सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य निक्षेपकर्ताहरुलाई फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको सरोकारवालाहरु बीचको छलफलमा सञ्चालक समितिले सम्पूर्ण रकम फिर्ताको प्रतिबद्धता जनाएको हो ।
‘म मंगलबारदेखि नै सरकारीको कार्यालय सञ्चालनमा ल्याएर रकम भुक्तानीका लागि पहल सुरु गर्छु’, दैनिक नेपालगन्जसँग कुरा गर्दै संस्थाका अध्यक्ष हरदेव बक्स चौधरीले भने, ‘बर्षौदेखि कर्मचारीले गर्दै आएको बदमासी पत्ता लगाएर मैले नै अनुसन्धान गरेको हुँ ।’ अध्यक्ष चौधरीले आफुले कसैको पनि रकम मर्न नदिन प्रतिबद्ध रहेको भन्दै कार्यालय सञ्चालनमा ल्याएर बिहीबारदेखि रकम भुक्तानी सुरु गर्ने बताए ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, सञ्चालक समिति, फरार कर्मचारीका आफन्त र प्रतिनिधिमूलक सेवाग्राहीहरुको संयुक्त छलफल गराई रकम भुक्तानीको सुनिश्चितता खोजिएको हो । ‘एक बर्षभित्र सम्पूर्ण रकम फिर्ता गर्ने कुराको सुनिश्चितता सञ्चालकहरुबाट प्रतिबद्धताका रुपमा आएको छ’, प्रहरी उपरीक्षक पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘एक लाखसम्मको डिपोजिट रकम माग्न आउनेलाई बिहीबारदेखि नै भुक्तानी गर्ने सहमति बनेको छ ।’ प्रहरी उपरीक्षक पौडेलले जनताको रकम डुब्न नदिने कुराको सुनिश्चितताका लागि आफुहरुले पहल गरिरहेको जानकारी दिए ।
सहकारीमा झण्डै २६ करोड रकम अपचलन भएको समाचार प्रकाशमा आएपछि निक्षेपकर्ताहरु रकम फिर्ता माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । ‘निकै मिहेनतले कमाएको पैसा डुब्ने जोखिम देखिएपछि फिर्ताका लागि प्रशासन गुहारेको हुँ’, २२ लाख बढी रुपैयाँ निक्षेप जम्मा गरेका नेपालगन्ज–१८ का रामु बर्माले दैनिक नेपालगन्जसँग भने, ‘प्रशासनले रकम फिर्ताको वातावरण बनाउने प्रतिबद्धता जनाएको छ ।’
संस्थाका नायब महाप्रबन्धक गंगाधर सुवेदी, बैंकिङ प्रबन्धक अरुण कुमार पाठक, कर्जा विभाग प्रमुख लिलाधर ओली र खजुरा शाखा प्रमुख सुरज कुमार विकको मिलेमतोमा झण्डै २६ करोड अपचलन गरिएको आरोप छ । फरार उनीहरु मध्ये खजुरा शाखा प्रमुख विक आफै प्रहरी कार्यालयमा उपस्थित भएर अपचलन गरेको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि उनलाई त्यसको सुनिश्चितताका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्य फरार कर्मचारीहरुको खोजी गरिरहेको प्रहरी सामु परिवारका सदस्यहरुले आफुहरुले रकम जम्मा गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । ‘अपचलन भएको रकम फिर्ता गर्ने लिखित कागज गराएको छु’, संस्थाका अध्यक्ष चौधरीले भने ।