रो समुदाय राष्ट्रको मूलधारमा गौरवबोध गर्न चाहन्छ’, मो. हारुनले भने, ‘आज मुस्लिम समुदायको पर्व भनेर आमन्त्रित गरिएपनि यो उपस्थिति जिल्लाको समग्र साझा कार्यक्रम हो ।’


अर्का मुस्लिम अगुवा अतहर हुसेन फारुकीले अन्य समुदाय सरह मुस्लिमलाई पनि सबै ठाउँमा पहुँचको सुनिश्चितताको सवाल उठाए । जिल्लाको विकासमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि विश्वविद्यालय स्थापनासम्मका मागमा राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका युवा नेता फारुकीले बाँके निकुञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा राज्यको लगानीदेखि डुडुवा र राप्ती कटान, डुबानबाट जोगाउन स्थायी तटबन्धको सवाल राष्ट्र प्रमुख समक्ष प्रस्तुत गरे ।


कार्यक्रमको अगुवाई गरिरहेका मुस्लिम समाज बाँकेका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले देशकै नाममा स्थापित मुलुककै एकमात्र सहर नेपालगन्ज नाम जस्तै मुलुककै उत्कृष्ट सद्भावको सहरका रुपमा रहेको बताए । ‘राबडीदेखि बिर्यानीसम्म, सेकुवादेखि समोसासम्म नेपालगन्जको विशिष्ट स्वाद छ’, समाजका अध्यक्ष मन्सुरीले राष्ट्रपतिको आगमनबाट बाँकेमा आपसी सद्भाव थप मजबुत बनेको विश्वास व्यक्त गरे । अध्यक्ष मन्सुरीले मुस्लिम समुदाय र राष्ट्र प्रमुखलाई जोड्ने पुलका रुपमा कार्यक्रमलाई प्रस्तुत गर्दै राष्ट्र प्रमुखको सहभागिताले समुदायको शीर गौरवले उचो भएको महसुस सुनाए ।


मुस्लिम समाजका सदस्य समेत रहेका अडिटर एशोसिएसनका केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खानले रमजानुल (रोजा)का विशेषताबारे प्रस्तुति गर्दै राष्ट्रप्रमुखको सहभागिताले धार्मिक अल्पसंख्यकका रुपमा रहेका मुस्लिम समुदायका सामाजिक, आर्थिक, राजनीतिक अधिकारलाई सुनिश्चित गराउन थप बल पुग्ने विश्वास व्यक्त गरे ।


समाजका अध्यक्ष सदस्य हाजी सकिल अहमद जसगढले मुस्लिम जिल्ला बाँके र जिल्लाका विशेषताहरु प्रस्तुत गरे । ‘यहाँको सामाजिक संरचना र धार्मिक संरचना उदाहरणीय छ’, हाजी सकिलले राष्ट्रपति समक्ष भने, ‘यस कार्यक्रमले बाँकेको आपसी सद्भावलाई थप मजबुत बनाउन मद्दत पुग्नेछ ।’


कार्यक्रममा मुस्लिम समाज बाँकेका सदस्यहरु शकिल अहमद जसगढ, जुबेर राई, अब्दुल करिम खान, मुस्लिम अगुवाहरु मोहम्मद हारुन तथा अतहर हुसेन फारुकीले पनि मुस्लिम समुदायका समस्याहरु अवगत गराएका थिए । ठुलो संख्यामा जिल्लाभरीका मुस्लिम अगुवा लगायत अन्य विभिन्न धर्म सम्प्रदायका अगुवा तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले मुस्लिम समुदायसंगै बसेर रोजा ईफ्तार गरिन् । रोजा ईफ्तारमा सहभागि अधिकांश समुदायका अगुवा मुस्लिम महिला पुरुषहरुले यसरी रोजा ईफ्तारमा राष्ट्रपतिको पहिलो पटकको सहभागिताले मुस्लिम समुदाय अत्यन्त उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।


रोजा ईफ्तारमा राष्ट्रपति आउनु भनेको नेपाली मुस्लिम समुदायका लागि गौरवको विषय भएको नेपालगन्जका मुस्लिम अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले प्रतिक्रिया दिए । ‘यसबाट देशमा गणतन्त्र स्थापना भएको अनूभूति मुस्लिम समुदायलाई पनि भएको छ,’ धर्मगुरु मन्जरीले दैनिक नेपालगन्ज सँग भने, ‘यो दिन मुस्लिम समुदायका लागि ऐतिहासिक होे ।’ कार्यक्रमको सहजीकरण मुस्लिम अगुवा समेत रहेका अडानका केन्द्रीय सदस्य मो. जुबेर राईले गरेका थिए ।

(सबै तस्विर: विशाल रानामगर/नेपालगन्जन्यूज)

प्रतिक्रिया

प्रतिक्रिया