युवराज कंडेल
स्वच्छ वातावरण बिना स्वस्थ जीवनको कल्पना समेत गर्न सकिदैन । मानिसलाई स्वस्थ हुनको लागि सन्तुलित भोजन, उपयुक्त पोशाक र व्यवस्थित आवासले मात्र पुग्दैन, मानिस बस्ने वातावरण पनि सन्तुलित हुनु पर्छ । विस्वमा जनसंख्या वृद्धि, अनियन्त्रित औद्योगिकरण, इन्धनको दहन, रासायनिक पदार्थहरुको बढ्दो प्रयोग, जल जमिन र जंगल जस्ता प्राकृतिक श्रोतमा बढ्दो चाप जस्ता कारणले पृथ्वीको वायु प्रदुषित र असन्तुलित भैरहेको छ, जसबाट मानव स्वास्थ्य जोखिममा परेको छ ।
वातावरणिय विनास र प्रदुषण
पहिलो विश्वयुद्ध पछि विश्वको जनसंख्या र औद्योगीकरणमा तीव्रता आएको देखिन्छ । औद्योगीकरणमा आएको तीव्रताले प्राकृतिक श्रोतको दोहन, इन्धनको दहन, रासायनिक पदार्थहरुको उत्सर्जन जस्ता घटनाहरुमा वृद्धि हुदै गयो भने जनसंख्या वृद्धि हुँदा जल, जमिन र जंगल जस्ता प्राकृतिक श्रोतमा अत्यधिक चाप पर्दै जान थाल्यो । जंगलहरु खेतबारी र खेतबारीहरु घना वस्तीमा परिणत हुदै जाने क्रमसंगै वन विनासमा तिब्रता मात्र आएन जमिन र जलश्रोतको विनासमा समेत तीव्रता आएको छ । अविकसित देशहरुमा आधुनिकिकरणको कारणले र विपन्न देशहरुमा अज्ञानता र अभावको कारणले प्राकृतिक श्रोत माथि चाप परिरहेको छ । इन्धनको दहनमा वृद्धि, रासायनिक पदार्थ र विषादीको बढ्दो प्रयोग, वन विनास जस्ता कारणले गर्दा विस्वमा वायु र जलमा बढी प्रभाव परेको छ । वायु प्रदुषणको कारणले पृथ्वीमा हरितगृह प्रभाव वृद्धि भै विस्वब्यापी ऊष्णिकरण समस्या गम्भीर भैरहेको छ । वैज्ञानिकहरुका अनुसार पछिल्ला सय वर्षमा विस्वको औशत तापक्रम झन्डै एक डिग्री सेल्सियसले बढेको छ जसले गर्दा वर्षमा पृथ्वीको तापक्रम, मौसम–चक्र र हावापानीमा निकै हेरफेर भैरहेको छ ।
वायु प्रदुषण र स्वास्थ्य
विश्व स्वास्थ संगठनले सन् २०१८ को ३० अक्टोबर देखि १ नोभेम्बरसम्म जेनेभामा वायु प्रदुषण र त्यसले स्वास्थ्यमा पारेको असर सम्बन्धि पहिलो विश्व सम्मेलन आयोजना गरको थियो । सम्मेलन आयोजना गर्नुको मुख्य कारण विस्वमा वायु प्रदुषणको कारणले मानव स्वास्थमा परेको गम्भीर असर । विस्व स्वास्थ्य संगठनका अनुसार विश्वमा मानिसलाई लाग्ने रोगको २४ प्रतिशत कारण र मृत्युको २३ प्रतिशत कारण जल, जमिन र वायु प्रदुषण, रासायनिक पदार्थसंगको सामिप्यता, जलवायु परिवर्तन र विकिरण बनेको छ । संगठनको पछिल्लो तथ्यांक अनुसार विस्वका ९१ प्रतिशत भन्दा धेरै जनसंख्या विश्व स्वास्थ्य संगठनको वायु प्रदुषणको स्वीकृत मापदण्ड भन्दा बढी प्रदुषित वातावरणमा बाँच्न बाध्य छन् ।
हृदयघात र मस्तिष्कघात, फोक्सोको क्यान्सर, स्वास प्रस्वास सम्बन्धि रोग र मुटु तथा रक्तनली सम्बन्धि रोगबाट हुने मृत्युको एक तिहाइ कारण वायु प्रदुषण नै हुने गरेको छ । घर बाहिरको वायु प्रदुषणले हरेक वर्ष ४२ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । त्यसैगरी घर भित्रको वायु प्रदुषणको कारणले हरेक वर्ष ३८ लाख मानिसहरु मर्ने गर्छन् । विश्व बैंकले गरेको १३० वटा देशहरुमा गरेको अध्ययन अनुसार वायु प्रदुषणबाट मर्ने मानिसहहरु मध्ये ९२ प्रतिशत गरिव र विकासोन्मुख देशका रहेका छन् र यी मध्येपनि घरमा धेरै समय सहनुपर्ने महिला र साना बालबालिकाहरु बढी प्रभावित हुने गरेको अध्ययनले देखाएको छ । विस्वमा प्रत्येक वर्ष ५ वर्ष मुनिका ५ लाख ४३ हजार बालबालिकाहरु वायु प्रदुषणको कारणले हुने स्वासप्रस्वास सम्बन्धि रोगहरुबाट मर्ने गरेका छन् । यी तथ्यांकहरुलाई विश्लेषण गर्दा अहिले विस्वमा वायु प्रदुषणले मानव स्वास्थ्यमा गम्भीर चुनौती खडा गरेको देखिन्छ ।
अहिले विश्व हरितगृह प्रभावको समस्याबाट जुधिरहेको छ । हरितगृह ग्याँसहरुको बढ्दो उत्सर्जनले गर्दा विश्वब्यापी उष्निकरण बढिरहेको छ र यसले पृथ्वीको जलवायु परिवर्तन गराइरहेको छ । विस्वब्यार्पी तापमान वृद्धि, अतिवृष्टि, अनावृष्टि, जलचक्र र मौसम चक्रमा आएको परिवर्तनले गर्दा मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । बिगतमा कहिल्यै लामखुट्टे नदेखिने ठाउँमा समेत अहिले लामखुट्टे देखिन थालेका मात्र छैनन् चिसो क्षेत्र भनेर चिनिएका ठाउँमा समेत डेंगु र मलेरिया जस्ता रोगहरुको प्रकोप बढिरहेको छ । त्यसैगरी रासायनिक विषादी र विकिरणको मात्रामा वृद्धि, ओजोन तहको विनास जस्ता कारणले विभिन्न किसिमका क्यान्सर प्रभावितहरुको संख्या वृद्धि हुदै गैरहेको छ । खेतवारीमा हालिएका रासायनिक विषादी र अन्य पदार्थहरु खाद्यचक्र हुदै मानव शरीरमा प्रवेश गरिरहेका छन्, जसले गर्दा मानव स्वास्थ्यमा नै गम्भीर चुनौती खडा भएको छ ।
नेपालको अवस्था
सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय ) र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वल्र्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको थियो । यस अध्ययनको आधारमा तयार गरिएको इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ अनुसार अध्ययनमा सहभागी १८० देशमा नेपाल समग्र ‘वातावरणको सूचकांक’ मा १७६ औं स्थानमा परेको छ । वातावरणिय स्वास्थ्य सूचकांक हेर्दा नेपाल १०० पूर्णांक मध्ये ५.६ अंकका साथ १७९ औं स्थानमा रहेको देखिएको छ । त्यसैगरी खानेपानी र सरसफाई सुचकांङ्कमा १३५ औं र वायुको गुणस्तरमा १८० औ स्थानमा रहेको अध्ययनले देखाएको छ. । नेपालका धेरै घरहरुमा अझै पनि दाउरो बाल्ने गरेको र जनसंख्याको धेरै हिंसा ‘पीएम २.५’ (आँखाले देख्न नसकिने प्रदुषणका कणहरु) को जोखिममा रहेको र यसले गर्दा नेपाली हावाको गुणस्तर विश्वकै खराब रहेको रिपोर्टमा उल्लेख छ ।
विश्व जनसंख्याको करिव ०.४ प्रतिशत मानिस मात्र नेपालमा बसोवास गर्छन र नेपालले विश्वको कूल हरितगृह ग्याँसको करिव ०.०२५ प्रतिशत मात्र उत्सर्जन गर्ने गरेको छ । नेपालले न्यून मात्रामा हरितगृह ग्याँस उत्सर्जन गरेपनि वायुमण्डलीय तापक्रम बृद्धिका् कारण प्रभावित हुँदै गएको छ । नेपालको अधिकतम तापक्रम प्रति वर्ष सरदर ०.०६ डिग्री सेल्सियसका दरले बृद्धि भएको देखिन्छ । पानी पर्ने दिन, वर्षाको मात्रा र वर्षाको सघनता बदलिँदै गएको छ । प्रत्येक वर्ष न्यानो दिन बढ्दै गएका छन् । हरेक वर्ष तातो हावा (लू) र शितलहर चल्ने दिनहरु बढ्दै जादा त्यसबाट मर्ने गरिब नागरिकहरुको संख्या वर्षेनी बढेको छ ।
मोटर गाडीको संख्यामा उच्च वृद्धि, अव्यवस्थित सहरीकरण र औद्योकरणले गर्दा शहरी क्षेत्रहरु वायु प्रदुषणको चपेटामा परेका छन् र ठुला सहरहरु मार्निंगवाकको लागि खतरनाक समेत भएको विज्ञहरुले बताउदै आएका छन् । विश्वब्यापी उष्णिकरणले गर्दा जलाधार क्षेत्रहरु सुख्खा भैरहेका छन्, जसको प्रत्यक्ष असर खानेपानी आपूर्तिमा परिरहेको छ । केन्द्रीय तथ्यांक विभागले सन् २०१६ मा गरेको जलवायु परिवर्तनको प्रभाव सम्बन्धि राष्ट्रिय सर्भेक्षण अनुसार नेपालका ४१ प्रतिशत परिवारले पछिल्ला २५ वर्षमा जलवायु परिवर्तनको कारणले विभिन्न रोगबाट प्रभावित भएको बताएको जनाएको छ । विगतमा भन्दा अहिले परजीवी किरा र पानीजन्य रोगको कारणले प्रभावित भएको बताउनेहरु हिमाली र तराई क्षेत्रका धेरै भएको सर्वेक्षणले देखाएको छ ।
विस्वब्यापी जलवायु परिवर्तन र वातावरणिय प्रदुषणले नेपालीहरुको जीवनयापन र स्वास्थ्यमा असर पारेको छ नै त्यो भन्दा धेरै असर घर भित्रको प्रदुषणले पारिरहेको छ । बि.स.२०६८ को जनगणना अनुसार नेपालका करिव २५ प्रतिशत परिवारले उज्यालोको लागी मट्टीतेल, बायोग्यास वा दाउराको प्रयोग गर्दछन् । त्यसैगरी नेपालको कूल जनसंख्याको ७७.८५ प्रतिशत परिवारले खाना पकाउनको लागि दाउरा, गुइँठा, मट्टीतेल र बायोग्याँसको प्रयोग गर्दछन् । परम्परागत चुल्होको प्रयोग र भान्सामा संवातनको कमिले गर्दा खाना पकाउदा प्रसस्त मात्रामा धुँवा निस्कन्छ र त्यो धुँवा बाहिर जान नपाएर घरभित्रै रुमलिन्छ । घर भित्र झिंगा, लामखुट्टे, उडुस, उपियाँ, कमिला र साङ्ला धपाउनको लागि प्रयोग गरिने विभिन्न किसिमका किटनाशक विषाादी, आधुनिक उपकरणमा प्रयोग हुने क्लोरिनयुक्त ग्याँसहरुले मानिसले थाहै नपाउने गरि घरभित्रकोे हावालाई बिषाक्त पारिरहेका छन् । नेपाल जीवनस्तर सर्वेक्षण २०११ का अनुसार नेपालका २.९ प्रतिशत मानिसहरु स्वासप्रस्वास सम्बन्धि रोग र १९.३ प्रतिशत मानिसहरु दम बाट गम्भीर रुपमा पिडित छन् । यसैगरी २.७ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलामा अक्सर स्वासप्रस्वास समस्या भेटिने गरेको छ । यस्ता समस्याहरु उत्पन्न हुनुमा घरभित्रको प्रदुषण उल्लेख्य भुमिका रहेको छ ।
के गर्नुपर्ला ?
विस्वब्यापी उष्णिकरण, जलवायु परिवर्तन, शहरी क्षेत्रमा बढ्दो प्रदुषण र घर भित्रको प्रदुषणले गर्दा नेपालीहरुको स्वास्थ्य र दैनिक जीवनयापनमा असर पर्ने क्रम बढेकोले वातावरणिय स्वास्थ्य सम्बन्धि सम्पूर्ण ध्यान यिनै कुरामा केन्द्रित हुनुपर्ने छ । विस्वको तापमान वृद्धि र जलवायु परिवर्तनमा नेपालीहरुको नगन्य भूमिका भएपनि बढी प्रभावित हुनुपरिरहेको छ । यस्तो प्रभावलाई कम गर्नको लागि हामीले आफ्नो ब्यवहारलाई जलवायु परिवर्तन अनुकूल बनाउन थालिहाल्नुपर्ने देखिएको छ । हरित शहर र गाउँजस्ता कार्यक्रमहरुलाई प्रभावकारी बनाउने र मोटरगाडी तथा कलकारखानामा स्वच्छ उत्पादन प्रविधिको प्रयोग गरेर वायु प्रदुषणबाट हुने जोखिमलाई घटाउने कम गर्न ढिलाई गर्नु हुदैन । अहिले घर भित्रको प्रदुषण बहुसंख्यक नेपालीको बिग्रदो स्वास्थ्यको मुख्य कारण भएकोले घरलाई स्वास्थ्यमैत्री बनाउन घर भित्र स्वच्छ हावाको स्वतन्त्र प्रवाह हुने व्यवस्था मिलाउने, खाना पकाउँदा र उज्यालोको लागि स्वच्छ उर्जाको प्रयोग गर्ने, परम्परागत उर्जाको प्रयोग गर्दा सुधारिएको चुलो प्रयोग गर्ने, घरमा रासायनिक विषादी र अन्य रसायनको प्रयोगलाई न्यून तहमा झार्ने जस्ता कामहरु गर्न सकियो भने घर भित्रको प्रदुषणलाई न्युनतहसम्म झार्न सकिन्छ । घर बाहिरको प्रदुषण कम गर्न राज्यले र घर भित्रको प्रदुषण घटाउन परिवारले नै जिम्मेवारी लिने हो भने कम्तिमा पनि मानिसको सम्पर्कमा आउने प्रदुषक पदार्थहरुको मात्रालाई घटाउन सकिन्छ र वातावरणीय प्रदुषणबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्न सकिनेछ ।