‘खान पाएर पनि मर्नु नपरोस्’

खाद्य स्वस्च्छता दिवसमा अन्तरक्रिया


खान पाएर पनि मर्ने अवस्था सिर्जना हुँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । एघारौं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७६ को अवसरमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले गुणस्तरहीन उपभोग्य वस्तुका कारण विभिन्न रोगको संक्रमणमा हुने बताएका हुन् । उनीहरुले खान नपाएर भन्दा अखाद्य वस्तु खाएकै कारण जटिल रोगहरुको संक्रमणका कारण मर्नेहरुको संख्या बढी रहेको बताएका थिए ।


कार्यक्रममा बोल्दै अधिकारकर्मी सुरेन्द्र दिप कार्कीले बजारमा अखाद्य वस्तुको बिगबिगी बढ्दै गएको बताए । ‘मानिसलाई रोगी बनाउने खालका उपभोग्य वस्तुको बजारमा बिगबिगी छ’, कार्कीले भने, ‘त्यसलाई नियन्त्रणमा लिन सरोकारवाला निकाय सक्रियतापूर्वक लाग्नु पर्दछ ।’ दैनिक जीवनमा प्रयोग हुने तरकारीदेखि जंक फुडसम्म स्वास्थ्यलाई हित नगर्ने खालको रहेको कार्कीले बताएका थिए ।


मिलावट भएका खाद्य वस्तुहरुले बिस्तारै मानव शरीरमा विभिन्न रोगहरु निम्त्याउने गरेको अधिवक्ता बसन्त गौतमले बताए । ‘अखाद्य वस्तुले जटिल किसिमका रोगहरु निम्त्याउने गरेको छ’, गौतमले भने, ‘यसले उपचारमा अनावश्यक खर्च हुने, दीर्घरोगी बनाउनेदेखि मृत्युसम्म हुने गर्छ ।’


गुणस्तरीय उपभोग्य वस्तु मानव स्वास्थ्यका लागि महत्वपूर्ण छ । संविधानले गुणस्तरीय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गरेको छ । तर त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको उल्लेख गर्दै अधिवक्ता गौतम भन्छन्, ‘नागरिक अधिकार प्रत्याभूतिका लागि संवैधानिक व्यवस्था प्रभावकारी कार्यान्वयन गर्ने जिम्मा सरोकारवाला निकायहरुको हो ।’ ‘बजारमा बिक्री हुने गरेको तरकारी, मासुदेखि पानीसम्मले मापदण्ड पूरा गरेको पाइँदैन’, गौतम भन्छन्, ‘जसका कारण थाहै नपाई मानिसहरु विभिन्न रोगको संक्रमण झेलिरहेका छन् ।’

अधिवक्ता गौतमले नेपालभित्रैका उत्पादनसँग भारतबाट आयात हुने वस्तुहरुको पनि गुणस्तर परीक्षण गरेर मात्र भित्रिन दिनुपर्ने धारणा राख्छन् । मापदण्ड पूरा नगरेका कारण बन्द गरिएका उद्योगका उत्पादन समेत बजारमा बिक्री भैरहेको भन्दै गौतमले ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख ज्योत्सना श्रेष्ठले स्वच्छ खाद्य वस्तु प्रयोगका लागि उपभोक्ता आफै पनि सचेत हुनुपर्ने धारणा राखेकी थिइन् । ‘आफुले प्रयोग गरेको वस्तुको गुणस्तर कस्तो छ भन्ने चासो उपभोक्ताले राख्नुपर्छ’, उनले भनिन्, ‘कतिपय उपभोग्य वस्तुको अवस्था उपभोक्ताले हेरेर पनि थाहा पाउन सक्छन् ।’ प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख श्रेष्ठले उपभोक्ताले उपभोग्य वस्तु खरिद गर्दा त्यसको रंग, उत्पादन मिति र अवस्थामा पनि ध्यान पुर्याउन सुझाव दिएकी थिइन् । उनले अखाद्य वस्तुका कारण विभिन्न रोगहरुको संक्रमण बढ्ने समेत बताएकी थिइन् ।


कार्यक्रममा प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख श्रेष्ठले कार्यालयले होटलको अनुगमन गरी श्रेणीकरण गरेको, पानी उद्योग, मासु पसल, किराना पसल अनुगमन गरी अखाद्य वस्तु हटाएको, मापदण्ड विपरितका पसलहरुलाई कारवाही गरेको लगायतका गतिविधि जानकारी दिएकी थिइन् । उनले पानी, दुध, तेलको नमूना संकलन गरी परीक्षण गरिएको, मापदण्ड पूरा गरे नगरेको अनुगमन गरेको, खाद्य गुणस्तरका लागि अभिमूखिकरण सञ्चालन गरिएको जानकारी दिएकी थिइन् ।


कार्यक्रममा एघारौं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७६ को अवसरमा आयोजित प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । खाद्य निरीक्षक नेत्र बोगटीले सञ्चालन गरेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कान्त उपाध्याय, वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया