‘संविधानबाट सबै धर्म, सम्प्रदाय र संस्कृतिको संरक्षण’

सिराज खान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले सबै धर्म, सम्प्रदाय र संस्कृतिको संरक्षण गरेको बताएकी छन् । मुस्लिम समाज बाँकेद्वारा मंगलवार बेलुकी नेपालगन्जमा आयोजना गरिएको सामुहिक रोजा ईफ्तार कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा बसोबास गर्ने सबै नेपालीको धार्मिक, सांस्कृतिक र सामाजिक अधिकारको ग्यारेन्टी संविधानले गरेको प्रष्ट पारेकी हुन् । ‘विशिष्ट सांस्कृतिक विविधता भएको हाम्रो मुलुकमा विभिन्न धर्म सम्प्रदायका पर्वहरुले आपसी सदभाव, सहिष्णुता मजबुत गर्नुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षणमा समेत सहयोग पुरयाइरहेको छ,’ राष्ट्रपति भण्डारीले सम्बोधनमा उल्लेख गरिन् ।


एक महिनाको उपवास र रमजानको शिक्षाले समुदायमा त्याग, दान र अन्य सामाजिक जिम्मेदारी वहन गर्न प्रेरित गर्ने राष्ट्रपति भण्डारीको बुझाइ थियो । नेपाली मुस्लिम समुदायमा प्रगाढ देशभक्ति, सामाजिक सदभाव, उत्तरदायीत्व बहन गर्ने शक्ति जस्ता व्यवसायीक आचरण रहेको जनाउँदै राष्ट्रपति भण्डारीले यी सबै कुराले राष्ट्र निर्माणमा ठुलो भूमिका खेल्ने उल्लेख गरिन् ।


मुलुकका सबै नागरिकलाई शैक्षिक, आर्थिक र सामाजिक रुपमा सम्पन्न गर्न सरकारले विभिन्न कार्यहरु गरिरहेको जनाउँदै राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको उन्नतीका लागि मुस्लिम आयोग गठन गरिएकोमा खुशी व्यक्त गरिन् ।


कार्यक्रममा मन्त्री मोहम्मद ईश्तियाक राईले नेपालकै ईतिहासमा पहिलो पटक यसरी राष्ट्रपति जस्तो गरिमामय व्यक्तित्वले मुस्लिमहरुको धार्मिक कार्यक्रम रोजा ईफ्तारमा सहभागि हुनु भएकोमा सबैका लागि गौरवको विषय भएको बताए । रोजा ईफ्तारमा राष्ट्रप्रमुखको सहभागिताले मुस्लिम समुदायको मनोबल उच्च बनेको जनाउँदै मन्त्री राईले यो नै गणतन्त्र र संघीयताको सबैभन्दा ठुलो उपलब्धी भएको धारणा राखे ।


कार्यक्रमको अध्यक्षता गरिरहेका आयोजक मुस्लिम समाज बाँकेका तर्फबाट मुस्लिम समुदायका शैक्षिक, आर्थिक, धार्मिक र राजनीतिक समस्याहरु समेटिएको चार बुँदे अनुरोध पत्र संयोजक अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए । सो अनुरोधपत्रमा धार्मिक चाडपर्वमा विदादेखि लिएर मदरसा शिक्षा तथा रोजगारी लगायतका विषयमा ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया