नेपालमा सामाजिक संजाल प्रयोगकर्ताको एकिन तथ्यांक नभएपनि युवापुस्ता समाजिक संजालमा नजोडिएको कुरा अपबाद नै हुनेगर्छ । हरेक दिन हामी सामाजिक सञ्जाल मै हुन्छौं । हाम्रो ब्यक्तिगत दिनचर्या पनि आजभोलि सामाजिक संजाल मै हुने गर्छ । बिचार, अभिव्यक्ति, तस्बिर संग्रह, ब्लग हुँदै हाल सामाजिक संजाल हाम्रो निम्ति सुचना तथा मनोरञ्जनको महत्त्वपूर्ण साधन बनिसकेको छ ।
दिनहुँ हामी सबैले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक, टुइटर संगै भिडियो प्लेटफर्म युट्युब कयौंका लागी दिन काट्ने र मनोरञ्जनको साधन भैरहेको छ भने कतिले यसैलाई पेशा, आर्थिक आर्जनको माध्यम त कतिले समाजसेवाका लागी सामाजिक सञ्जाललाई उपयोग गर्दै आएका छन् । हामी यसैको सेरोफेरोमा रहेर नेपालगन्जमा बसेर नेपालगन्जकै बस्तुस्थिती र घटनाक्रमलाई समेटी सामाजिक सञ्जाल फेसबुक र भिडियो प्लेटफर्म युट्युबलाई प्रयोग गर्दै ब्यक्तिगत तथा सामाजिक योगदानको लागि केही गरिरहेका र केही अझै धेरै गर्ने योजनामा रहेका ब्यक्तिहरुको कथा दैनिक नेपालगन्जले समेट्ने कोसिस गरेको छ ।
१. समीर मान श्रेष्ठ, संस्थापक, नेपालगन्ज ग्यालरी
सामाजिक सञ्जाललाई प्रयोग गरेर समाजिक कार्य गर्न सकिन्छ भनेर उदाहरण दिने संचारकर्मी हुन्, समीर मान श्रेष्ठ । उनै श्रेष्ठको देनको रुपमा २००९ जुलाई ११ का दिन फेसबुक ग्रुपको रुपमा अस्तित्व प्राप्त गरेको नेपालगन्ज ग्यालरी अबको केही महिना भित्रै एक दशक पूरा गर्ने तयारीमा रहेको छ । यो आलेख तयार गर्दा सम्म ८३ हजार धेरै सदस्य रहेको ग्रुप नेपालगन्ज ग्यालरीले आफ्नो उपस्थिति समाजिक सञ्जालबाट नेपालगन्जको समाजसेवामा पनि विभिन्न समयमा देखाउँदै आएको छ ।
अस्पतालमा रगत अभाव हँुदा होस् या कहि कतै बिपतमा किन नहोस्, नेपालगन्ज भित्र होस या नेपालगन्ज बाहिर नेपालगन्ज ग्यालरीले समाजसेवाको क्षेत्रमा आफ्नो उपस्थिति देखाउँदै आएको छ । सामाजिक सञ्जाल फेसबुकबाट पनि सामाजिक क्षेत्रमा केही सकारात्मक काम गर्न सकिन्छ भन्ने उदाहरण श्रेष्ठले दिएका छन् ।
‘हामीले २र३ पटक रक्तदान कार्यक्रम गरिसकेका छौं, बारा–पर्सा हावाहुरीपिडितहरुको लागि दुई पटक गरेर करिब २ लाख पचास हजार बढीको राहत बितरण गर्यौ र सामजिक दायित्व निर्वाह गर्दै विभिन्न कार्यक्रमहरुलाई सहयोग गर्ने गर्छौ,’ ग्यालरीका संस्थापक समिरमान श्रेष्ठले बताए ।
ग्यालरीले क्लिन नेपाल्गन्ज ग्रीन नेपालगन्जको सरसफाई अभियानमा समेत साथ दिएको छ भने हालको अवस्थामा रोजगारीको सुचना देखि कार्यक्रमका जानकारी तथा सुचना आदानप्रदान गर्ने, कहिलेकाही रमाइला भलाकुसारी गर्ने, फोटो र अभिव्यक्ति साटासाट गर्न सकिने साझा थलो बनेको छ, नेपालगन्ज ग्यालरी ।
नेपालगन्ज ग्यालरी स्थापनाको उद्देश्यको बारेमा बताउँदै समिरमान श्रेष्ठ भन्छन्, ‘नेपालगन्जका बासिन्दाहरु जो अध्ययन, काम वा अन्य कारण बस नेपालगन्ज भन्दा टाढा छन् उनीहरुले नेपालगन्जको बारेमा राख्ने जिज्ञासा मेटाउन, नेपालगन्जको बारेमा जानकारी, सूचना, फोटोहरु सहज तरिकाले एउटै थलोबाट हेर्न पाउन भन्ने सोचले नेपालगन्ज ग्यालरी बनाएको थिए । कालान्तरमा ग्यालरी बिस्तारै नेपालगन्ज र नेपालगन्जलाई माया गर्ने समाजिक संजाल प्रयोगकर्ता माझ आत्मिय अनि अभिन्न बन्दै गएको छ ।’
सामाजिक सञ्जालबाट आफ्ना साथीभाइ संग नजिक हुने, मनोरञ्जन संगै समाजिक उत्तरदायित्व समेत निर्वाह गर्न सकिने उदाहरण दिएका समीर मान श्रेष्ठले अगामी दिनमा फाउण्डेशन दर्ता गरेर बालबालिका, युवा, बाताबरण तथा महिला जस्ता क्षेत्रमा काम गर्ने सोच रहेको बताउनुहुन्छ ।
२. खगेन्द्र दाहाल, युट्युबर, हामी सबैको नेपाल
पेशाले कृषि पत्रकार, किसानका कथा शब्दमा बुन्ने अनि रेडियोमा किसानका कथा ब्यथा सुनाउने काम गर्दा गर्दै भिडियो प्लेटफर्म युट्युबमा समेत किसानको सफलताका कथा देखाउने उद्देश्यले युट्युब च्यानल संचालन गरेका पत्रकार हुन्, खगेन्द्र दाहाल । आम्दानीको पचास प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने सोचका साथ स्थापना गरेको उनको च्यानल ’हामी सबैको नेपाल’ को हाल २१ हजार ३ सय बढी सस्क्राइबर रहेको छ । आम्दानीको लागि युट्युब संग ृथ्एऐ सम्झौता समेत गरिसकेको उनको च्यानलले किसानका सफलताको कथा संगै कला र समाजिक चासोको विषयमा समेत भिडियो कथा निर्माण गर्दै आएको छ ।
‘म रेडियोमा काम गर्ने भएकाले सुरुमा रेडियोको गतिविधि राख्ने मनसायले च्यानल सन्चालन गरे । म कृषि पत्रकार भएकाले पनि गाउँघरमा धेरै पुग्ने र किसानको सफलताको कथा रेडियोमा तयार गर्ने क्रममा विस्तारै युटुबमा पनि किसानको सफलताको कथा राख्न थाले । किसानलाई चाहिने आवश्यक जानकारीको भिडियो निर्माण गर्न थले र विशेषगरी मैले बैजानाथ गाउँपालिका च्याउ उत्पादक किसान केवल प्रसाद शर्माको अन्तरबार्ता राखेपछि धेरै दर्शकले मन पराइदिनुयो अनि यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्यो,’ दाहालले युट्युबको भिडियो कथा निर्माणको सुरुवाती दिन सम्झिदै बताए ।
संचार र प्रबिधिले दिएको सरलता र सुबिधा लाई उपयोग गरि उनी युट्युबमा केही राम्रो गर्न सकिन्छ भन्ने बिश्वासका साथ लागिपरेका छन् । उनलाई यो बिश्वास र हौसला अनि प्राबिधिक रुपमा सहयोग लाल बहादुर श्रीपाली, प्रेम सिंह सुनार, ज्ञानु संगम खड्का, निशु जोसि, प्रियास्मृति ढकाल र समिरमान श्रेष्ठले दिएको उनी बताउँछन् । उनलाई मोफसल मै बसेरै युट्युबर बन्न धेरैको सुझाव आयो तर उनी आफ्नै ठाउँ अनि नेपालगन्जको गतिविधि बिश्वलाइ देखाउन चाहन्छन् त्यसैले उनी नेपालगन्जको भिडियो कथा दुनियाँ लाई देखाउन लागिपरेका छन् । उनले तयार गरेको भिडियो कथाले धेरैको मन समेत जितेको छ । ‘हिजो आज मलाई केही समय मिल्ने वितिकै युटुवको काम गर्न्तिर लाग्छु । हाल च्यानलको २१३५० सस्क्राइभ पुगिसकेको छ । एक वर्ष्भित्रमा एक लाख सस्क्राइभ पुर्याउने लक्ष्य राखेर त्यहि अनुसार काम गरिरहेको छु,’ दाहाल आफ्नो दैनिकी संगै आफ्नो भबिस्यको योजना बताउछन् ।
३. मोहम्मद निहाल अख्तर, ब्लगर
सम्भवत उनी नेपालगन्जको पहिलो रेस्टुरेन्ट फोटोग्राफर हुन् । तर, उनको परिचय एउटा ब्लगरको रुपमा धेरैले चिन्दछन् । नेपालगन्ज र नेपालगन्ज आसपासका ठाउँ, धार्मिक स्थल, होटेल, पसल र गल्लिहरुका भिडियो सामाजिक संजाल फेसबुक र युट्युबमा तपाईले हेर्नू भएको छ भने सायद त्यो भिडियो मोहम्मद निहाल अख्तरको हुन सक्छ । उनी नेपालगन्जलाई फोटो रभिडियो मार्फत चिनाउन चाहन्छन् । त्यसैले उनले लगातार केही साल देखि यसै कार्यमा लागि परेका छन् ।
‘म कहिले काहीं पसल, सडक, कुनै विशेष ठाउँ त कहिलेकाही पसलका दर रेटहरुको भिडियो बनाउछु । पहिले पहिले कमेडी भिडियो पनि तयार गरे तर अहिले चाहिँ आफ्नो सहर र आफ्नो शहरको विभिन्न कुराहरू दुनियाँ लाई सोसल मिडिया द्वारा देखाउन चाहन्छु, निहाल भन्छन् ।
उनी सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम र भिडियो प्लेटफर्म युट्युब मार्फत निरन्तर रुपमा दुनियाँलाई नेपालगन्जको बस्तुस्थिति देखाइ रहेका छन् । नेपालगन्जबासी जो नेपालगन्ज भन्दा बाहिर छन् उनीहरुलाइ नेपालगन्जको सम्पूर्ण अपडेट उनी भिडियो मार्फत दिदै आएका छन् । साथीहरुले टाढा भए पनि नेपालगन्जको हरेक बस्तुस्थिति देख्न पाउँदा खुसी लागेको जिकिरले उनलाई यो कार्यमा लाग्न हौसाइ रहन्छ ।
‘कहिले काहीँ साथी हरु बिदेश वा अन्य ठाउबाट नेपालगन्ज फर्किदा उनीहरुले तिम्रो भिडियो ब्लगले गर्दा नेपालगन्ज मै भएको अनुभुति हुन्छ भन्छन् । त्यो शब्दले गर्दा मलाइ यो कार्यमा हौसला मिलेको छ,’ निहाल बताउँछन् ।
उनी सामाजिक सञ्जालमा राम्रो गर्न सकिनेमा निकै आशावादी छन् । युट्युबले जस्तै फेसबुकले पनि भिडियो उत्पादनकर्तालाई बिज्ञापनको निश्चित प्रतिशत रकम दिने अख्तियारी लिएको छ, जसले गर्दा आर्थिक आयको स्रोत पनि फेसबुक हुने कुरामा निहाल ढुक्क छन् । आधिकारिक रुपमा फेसबुकले हाल ३२ देशमा भिडियोमा उत्पादनकर्तालाइ पैसा दिने योजना परिक्षण गरिरहेको छ । जसमा हाम्रो छिमेकी देश भारत पनि सामेल छ ।