महानगर गाथा

महान दार्शनिक ग्रुसो मार्सले कतै भनेका छन्, ‘प्रत्येक बिहान जब म आँखा खोल्छु म आफैंसँग भन्छु, मसँग आजको दिन खुशी हुने कि दुखी हुने भन्ने शक्ति छ । मैले यी दुइ मध्ये कुनै एक रोज्न सक्छु । हिजो मरिसक्यो, भोलि अझै जन्मेको छैन, मसँग मात्र एक दिन छ, आज । र म यसलाई खुशीले रंगाउन गइरहेको छु ।’


पदावधिका हिसाबले लगातार तीन कार्यकाल, समयावधिका हिसाबले अढाइ दशक लोकप्रियताको शिखरमा रहनु चानचुने हैन । फरक यत्ति हो पहिले गाउँ विकास समिति थियो, अहिले नगरपालिका । कोहलपुर नगरप्रमुख लुट बहादुर रावतको खास परिचय यही हो पाएको जिम्मेवारी जतिसक्दो चाँडो पुरा गर्ने, आजै पुरा गरिहाल्ने । त्यसैले त उनी चर्चित हैन, लोकप्रिय छन् । लोकप्रियताको मापन जनमतबाट मात्र पुष्टि हुन्छ । धेरै मानिस चर्चित बन्न सक्छन्, लोकप्रिय बन्न त्यति सजिलो छैन । यसअर्थमा भन्न सकिन्छ कि कोहलपुर नगरप्रमुख रावत लोकप्रिय हुन् ।


कोहलपुर र रझेना गाउँ विकास समिति मिलाएर सरकारले कोहलपुर नगरपालिका घोषणा गरेको हो । पूर्व पश्चिम महेन्द्र राजमार्ग र उत्तर दक्षिणको रत्न राजमार्गको मिलनबिन्दुको परिचय हो कोहलपुर । एक हिसाबले प्रदेश नं. ५, ६ र ७ लाई यातायात सञ्जालले जोडेको कान्छो सहरले समृद्धिको शिखर चुम्ने त्यस्ता धेरै सपना बुनेको छ । जो पुरा गर्न ७२ बर्षिय नगरपिता रावत अनवरत लागिपरेका छन्, दिनरात नभनी ।


शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, सञ्चार र पर्यटनलाई कोहलपुरले प्राथमिकताको सुचिमा राखेर महानगरको यात्रामा अघि बढेको छ । जुन कुनै पनि ठाउँको विकास र समृद्धिको आधारशीला हुन् । गाउँबाट नगरमा परिणत हुँदै गर्दा शिक्षाका क्षेत्रमा गोरखा युनाइटेड पब्लिक स्कुल साविकको मध्यपश्चिम तथा हाल प्रदेश नं. ५ को सर्वोत्कृष्ट विद्यालयबाट तीन पटकसम्म राष्ट्रिय स्तरमा पुरस्कृत हुँदा कोहलपुरको शिर उँचो भएको छ । पाँच तार होटल सेन्ट्रल प्लाजाले पर्यटनका क्षेत्रमा आशा देखाइदिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले यी तीन प्रदेशका नागरिकलाई बिश्वासिलो स्वास्थ्य सेवा प्रदान गरिरहँदा कोहलपुरको चहलपहल पक्कै बढ्छ । कृषि नेपालकै परिचय भयो, जुन कोहलपुरले पनि आत्मसात गरिसकेको छ । आधुनिक प्रविधिका क्षेत्रमा फड्को मार्ने योजना तर्जुमा गरेर कृषिमा समेत अघि बढेको नगरप्रमुख रावत बताउँछन् । ‘कृषिलाई आधुनिकीकरण गर्दै अघि बढ्दैछौं ।’ रावतले सुनाए –‘एग्रो टुरिजम पनि हाम्रो प्राथमिकतामा छ । शिक्षाको हब बनाउनेगरी योजना तर्जुमा गर्दैछौं ।’ नेपाल टेलिभिजनको क्षेत्रीय कार्यालय कोहलपुरमा रहनुलाई पनि उनले कोहलपुरको अर्को परिचयका रुपमा लिएका छन् ।


सबैभन्दा आशाको केन्द्रका रुपमा सम्पुर्ण नगरवासीले लिएको सम्पत्ति हो कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान । यो कोहलपुरको अर्को परिचय हो । खेलकुद त्यसैपनि राष्ट्रिय गौरवको विधा हो । अन्तर्राष्ट्रिय मञ्चमा हिमाल आरोहणपछि नेपालले गर्व गर्ने कुनै अर्को विधा छ भने त्यो खेलकुद हो । त्यसमा पनि पछिल्लो समय क्रिकेटले आम नेपालीलाई आशाको दियो बालिदिएको छ । नेपालले एक दिवसीय मान्यता पाएको छ । नगरप्रमुख रावतले यी सब घटना परिघटना नजिकबाट नियालेका छन् । मनन गरेका छन् । त्यसैले होला उनको अर्जुनदृष्टि छ यतिबेला यस मैदानमाथि । यो मैदानको स्तरोन्नति गर्न उनी मन, वचन र कर्मले लागेका छन् । र, भन्छन्–‘मेरो सामथ्र्यले भ्याएसम्म कुनै कसर बाँकी राखेको छैन ।’


आठौं राष्ट्रिय खेलकुदका कुनै पनि तयारी बैठक उनले छुटाएनन् । कारण एउटै थियो क्रिकेट भेन्यु । आयोजक राष्ट्रिय खेलकुद परिषदले एक बर्षअघिदेखि समय समयमा भेन्यु निरीक्षण गर्दै आफ्नो राय दिइरहन्थ्यो । दाङ वा रुपन्देहीमा क्रिकेट हुनसक्ने प्रचारवाजी पनि हुँदै आएको थियो । तर, नगरप्रमुख रावतले कोहलपुरमै क्रिकेट गराउने दृढसंकल्प गरिसकेका थिए । जनप्रतिनिधि हुनुका नाताले नागरिकप्रति जवाफदेही हुनुपथ्र्यो । यो उनले राम्रोसँग बुझेका थिए । राखेपले मुल आयोजक समितिको बैठक गत असोजमा नेपालगन्जमा गरेको थियो । त्यहाँ नगरप्रमुख रावतले क्रिकेट कोहलपुरमै सञ्चालन गर्न जोडदार आवाज उठाएका थिए । युवा तथा खेलकुद मन्त्रीकै अध्यक्षतामा सरोकारवाला सबैको उपस्थितिमा बसेको बैठकको अर्थ रहन्थ्यो । नगरप्रमुख रावतले प्रतिवद्धता जनाएका थिए, ‘स्थान तोक्नुस, दिएको सम्पुर्ण जिम्मेवारी पुरा गर्न तयार छौं ।’ उनको यो प्रतिवद्धताले राखेपलाई पनि ठुलो आड भरोसा मिलेको थियो । हुन पनि स्थानीय तहमा आठौं राष्ट्रिय खेलकुदलाई अपनत्व लिने सन्दर्भमा कोहलपुर अगाडि देखियो ।

निर्माण उपभोक्ता समितिको नेतृत्व गर्नेदेखि तयारी तथा प्रतियोगिता सञ्चालन समितिको नेतृत्वसम्म प्रमुख रावत आफैंले गरे । उनले त्यसमा कुनै प्रोटोकल हेरेनन् । नगर प्रमुख आफैंमा सिंगो नगरको मियो हो । नगरप्रमुख रावतले यसमा साँच्चिकै मियोको काम गरे । त्यसैले त बिना बाधा अडचन क्रिकेट सफलतापूर्वक सम्पन्न भयो । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटको सफलतासँग कोहलपुर नगर पक्कै जोडिएको छ । एक साता कोहलपुर साँच्चिकै क्रिकेटमय बन्यो । नेपाली क्रिकेटका चर्चित अनुहार कोहलपुरमा देखिए । उनीहरुले यस मैदानमा कला प्रदर्शन गरे । र, प्रतिक्रिया पनि दिए–‘यो मैदान नेपालकै उत्कृष्टमध्येको छ, यहाँ अन्तर्राष्ट्रिय स्तरका खेल सञ्चालन गर्न सकिने स्तरको छ ।’ यो सुन्दा नगरप्रमुख रावत सम्भवतः सबैभन्दा बढी खुशी छन्, र, उत्साही पनि । हुनपनि २०६१ सालदेखि चर्चा सुरु भएको मैदानलाई यो अवस्थासम्म ल्याइ पुराउन कोहलपुर नगरपालिकाले सरोकारवालासँग महत्वपुर्ण साझेदारी गरेको छ । यो त्यही मैदान हो, जहाँ नेपालमै पहिलो पटक महिला क्रिकेटले औपचारिक यात्रा आरम्भ गरेको थियो । नेपाली महिला क्रिकेटले पाएको सफलतासँग यस मैदानको सम्बन्ध गहिरो छ ।

त्यसैले त नगरप्रमुख रावत यस मैदानले देखाएको सम्भावनाको श्रेय नेपाली क्रिकेटका पुर्व कप्तान तथा महिला क्रिकेटका प्रमुख अभियन्ता एलबी क्षेत्रीलाई दिन्छन्,जो कोहलपुर निवासी हुन् । करिब पाँच बिगाहा क्षेत्रफल ओगटेको यो मैदान अहिले स्तरीय बनेको छ, जहाँ राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न प्रर्याप्त छ । अब क्रिकेटप्रेमी दर्शकदीर्घाका लागि प्यारापिट आवश्यक भइसकेको छ ।

यसका लागि प्रदेश नं ५ खेलकुद परिषदले पहल सुरु गरिसकेको छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसमक्ष लबिङ सुरु गरिसकेको छ । ‘यस क्रिकेट मैदान स्तरोन्नतिका लागि नेपाल सरकार लगायत सरोकारवालासँग आर्थिक लगायत हेरक क्षेत्रमा साझेदारी गर्दै अघि बढ्न तयार छौं, यसहिसाबले बजेट विनियोजन पनि गर्दै जाने सोंचमा छौं ।’ उनी भन्छन्–‘भौतिक पुर्वाधार मात्र हैन, कसैले स्तरीय प्रतियोगिताको राम्रो प्रस्ताव ल्याउँछ भने त्यसमा पनि साझेदारी गर्न नगरपालिका तयार छ, आगामी बजेट त्यसमा पनि विनियोजन गर्छौं ।’
त्यतिमात्र हैन, एन्फाको गोल प्रोजेक्ट कार्यान्वयन गर्न पनि कोहलपुर नगरपालिका तयार रहेको पनि उनले सुनाए । ‘संसारकै लोकप्रिय खेललाई कोहलपुरमा संस्थागत गर्न हामी तत्पर छौं ।’ उनले भने, ‘एन्फासँग छलफल भइरहेको छ, आवश्यक जमिन दिन हामी तयार छौं ।’ एन्फा एकेडेमी स्थापनाले हजारौं बालबालिकालाई व्यवसायिक फुटबलर बन्ने यात्रातर्फ डोराउने उनले अपेक्षा गरेका छन् । स्वास्थ्य नै धन हो भन्ने उनले राम्रोसँग बुझेका छन् । त्यतिमात्र हैन, खेलकुदको हब बनाउन जुनसुकै खेलसँग सहकार्य गर्न आफु सदा तत्पर रहेको उनले सुनाए ।

उपमेयर कप महिला क्रिकेट र मेयर कप अन्तर विद्यालय खेलकुद बर्षेनी सञ्चालन गर्ने सोंच छ । शिक्षाको हब बनाउन शिक्षा इकाइ प्रमुखको संयोजकत्वमा विज्ञ समिति गठन गरेर काम अघि बढाइसकेका रहेछन् । पर्यटन प्रवद्र्धन गर्नका लागि भ्यु टावर निर्माणदेखि सुविधासम्पन्न गार्डेन तथा होमस्टे निर्माणमा नगरपालिकाले लगानी गरिरहेको उनले जानकारी दिए । ‘जनताको खुशीका लागि काम गर्ने कसम खाएको छु ।’ उनी भन्छन्–‘यी सब मेरा रुची भन्दा पनि नगरवासीका रुचिका बिषय हुन् ।’ नातावाद र परिवारवादमा उनी बिश्वास गर्दैनन् । लामो राजनीतिक जीवनमा सिकेको यही हो उनले । नगरवासी र पारिवारिक खुशीको प्रसंग निकाल्दा उनी निकै भावुक भए । जेठा छोरा प्रावि तहका शिक्षक छन्, कान्छो छोरा मेडिकल कलेजमा अधिकृत छन् । छोरी विवाह गरेर पराइका घर पुगिसकेकी छिन् । पहिले जेठा छोराको घरमा बस्थे, अहिले कान्छो छोराको घरमा बस्छन् । ‘धन सम्पत्तिका नाममा केही छैन, केवल जनताको माया हो ।’ हामीलाई आफ्नो जीवन गाथा सुनाइरहँदा उनका गला अवरुद्ध भए–‘छोराले पनि पुख्र्यौली सम्पत्ति बेचेर किनेको घडेरी थियो, यही बिक्री गरेर यो घर बनायो । अहिले मलाई यहीं आश्रय मिलेको छ, तर जनताको माया निरन्तर पाएँ, ठुलो सम्पत्ति यही हो । यसमै सौभाग्यशाली ठानेको छु ।’ राजनीति बिना लगानीको बिजनेस हो भन्ने मान्यता बोक्ने तमाम राजनैतिक कार्यकर्ताका लागि रावत रोलमोडल हुन् । राजनीतिमा लागेर सदा लाभको पद लिने र सन्तानलाई युरोप अमेरिकामा स्थापित गराउन खोज्नेका लागि उनी उदाहरण हुन् । पुर्णकालीन राजनीतिक कार्यकर्ता भएकै कारण सन्तानको शिक्षा दिक्षामा पर्याप्त समय दिन सकेनन् कि? सायद विगत सम्झिदा उनको मन कटक्क खान्छ । सायद यी सब सम्झिदा पनि उनी निकै भावुक हुन्छन् । कम्युनिष्ट स्कुलिङबाट उनको राजनैतिक यात्रा अघि बढेको हो । सल्यानको कालीमाटी काल्चेमा २००४ सालमा जन्मिए । बुवा रत्नलाल मुखिया हुनुहुन्थ्यो । यसले पनि जनतासँग प्रत्यक्ष सम्बन्ध राख्न र घुलमिल हुन सघायो । परिवारमा राजनैतिक चेत थियो । दाइहरु प्ढेलेखेका थिए ।


२०२२ सालको जेठमा उनी शिक्षक नियुक्त भए गाउँमै । तीन बर्ष शिक्षण पेशामा रमाएका उनी नेपालगन्जस्थित भुमि सुधार कार्यालयमा खरिदार भएर काम गरे । नेपालगन्जमा एसएलसी परिक्षा दिए,उत्तीर्ण पनि भए । त्यसपछि २९ सालमा भुमिसुधारबाट राजिनामा दिए, अर्कोबर्ष शिक्षा आयोगमा नाम निकाले र पिपरीस्थित प्राथमिक स्कुलमा पुनः शिक्षण पेशासँग आवद्ध भए । डेढ दश निरन्तर शिक्षण पेशा अँगाले, यसैबीच राजनैतिक रुपमा आफ्ना गतिविधिमा सक्रिय भए । २०२४ सालमै तत्कालीन नेकपा मालेसँग आवद्ध भएका रावत ३६, ३७ सालको आन्दोलनमा भाग पनि लिए । भुमिगत रुपमा काम गरेका थिए ।

२०४६ पुस महिनामा गिरफ्तार परे । १८ दिन हिरासतमा बसे, त्यहाँबाट जेल चलान गरियो । क्रान्तिकारी बुद्धिजीवी संघमा संगठित थिए । बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएपछि पुनः उनको पनि पुनर्बहाली भयो २०४८ सालमा । त्यसपछि २०४९ को स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेले उनलाई कोहलपुर गाविस अध्यक्षका रुपमा अघि सारेको हो । यसरी राजनैतिक यात्रा अघि बढाएका नगरप्रमुख रावतलाई हामीले सोध्यौं–‘स्थानीय तहभन्दा माथि किन जान सक्नुभएन?’


‘मलाई प्रदेश सभामा जान पार्टीले अफर गरेकै हो ।’ उनले भने, ‘तर म मेरो जीवनकालमा कोहलपुरलाई सुन्दर नगरीका रुपमा विकास गर्न चाहन्छु, मलाई माथिल्ला पद हैन,यही जिम्मेवारीमा सन्तुष्ट छु ।’ यदाकदा कतिपयले उनको शैक्षिक योग्यता र उमेरका कारण उनको कार्यसम्पादनमाथि आशंका नगरेका पनि हैनन् । युवा स्पिरिट मनन गर्न नसकेको आरोप पनि लगाउँछन् आलोचकहरु । तर उनी दृढ छन् ।


हाइस्कुल तहसम्मको मात्र शैक्षिक योग्यता भएका नगरप्रमुख रावतले कोहलपुरलाई समृद्धिको बाटोमा लैजान दृढसंकल्प गरेका छन्, त्यो पनि आफ्नै पालामा । त्यसैले त मार्टिन लुथर किंगले भनेका छन् –‘सबै मानिस महान बन्न सक्छन् किनकी सबै व्यक्तिले सेवा गर्न सक्छन् । सेवा गर्नका लागि तपाईसँग कलेजको डिग्री हुनुपर्छ भन्ने छैन । सेवा गर्नका लागि व्याकरणको क्रिया र कर्ता वा गणितका सुत्रहरु जान्नैपर्छ भन्ने पनि छैन । आवश्यक पर्छ त सिर्फ दयाले भरिएको मन, प्रेमले परिपुर्ण आत्मा ।’


हो नि, नगर प्रमुख रावतसँग कलेजको डिग्री छैन होला । मार्टिन लुथर किंगले भनेझैं सेव ागर्नका लागि व्याकरणको क्रिया र कर्ता वा गणितका सुत्र पनि जान्नैपर्छ भन्ने छैन । तर उनीसँग कोहलपुरको समग्र विकासको हुटहुटी छ, समृद्धिको सपना छ । सेवाभाव छ । जुन पुरा गर्न स्वायत्त स्थानीय सरकार प्रमुखको हैसियतमा उनको दृढ इच्छाशक्ति काफी छ ।

प्रतिक्रिया

प्रतिक्रिया