मुद्दा बढ्दो, वृद्धिदरमा भने कमी
लागुऔषध विरुद्ध प्रहरीको निगरानी र कारवाही बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । शुक्रबार नेपालगन्जमा नगर क्षेत्र भित्र रहेका लागु औषध प्रयोगकर्ताहरुको अनुमानित तथ्यांक सार्वजनिक गर्न आयोजित बैठकमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमुख, प्रहरी निरीक्षक वीर बहादुर थापाले लागुऔषधको मुद्दाको पक्राउ पर्नेको संख्या बढेपनि अनुपातमा भने वृद्धिदर भने घट्दै गएको बताएका छन् ।
बाँकेमा आ.व. ०७२÷०७३ मा १०८ जना पक्राउ परेका थिए । त्यो संख्या आ.व. ०७३/०७४ मा ६६.६ बढेर १ सय ८० पुगेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । आ.व. ०७४/०७५ मा लागुऔषध सहित पक्राउ पर्नेको संख्या ह्वात्तै बढेको बाँके प्रहरीको तथ्यांक छ । उक्त अवधीमा ३ सय १० जना लागुऔषध सहित पक्राउ परेका थिए । जुन अघिल्लो आ.व.को तुलनामा ७२.२२ प्रतिशतले बढी हो ।
आ.व. ०७५/०७६ को बैशाख मसान्तसम्म २ सय ९७ जना लागुऔषधको मुद्दामा कारवाहीमा परेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । जुन गतबर्षको तुलनामा १४.९६ प्रतिशतले वृद्धि हो । ‘अघिल्लो आ.व.मा भएको वृद्धिदर यस बर्ष नियन्त्रणमा आएको छ’, प्रहरी निरीक्षक थापाले भने, ‘अघिल्लो आ.व.को तुलनामा ५८ प्रतिशतले वृद्धिदरमा कमी आएको छ ।’ मुद्दाको संख्या बढेपनि लागुऔषधमा पक्राउ पर्ने वृद्धिदरमा कमी भएको थापाले जानकारी दिए । ‘गत बर्ष लागुऔषधका १ सय ४५ वटा मुद्दा थियो यसबर्ष १ सय ९२ वटा मुद्दा दर्ता भैसकेको छ’, प्रहरी निरीक्षक थापाले भने, ‘कारवाही बढेपनि पक्राउ पर्ने व्यक्तिको संख्या प्रतिशतमा कमी आएको छ ।’
लागुऔषधको मुद्दामा पक्राउ पर्ने सबैभन्दा बढी १८–२५ बर्ष उमेर समूहका रहेका छन् । प्रहरी निरीक्षक थापाले पक्राउ पर्नेमा १८–२५ उमेर समूहका ५८.४ प्रतिशत रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, पक्राउ पर्नेमा १८ बर्ष मूनिका ९.७३ प्रतिशत, २५–३५ बर्ष उमेर समूहका १२.१२ प्रतिशत र ३५–४५ बर्ष उमेर समूहका ५.३० प्रतिशत, ४५ देखि माथिका ४.४० प्रतिशत रहेका छन् ।
कारवाहीमा पर्ने बाँकेकै बढी
प्रहरीको कारवाहीमा पर्नेमा सबैभन्दा बढी बाँकेका नै रहेका छन् । जिल्ला प्रहरी कार्यालयको कारवाहीमा पर्नेमा बाँकेका मात्रै ५० प्रतिशत भन्दा बढी छन् । ‘चालु आ.व.मा १ सय २० जना बाँकेका पक्राउ परेका छन्’, प्रहरी निरीक्षक वीर बहादुर थापाले भने, ‘यो कारवाही पर्नेको अनुपातमा ५३.०९ प्रतिशत हो ।’
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार, बाँकेमा प्रहरीको कारवाहीमा पर्नेमा सबैभन्दा बढी नेपालगन्जका रहेका छन् । प्रहरी निरीक्षक वीर बहादुर थापाले चा.लु. आ.व.मा नेपालगन्जका ३६ जना कारवाहीमा परेका छन् । त्यस्तै कोहलपुरमा २७, खजुरामा १४, बैजनाथमा २१, जानकीमा ३, डुडुवामा २ र राप्तीसोनारीका २ जना लागऔषधको कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध सेवन गर्नेलाई मात्र कारवाही गर्ने गरेको छैन ।
प्रहरी निरीक्षक थापाले भने, ‘एभिल, डाइजोपाम, लुबिक जेसिकजस्ता सामान्य मूल्यका कारोबार घटेको छ तर ब्राउन सुगर, चरेश, अफिम लगायतको महंगो मुल्यको लागुऔषध प्रयोगकर्ता बढेको छ । लागुऔषध कारोबारका लागि नेपालगन्ज ट्रान्जिट बन्ने खतरा पनि उत्तिकै बढेको छ ।’
प्रहरी निरीक्षक थापाका अनुसार, लागुऔषध नियन्त्रण व्युरोले १० महीनामा हेरोइन ३३९ ग्राम ६९० मिलिग्राम, नाइट्रोभ्याट ४ हजार ४८ ट्याब्लेट, नाइट्रोजेपाम ८५१ ट्याब्लेट, नाइट्रोसन ११२ ट्याब्लेट, स्पासमो १५४ क्याप्सुल, कोरेक्स ५ हजार ३५० मिलिलिटर, ट्रिगन १०० ट्याब्लेट, चरेश ८ किलो ८२० ग्राम, डाइजेपाम ३७ एम्पुल, फेनारगन ३३ एम्पुल र बुर्पिनर्फिन १० एम्पुल बरामद भएको छ ।
चालु आवमा पक्राउ पर्नेमा सबैभन्दा धेरै हेरोइनसहित ९४ जना पक्राउ र ६६ वटा मुद्दा, नाइट्रोभ्याटसहित ८७ र ६१ मुद्दा र नाइट्रोजेपामसहित १७ जना पक्राउ र १० वटा मुद्दा परेका छन् । पक्राउ पर्नेमा २० जना भारतीय नागरिक पनि छन् । उमेर समुह अनुसार सबैभन्दा धेरै किशोरकिशोरी पक्राउ परेका छन् । प्रहरी निरीक्षक थापाले लागुऔषध विरुद्ध नेपाल–भारत सीमामा कुकुरको प्रयोग गर्न थालेपछि नेपालगन्ज नाकाबाट लागुऔषध भित्रिने क्रममा कमी आएको बताउँछन् ।