आज ईद, सार्वजनिक बिदा, सामूहिक नमाज पढिंदै

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र आज बुधबार विशेष रूपमा मनाइँदैंछ । एक महिनाको निरहार व्रत पछि आज ईद इस्लाम धर्मावलम्वीहरुले आज ईद मनाउन लागेका हुन् । आज विहान ८ बजे नेपालगन्जको विपीचोकमा रहेको ईदगाहमा सामूहिक नमाज पढिले हाजी सकिल अहमद कादरीले जानकारी दिएका छन् । ईद आजदेखि तीन दिनसम्म मनाउने गरिन्छ ।


इद उल फित्र कै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखहरुले शुभकामना दिएका छन् । यसैबीच सरकारले इस्लाम समुदायको पर्व ईदको अवसरमा बुधबार सार्वजनिक बिदासमेत दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


राष्ट्रपति भण्डारीले ईदको शुभकामना सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र सवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका थिए ।


प्रधानमन्त्री ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद उलफित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् । शुभकामना सन्देशमा उनले पवित्र महीना रमदानको बिदाइसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दै यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘इद मुवारक’ भन्दै शुभकामना दिएका छन् ।


प्रधानमन्त्रीले आज प्रवाह गर्नुभएको सन्देशमा इस्लामिक क्यालेण्डरअनुसार रमदानको एक महीनाभरि भोक र तिर्खा बिर्सेर इन्द्रीयहरुलाई क्रोध र स्वार्थजस्ता अवगुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्ने अवधिका रुपमा ग्रहण गरिने उल्लेख छ । त्यसलगत्तै वर्षका बाँकी अवधिका लागि असल मानिसको जीवनयापन गर्न अभ्यस्त भएको खुशियालीमा यो पर्व मनाउने गरिएको विश्वास पनि मुस्लिम समुदायमा रहेको उनले बताएका छन् ।


‘नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षाेल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको छ’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन् ।


‘उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर छ’, सन्देशमा भनिएको छ । संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्म्निरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति सन्देशमा उल्लेख छ ।


सन्देशमा देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको भनिएको छ ।
एक महिनासम्म अल्लाहका नाममा रोजा बस्ने र रोजाको अन्तिम दिन चन्द्रमा देखेपछि इदुल फितर (इद) मनाउने गरिन्छ । इदुल फितर मुस्लिम समुदायको सबभन्दा ठुलो र महान पर्वको रुपमा रहेको छ । एक महिना सम्म गर्मी, भोक, तिर्खा, सहनु दिनको पाँच पटक नमाज पढनु, नराम्रा काम बाट बच्नु, झुटो नबोल्नु, नराम्रो बस्तुहरु नहेर्नु, त्यस्तो ब्यक्तिले इदको दिन अल्लाहबाट उपहार पाउनुको मतलब उसले गरेको गल्ती लाई अल्लाहले माफ गरिदिन्छ भन्ने बिश्वास राखेका हुन्छन् ।


रोजा हरेक बालक, बालिका, महिला, पुरुषहरु माथि अनिवार्य रहेको छ । इस्लाम धर्ममा पाँच वटा महत्वपुर्ण खम्बाहरु छन् । जुन हरेको ब्यक्तिको लागि अन्त्य जरुरी छ । यी खम्बाहरु इमान, रोजा, नमाज, हज र जकात रहेको छ । साढे सात तोला सुन साढे ५२ तोला चाँदी छ भने त्यसको पनि जकात निकल्नु अति नै अवश्यक हुन्छ । त्यसबाहेक प्रत्येक मुस्लिमले रमजानको महिनामा जकात अनिवार्य रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया