निकासका लागि समन्वय समितिको पहल
वसन्त गौतम
कारागार कार्यालय बाँकेमा क्षमता भन्दा दोब्वर बढी कैदी बन्दी रहेका छन् । नेपालगन्जको प्रचण्ड गर्मिमा २५० जनाको क्षमता भएको कारागारमा हाल ७४५ कैदी बन्दी रहेका छन् । कारागार परिसरको कोठा भित्र नअटाएर थुनुवाहरु बाहिर खुल्ल्ला आकाशमा सुत्न बाध्य छन् । अवस्था यस्तोसम्म छ कि स्थान अभावमा धाराको नल्की मुनी समेत कैदी बन्दी सुत्न बाध्य छन् । अत्याधिक कैदीबन्दी हुँदा कारागार भित्र अतिकति पनि खाली भुई बाँकी छैन । कोठाभित्र, बाहिर सबै ठाउँमा थुनुवाहरुको कोचाकोच छ । उनीहरुलाई सुत्न, बस्न अप्ठारो छ । धेरै जना हुँदा सौच गर्न, नुवाईधुवाईमा पनि समस्या रहेको छ । स्थान अभावमा पालो गरेर सुत्न बस्नु पर्ने अवस्था छ ।
बाँकेको नौवस्तामा खुल्ला कारागार निर्माण गर्ने भनिए पनि काम सुस्त छ । कारगारमा दिनै पिच्छे कैदी बन्दी थपिएको थपिएकै छन् तर समस्या ज्यूँका त्यूँ छ । कैदी बन्दीले अपराध गरे वापत थुनामा बस्नु पर्ने सजाय त छदैछ त्यस माथि गर्मीमा कोचाकोच भएर बस्नु पर्दा र रातीमा राम्ररी खुट्टा पसारेर सुत्न मिल्ने ठाउँ नहँदा उनीहरुले आधारभुत मानव अधिकारको समेत उपभोग गर्न पाएका छैनन् । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा उनीहरुलाई निकै समस्या परेको कारागारका जेलर भरत कुमार पाण्डेले भने । ‘वायरिङ बिनाका नाङ्गा तारमा जोडेर पंखा चलाउदा बिद्युत सर्ट भई आगलागी हुने डर छ,’ पाण्डेले भने ।
न्याय क्षेत्र समन्वय समितिमा छलफल
बाँके कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको बिषयमा उच्च अदालत न्याय क्षेत्र समन्वय समिति नेपालगन्जको बैठकमा यो बिषयले प्रवेश पाएको छ । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा वरिष्ठतम न्यायाधीश बिष्णुदेव पौडेलको अध्यक्षता भएको बैठकले यस बिषयलाई गम्भीर रुपमा लिदै समस्या समाधानमा पहल गर्नु पर्ने निर्णय गरेको छ । न्यायाधीश हेमराज पन्तले बाँके कारागारमा क्षमता भन्दा कैदी बन्दी हुँदा उनीहरुलाई समस्या परेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बैठक कक्षबाटै कारागार ब्यवस्थापन बिभागको महानिर्देशकलाई फोन गरि समस्याको अवगत गराएका थिए । फोनमा निर्देशकलाई उचित निकास खोल्ज प्रजिअ भुजेलले आग्रह गरेका थिए । बैठकमा बाँकेका कैदी बन्दीलाई अन्य जिल्लामा सार्ने बिषयमा समेत छलफल भएको थियो ।
न्याय सम्पादनको काम कारवाहीलाई ब्यवस्थित बनाउने, अदालतले लिएको रणनैतिक योजना कार्यान्वयमा सधाउ पु¥याउने लगायतका बिषयमा छलफल हुने न्याय क्षेत्र समन्वय समितिको बैठकमा बाँके कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई पर्न गएको मर्का र उनीहरको आधारभुत मानव अधिकार संरक्षणको सन्दर्भमा छलफल भएको उच्च अदालत न्याय क्षेत्र समन्वय समिति नेपालगन्जका अध्यक्ष एवं नेपालगन्ज उच्च अदालतका वरिष्ठतम न्यायाधीश बिष्णुदेव पौडेलले बताए । बैठकमा अदालतको सुरक्षा ब्यवस्था, छिटो छरितो न्याय सम्पादन, अदालती निर्णयको कार्यान्वयन, जनगुनासो सम्बोधन लगायतका बिषयमा छलफल भएको न्यायाधीश पौडेलले जानकारी दिए ।
कार्यक्रममा अदालतको फैसला कार्यान्वय, कानूनले निर्धारण गरेको कार्यबिधि पालना, स्वच्छ सुनुवाईमा नेपालगन्ज उच्च बारका अध्यक्ष बिकाश आचार्यले जोड दिएका थिए ।