प्रदेश : १५ दिनमा ५४ लागुऔषध सहित पक्राउ

५ किलो गाँजा, १० किलो चरेश र ३७ ग्राम हिरोइन नियन्त्रण

प्रदेश ५ मा लागु औषधको अवस्था विकराल बन्दै गएको छ । भारतसँग जोडिएको खुला नाकाका कारण पनि लागुऔषधको कारोबार प्रदेशमा मौलाउँदै गएको हो । प्रदेश ५ मा नेपालगन्ज, बर्दिया र रुपन्देहीको सीमा भारतसँग जोडिएको छ । खुला सीमाना रहेका कारण नेपालबाट चरेश र गाँजा तथा भारतबाट नेपालमा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर, नाइट्रोजेपाम, कोरेक्स भित्रिने गरेको छ ।


प्रदेश प्रहरी कार्यालय दाङका अनुसार, जेठ १ देखि १५ सम्म मात्रै लागुऔषध सहित ५४ जना पक्राउ परेका छन् । जसमा ४ जना महिला रहेका छन् । उक्त अवधीमा ४ हजार ९ सय २७ ग्राम गाँजा, ९ हजार ८ सय ५६ ग्राम चरेश र ३७ ग्राम हेरोइन प्रहरीले नियन्त्रणमा लिन सफल भएको प्रदेश प्रहरी कार्यालय दाङ्गका प्रहरी नायब उपरीक्षक, प्रवक्ता टिका बहादुर कार्कीले जानकारी दिएका छन् ।


‘१५ दिनकै अवधीमा ठूलो परिणाममा लागुऔषध समातिएको छ’, प्रदेश प्रहरीले लागुऔषध नियन्त्रणका लागि अभियान नै थालेपछि सफलता प्राप्त गरेको प्रवक्ता कार्की बताउँछन् । प्रहरीले १५ दिनमा लागुऔषध डाइजेपाम २ सय ८५, फेनार्गन ६ सय ८५, नुफिन ६६०, एम्पुल ३००, नाइट्राभेट ५००, सेरिज्याक ४००, नाइट्रोसन ४४८, स्पस्मो १० ट्याब्लेट गरी कुल ३ हजार ३ सय ८ ट्याब्लेट प्रहरीले बरामद गरेको हो ।


प्रहरीले १५ दिनको अवधीमा लागुऔषध विरुद्धको सचेतनामूलक कार्यक्रमको पनि आयोजना गरेको छ । बाँके, कपिलवस्तु र दाङ्गमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । ‘विभिन्न जिल्लाहरुमा लागुऔषध उत्पादन, ओसारपोसार, सेवन जस्ता गैर कानुनी कार्य विरुद्ध सचेतनामूलक अभिमूखिकरण गरिएको हो’, प्रदेश प्रहरी प्रवक्ता कार्कीले भने, ‘लागुऔषध सेवनकर्ता, कारोबारीलाई हुने कानुनी कारवाही र यसको सेवनबाट मानव स्वास्थ्यमा पर्ने असरबारे जानकारी गराएका हौं ।’ जेठको दुई साता सचेतनामूलक र्याली तथा सन्देशहरु पनि प्रसारण गरिएको प्रवक्ता कार्कीले बताएका छन् ।


प्रहरीले नेपालगन्ज, पाल्पा, कोहलपुर र कपिलवस्तुमामा विद्यार्थी केन्द्रित सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । ‘लागुऔषध नियन्त्रण प्रभावकारी बनाउन चेतनामूलक भिडियो सामाग्री पनि देखाउने गरेका छौं’, कार्कीले भने ।


प्रदेश प्रहरीले विभिन्न जिल्लामा गरिएका अफिम र गाँजा खेती नष्ट गरेको पनि जानकारी दिएको छ । प्रवक्ता कार्कीले जेठ १२ गते रुकुम पूवमा झण्डै २ रोपनी जग्गामा लगाइएको लागुऔषध अफिम नष्ट गरेको जानकारी दिएका छन् ।


त्यस्तै जेठ ९ गते दाङ्गको घोराहीमा जिल्ला प्रहरी कार्यालय दाङ्गले १ हजार ७ सय वटा गाँजाका बिरुवा फडानी गरी नष्ट गरिएको प्रवक्ता कार्कीले जानकारी दिएका छन् । त्यसक्रममा घरदैलो कार्यक्रम मार्फत गाँजाको खेती गैर कानुनी भएको र यसको उत्पादन गर्दा हुने कानुनी कारवाहीको बारेमा सचेतनामूलक कार्यक्रम गरिएको प्रवक्ता कार्कीले बताए । बर्दियामा पनि गाँजा खेती नष्ट गरेको प्रदेश प्रहरीले जानकारी दिएको छ । राजापुरमा प्रहरी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुले संयुक्त रुपमा दुर्गा मन्दिर परिसरमा उम्रिएको गाजा नष्ट गरेको प्रहरीले जानकराी दिएको छ ।


प्रदेश प्रहरीले प्रदेशमा लागुऔषधको कारवाही र सचेतनामूलक कार्यक्रमबारे १५÷१५ दिनमा बुलेटिन प्रकाशन गर्ने जानकारी दिएको छ । ‘प्रदेशमा भैरहेको लागुऔषध अवस्थाबारे जानकारी दिन बुलेटिन प्रकाशमा ल्याउन लागेका हौं’, प्रदेश प्रहरीका प्रवक्ता कार्कीले भने, ‘लागुऔषध समस्याको निराकरणको लागि सबै मिलेर केही गरौं, हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने ?’


यसैबीच, प्रदेश प्रहरी कार्यालय दाङ्गले बाँकेको कोहलपुरमा लागुऔषध सम्बन्धी बुलेटिन विमोचन गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङका प्रमुख प्र.ना.म.नि पिताम्बर अधिकारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेल, प्रदेश ५ क्षे.स.प्र. गण खजुराका प्रमुख प्रही उपरीक्षक वीर बहादुर वली, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रहरी निरीक्षक वीर बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया