सांसदलाई सोझै रकम नदेऊ

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सांसद विकास कोषका नाममा दिइँदै आएको रकमलाई नयाँ ढंगले परिचालित गर्नुपर्ने बताएका छन् । शनिबार नेपालगन्जमा पत्रकारहरुसँगको भेटमा नेकपाका वरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले सांसदका हातमा रकम जाँदा दुरुपयोग बढेको भन्दै सोझै सांसदले रकम परिचालन गर्ने कुरा बन्द गरिनुपर्ने बताएका हुन् ।
‘तर, सांसदहरुको जानकारी र योजनामा रकम खर्च गर्ने व्यवस्था हुनुपर्छ’, पूर्व प्रधानमन्त्री नेपालले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सांसदले रकम माग्नु स्वभाविक भएको भन्दै ‘सांसदलाई सिधै बजेट दिँदा भ्रष्टाचार बढेको’ टिप्पणी गरे । वरिष्ठ नेता नेपालले प्राथमिकताको आधारमा वजेट विनियोजन हुनुपर्ने धारणा राख्दै सरकारलाई ‘जनताको मत जित्ने परियोजना’ अघि सार्न सुझाव दिए ।


सरकार र विप्लव नेतृत्वको समूहबीच वार्ताको पक्षमा रहेका वरिष्ठ नेता नेपालले हतियारको राजनीति सम्भव नभएको प्रष्ट पारेका छन् । हतियारको राजनीति गर्ने दिन गइसकेको बताउँदै नेता नेपालले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीति त्यागेर शान्तिपूर्ण राजनीति गर्न आग्रह पनि गरे ।


वरिष्ठ नेता नेपालले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको धारणा राख्दै भने, ‘एउटा कम्युनिष्ट पार्टीले बहुमतको सरकार चलाइरहेका बेला सरकारका विरुद्ध हतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिष्ट पार्टी हुनै सक्दैन ।’ जनताका बीचमा राम्रो काम गर्न विप्लवलाई सुझाव दिंदै नेता नेपालले भने, ‘जनतामा चेनता जगाउनुस्, तर हरियार देखाएर जनतालाई तर्साउने काम नगर्नुस् ।’ उनले भर्खरै छिमेकी राष्ट्र भारतमा सत्तारुढ भाजपाले ल्याएको बहुमत तर्फ संकेत गर्दै भने, ‘जनताको मन जितेपछि चुनाव जित्न सकिन्छ ।’
प्रेस संगठन बाँकेले शनिवार पूर्व प्रधानमन्त्री नेपाल र बाँकेका पत्रकारहरु बीच भेटघाट कार्यक्रम गरेको हो । संगठनका नेता हेमन्त विकको अध्यक्षतामा भएको कार्यक्रम अर्का नेता कमल डाँगीले सहजीकरण गरेका थिए ।


पत्रकारहरुसँग खुलेर प्रस्तुत भएका वरिष्ठ नेता नेपालले मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने धारणा राखे । विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेको भन्दै नेता नेपालले सबैलाई मान्य हुनेगरी परिमार्जन गर्न सुझाव दिए । ‘विवादास्पदरुपमा विधेयक ल्याउने कुरा नहोस्, यसलाई सबैले अपनत्व महसुस गर्ने गरी अघि बढाउनुपर्छ,’ उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने सुझाव दिंदै भने, ‘प्रेस स्वतन्त्र हुनुपर्छ, कहीँकतैबाट प्रेसमाथि अङ्कुश लगाउने काम राम्रो होइन, यसतर्फ सरकारले ध्यान दिन्छ ।’


पत्रकारको प्रश्नमा पूर्व प्रधानमन्त्री नेता नेपालले तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्न बजेटका बारेमा विस्तृत छलफल गरेर जनताले नयाँ कुराको अनुभूति गर्नेगरी सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिए । परम्परागत ढङ्गले बजेट ल्याइए त्यसले जनआकांक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने उनको भनाइ थियो । नेता नेपालले ज्येष्ठ नागरिकलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता पार्टीको प्रतिबद्धता अनुसार बढाउँदै लैजान सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।


पार्टी एकताबारे सोधिएको प्रश्नमा वरिष्ठ नेता नेपालले आफु विधि र पद्धतिमा विश्वास गर्ने तर्क गर्दै विधि र प्रक्रियाकै कारण संगठन यहाँसम्म आइपुग्न ढिलो भएको बताए । ‘तर, जिल्ला जिल्लामा विधि मिचिएको गुनासो आइरहेको छ’, उनले भने, ‘यसखालका गुनासाहरु सम्बोधन गर्दै अगाडि बढ्नुपर्छ ।’


बाँकेमा पार्टी एकीकरणपछि बनेको जिल्ला कमिटिलाई सपथ ग्रहणका लागि वरिष्ठ नेता नेपाल नेपालगन्ज आइपुगेका हुन् । कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष आइपी खरेल, सचिव अशोक कोइराला लगायतका नेताहरु पनि सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया