१६ देखि ३९ बर्षका बढी
एउटा सर्वेक्षणले नेपालगन्ज उपमहानगरपालिकामा मात्रै १ हजार बढी लागुऔषध प्रयोगकर्ता रहेको देखाएको छ । नेपालगन्ज उपमहानगरपालिकाले लागुऔषध नियन्त्रणमा क्रियाशिल सात वटा संस्थासँगको सहजीकरणमा नेपालगन्जमा लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरेको हो ।
शुक्रबार नेपालगन्जमा आयोजित नगर क्षेत्र भित्र रहेका लागुऔषध प्रयोगकर्ताहरुको तथ्यांक प्रमाणिकरण तथा सार्वजनिक परीक्षण बैठकमा नेपालगन्जमा १ हजार १ सय ९७ जना लागुऔषध प्रयोगकर्ता रहेको तथ्यांक सार्वजनिक गरिएको हो । तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५ जना, सुँघेर ६३ जना र सुईको माध्यमबाट लागुऔषध प्रयोग गर्ने ९ जना रहेका छन् ।
कार्यक्रममा रविन्द्र सिंह राठौंरले तथ्यांक सार्वजनिक गर्दै १ हजार १ सय ३३ पुरुष र ३४ महिलाले लागुऔषध सेवन गर्ने गरेको जानकारी दिएका थिए । जारी तथ्यांकमा १२ बर्षदेखि ५० बर्ष माथिका व्यक्तिहरुले समेत लागुऔषध सेवन गर्ने गरेको उल्लेख छ ।
उमेर समूहमा १२ वर्षमुनिका ६४ जना, १६ देखि ३९ वर्षसम्मको एक हजार ३० जना र ५० वर्षदेखि माथिको उमेरका १ सय ३० जना रहेको राठौरले जानकारी दिए ।
लागुऔषध प्रयोगकर्ताहरुलाई यसको उपचार हुन्छ भन्ने जानकारी भए पनि हालसम्म २५० जनाले मात्र उपचार लिएको प्रारम्भिक सर्वेक्षणले जनाएको छ । जुन कुन संख्याको २० प्रतिशत मात्रै हो । सर्वेक्षणले नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या भयावह देखिएको साहारा हाउस नेपालगन्जका सञ्चालक अभिराज क्षेत्रीले बताए ।
बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार, बाँके जिल्लामा पाँच हजार बढी लागुऔषध सेवनकर्ताहरु रहेको अनुमान छ । ‘लागुऔषध प्रयोगकै कारण एचआइभीको जोखिम पनि उच्च रहेको छ,’ उनले भने, ‘एकीन तथ्यांक नहुँदा रणनीति नै तयार गर्न समस्या भइरहेको छ ।’
यहाँका लागुऔषध दुव्र्यसनीहरुले ब्राउनसुगर, ट्यावलेट, इन्जेक्सबाट लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । लागुऔषध दुव्र्यसन बिरुद्ध क्रियाशिल सहारा हाउसका प्रमुख अभिराज क्षेत्रीले तथ्यांक तलमाथि हुने सम्भावना रहेको भएपनि यसले लागुऔषधका बिरुद्धमा काम गर्न आधार तयार हुने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा लागुऔषध दुव्र्यसन बिरुद्ध काम गर्ने संघसंस्थाहरुले बैशाख २० गतेदेखि जेठ १० गतेसम्म गरेको सर्बेक्षणको शुक्रबार तथ्यांक सार्वजनिक गरिएको छ ।
नेपालगन्जमा क्रियाशिल साहारा हाउस, सामना, नवकिरण, प्रेरणा, नयाँ आशा, प्रयास नेपाल र नवदृष्टि महिला पुनःस्थापना केन्द्रको सहजीकरणमा भएको बैठकको समन्वय जिल्ला प्रहरी कार्यालय बाँके, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज र नमन नेपालले गरेका गरेका छन् । कार्यक्रम नेपालगन्ज वडा नं. २ का अध्यक्ष सुनिल सिंह हमालको अध्यक्षतामा भएको थियो ।