नेपालगन्जमा पनि विकल्प आयुर्वेदिक

आयुर्वेदको क्षेत्रमा ख्याती कमाउँदै आएको विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रा.लि.ले नेपालगन्जमा पनि सेवा सञ्चालन गर्ने भएको छ । शनिबार बाँकेका पत्रकारहरुसँग भेटघाट गरी विकल्प आयुर्वेदका सञ्चालकहरुले मुलुकमै सबैभन्दा सस्तो र गुणस्तरीय आयुर्वेद सेवा दिनेगरी नेपालगन्ज शाखा सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।


चितवनको भरतपुरबाट सेवा सुरु गरेको विकल्पले भोलि सोमबारदेखि नेपालगन्जबाट विकल्प आयुर्वेद हेल्थ सेन्टरको बिस्तारित सेवा सुरु गर्न लागेको हो । ‘न्यूनतम शुल्कमा यो स्तरका सेवा मुलुकमा अरु कुनै आयुर्वेद औषधालयले दिन सकेको छैन’, विकल्पका सञ्चालक गोपाल प्रसाद आचार्यले भने, ‘खासगरी पञ्चकर्म सेवा विकल्पको एउटा विशेष आकर्षण हो ।’

पत्रकारहरुसँग कुरा गर्दै विकल्पका अध्यक्ष आकाश थापाले चितवन प्रधान कार्यालय रही काठमाडौं, धनगढी, पोखरा र घोराहीपछि नेपालगन्जमा शाखा स्थापना गर्न लागिएको जानकारी दिए । ‘विकल्पले आयुर्वेदको क्षेत्रमा आर्जन गरेको विश्वास नै महत्वपूर्ण कमाई हो’, नेपालगन्जमा शाखा बिस्तारको उद्देश्य प्रकाश पार्दै अध्यक्ष थापाले गुणस्तरीय उपचार सेवा दिने उद्देश्यका साथ आएको बताए ।


आयुर्वेद उपचार पद्धतिले मुलुकबाट करोडौं रुपैयाँ पूँजी पलायन रोक्ने मात्र नभई मानिसलाई भैरहेको आर्थिक नोक्सानी र शारीरिक हानीलाई पनि न्यूनीकरण गर्ने सञ्चालक आचार्यले जानकारी दिए । भोलि सोमबार नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रा.लि.को शाखा उद्घाटन र सेवा प्रारम्भ गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया

प्रतिक्रिया