ठेकेदारले मुद्दा हालेपछि रोकियो राप्तीपारीको विद्युतीकरण

दशकदेखिको विद्युत बाल्ने राप्तीपारीका बासिन्दाको सपनामा पुनः तुसारापात भएको छ । विद्युतीकरणका लागि रहेको अवरोध मानिएको वन क्षेत्र गत बर्ष मन्त्रीपरिषद्को निर्णयले हटाइएको थियो । वन क्षेत्रका कारण नौ बर्षदेखि अवरोध रहेको विद्युतीकरणका लागि अवरोधका रुपमा रहेको रुख काट्ने निर्णय गत साउनमा मन्त्रीपरिषद्ले गरिदिएपछि विद्युतीकरणको आशा राप्तीपारीका बासिन्दामा देखिएको थियो ।


मन्त्रीपरिषद्को निर्णय भयो, रुख पनि काटिए, पोल पनि ठड्याउन सुरु भयो । तर, राप्तीपारीका विद्युतीकरणमा पुनः विवाद देखिन थालेपछि स्थानीयबासीमा निराशा छाएको छ । विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालयले ठेकेदारले काममा लापरवाही गरेको भन्दै ठेक्का रद्द गरिदिएको छ । त्यसपछि राप्तीपारीको विद्युतीकरणमा थप आन्यौल सिर्जना भएको छ ।
राप्ती सोनारी गाउँपालिका र नरैनापुरलाई समेट्ने राप्तीपारीको विद्युतीकरण दशक अघि सुरु भएको हो । बर्षौ सामुदायिक वनमा रहेका रुख कटानका निर्णय नहुँदा काम अगाडि बढ्न सकेन । पटकौ प्रशासनमा छलफल भयो, अदालतमा मुद्दा हालियो तर सकारात्मक परिणाम आएन ।


जनप्रतिनिधि निर्वाचित भएपछि संघीय सांसद महेश्वर गहतराजले आफैले पहल गरेर विद्युतीकरणको वातावरण तयार गरे । ‘वनको अवरोध हटेपछि काम सुरु हुनेछ भन्ने आशा थियो’, नरैनापुरका रमेश गोडिया भन्छन्, ‘काम राम्रो सँग हुन नपाउँदै पुनः रोकिएको खबर सुन्नुपर्यो ।’ उनी जसको लापरवाही र त्रुटी भएपनि त्यसको नोक्सान भने राप्तीपारीका बासिन्दाले व्यहोर्नु परिरहेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।


नरैनापुरका होलिराम पनि जनप्रतिनिधि आएपछिको अग्रसरताका कारण यसै बर्ष विद्युत बाल्ने पाउने आशामा थिए । उनी त्यो आशा निराशामा बदलिन थालेको बताउँछन् ।
विद्यत प्राधिकरण कार्यालयका क्षेत्रीय प्रमुख मनोज कुमार सिंह ठेकेदारले काम नै नगरेपछि ठेक्का तोड्न बाध्य भएको बताउँछन् । राप्तीपारी विद्युतीकरणका लागि ‘कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइन बिस्तार गर्न श्री उष्मा÷गुरुओम÷धुलिखेल जेभी’ २०६६ साल पुस ३ गते ४ करोड १८ लाख रुपैयाँ लागतमा नेपाल विद्युत प्राधिकरणसँग ठेक्का सम्झौता गरेको थियो । ‘तोकिएको समयमा काम नगरेपछि हामीले म्याद थप्दै आएका थियौं, भएका अवरोध हटेपछि पनि काममा तदारुखता नदेखाइएपछि ठेक्का रद्द गर्नु परेको हो’, सिंह भन्छन् । उनले गत वैशाख २४ गतेबाट ठेक्का रद्द गरेको जानकारी दिएका छन् ।
‘चैत्र मसान्तसम्म काम सक्नका लागि समयसीमा दिएका थियौं’, क्षेत्रीय प्रमुख सिंहले भने, ‘तर, फिल्डमा काम भएको पाएनौं ।’ प्रसारण लाइन निर्माण क्षेत्रमा ९ सय ३० वटा पोल ठेकेदारले गाड्नु पर्नेमा ३ सय वटा मात्र पोल ठेकेदारले गाडेको प्राधिकरणले जानकारी दिएको छ ।


ठेकेदारसँगको सम्झौता तोडेपछि काम नयाँ ढंगले सुरु गरेको क्षेत्रीय प्रमुख सिंह बताउँछन् । ‘तर, रद्द गरिएका ठेकेदारले अदालतमा मुद्दा दिएर काम स्थगित गराएपछि काम गर्न पाएका छैनौं’, उनले भने, ‘क्षेत्रीय कार्यालय मार्फत नै ठेक्का रद्द गरेपछि फत्तेपुरमा २० वटा पोल जडानको काम भैसकेको थियो ।’ ‘राप्तीको पीडा बुझेका छौं’, क्षेत्रीय प्रमुख सिंहले भने, ‘त्यसैले आफैले काम अगाडि बढाइरहेका थियौं, अब अदालतको आदेश पनि कसरी अगाडि बढ्ने भन्ने निक्र्यौल हुनेछ ।’


क्षेत्रीय प्रमुख सिंहले राप्तीपारीको विद्युतीकरणका लागि भएको पाँच वटा मध्य एउटा काम सकिएको जानकारी दिएका छन् । ‘बैजापुरमा सब स्टेशन तयार भएको छ’, क्षेत्रीय प्रमुख सिंहले भने, ‘राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा रहेको सब स्टेशनमा टेष्टिक एण्ड कमिसुनिङ्गको काम सकिएको हो ।’ उनले अदालतले काम अगाडि बढाउने निर्देश गरे दुई÷तीन महिना भित्र प्राधिकरणले नै विद्युतीकरणको काम सक्ने गरी अगाडि बढ्ने प्रतिबद्धता सिंहको थियो ।
राप्तीपारी विद्युतीकरणको ठेकेदार राजेन्द्र मिश्रले भने अनाधिकृत रुपमा ठेक्का रद्द गरिएको भन्दै अदालतमा मुद्दा दिएका छन् । ‘कामका लागि समस्या समाधान गरिदिन लिखित जानकारी दिंदा पनि समाधानका लागि चासो देखाइएन’, उनले भने, ‘त्यसैले अदालतको शरणमा पुग्नु परेको हो ।’


दशकदेखि अवरोधका बीच ठेक्का छोडेर नभागेको उल्लेख गर्दै ठेकेदार मिश्र भन्छन्, ‘राप्तीपारीको विद्युतीकरण मेरो पनि सपना हो, दशक कुरे, अब विना कारण ठेक्का रद्द गर्नु न्यायोचित होइन ।’
राप्तीपारीका बासिन्दा भने ठेकेदार र प्राधिकरण बीचको विवादका कारण विद्युतीकरण ढिलाई हुने भन्दै आक्रोशित छन् । ‘कुनै न कुनै वहानामा दशकसम्म ढिला भएको विद्युतीकरण अब कहिले हुने हो भन्ने निश्चित छैन’, उनीहरु भन्छन् ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र पनि छुट्टै विद्युतीकरणका लागि काम अगाडि बढाएको छ । प्राधिकरणले झण्डै ५६ लाख लागतमा नरैनापुरको बुद्धचोक क्षेत्रमा विद्युतीकरणको काम गर्न लागेको हो । ‘पोल जडान र तार लगाउने काम सुरु भएको हो’, नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख राम दुलार यादवले भने ।

विद्युत अवरुद्ध

सोमबार राती आएको हावाहुरीका कारण नेपालगन्जका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध रह्यो । नेपाल विद्युत प्राधिरकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख राम दुलार यादवले हावाहुरीका कारण विद्युत पोलमा क्षति पुग्दा विद्युत वितरणमा समस्या आएको जानकारी दिएका छन् ।
‘धेरै ठाउँमा रुख पोलमा ढल्दा तथा पोलमा क्षति पुग्दा विद्युत प्रसारण अवरोध हुन पुगेको हो’, यादवले भने, ‘समस्या आएका ठाउँमा समाधानका लागि प्राविधिक खटिनु भएको छ, सोमबारसाँझसम्म सबै ठिक गर्ने योजना छ ।’

प्रतिक्रिया

प्रतिक्रिया