नेपाल–भारतका सरोकारवालाबीच छलफल

लागुऔषध नियन्त्रणका लागि द्विदेशिया सञ्जाल

नेपाल–भारतमा हुने लागुऔषधको विकृति नियन्त्रणका लागि द्विदेशीय सञ्जाल गठन गरिएको छ । शनिबार भारतको रुपैडियामा दुवै देशका सरोकारवालाहरु बीचको छलफल पछि सञ्जाल गठन गरिएको हो ।


लागु औषधको समस्या कानुनी कारवाहीले मात्रै नियन्त्रणमा आउन नसकेपछि अन्य विकल्पहरुमा समेत सरोकारवालाहरुले प्रयास सुरु गरेका छन् । बाँकेमा जनचेतनादेखि पुनस्र्थापनासम्मको प्रयास भैरहेको हो । लागुऔषध नियन्त्रणका लागि प्रहरीले कारवाही, विद्यालय स्तरदेखि जनचेतनामूलक कार्यक्रम र लागुऔषध विरुद्धका अभियन्ताले सचेतना र उपचारात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् ।


लागुऔषध नियन्त्रणमा आउन नसक्नुको एउटा प्रमुख कारण भारतसँग खुला सीमानालाई पनि लिइएको हो । नेपालबाट भारत मादक पदार्थ, चरेश र भारतबाट नेपालमा ब्राउन सुगर, कोरेक्स, नाइट्रोजेपाम लगायतको कारोबार हुँदै आएको छ । सीमाका दुवै तर्फ लागुऔषधको कुलतमा युवाहरु फँस्दै गएका छन् । भारतीय र प्रहरी र नेपाल प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्दै आएपनि त्यसमा कमी भने आउन सकेको छैन ।


खुला सीमानाका फष्टाएको लागुऔषधको कारोबार नियन्त्रणका लागि शनिबार भारतको रुपैडिहमा नेपाल–भारतका प्रहरी, प्रशासन, नागरिक समाज लगायतले सामूहिक छलफल गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सहारा हाउसले छलफलको आयोजना गरेको हो । भारतको रुपैडिहामा रहेका मेडिकलहरुमा खुलेआम लागुऔषध बिक्री हुने गरेको तथ्य लुकेको छैन । ब्राउन सुगरपनि भारतबाटै नेपाल भित्रिने गरेको छ । त्यसैले त्यहाँको प्रहरी, प्रशासनलाई लागुऔषध नियन्त्रणमा प्रभावकारी भूमिका खेलोस् भन्ने ध्यानाकर्षणका लागि छलफलको आयोजना गरिएको सहारा हाउसका बोर्ड सदस्य समेत रहेका लागुऔषध विरुद्धका अभियन्ता रविन्द्र सिंह राठौंर ।


दुवै देशका प्रहरी अधिकारी, नागरिक समाज तथा सञ्चारकर्मीको उपस्थिति रहेको कार्यक्रममा जटिल बन्दै गएको लागुऔषध नियन्त्रणको उपायहरुबारे छलफल भएको राठौंर बताउँछन् ।
छलफलमा बोल्दै लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रहरी निरीक्षक वीर बहादुर थापाले लागुऔषधले युवाहरुमा पारेका नकारात्मक प्रभावबारे बालेको थिए । उनले प्रहरीले पक्राउ गरेका २ सय ९७ मध्ये २० जना भारतीय नागरिक रहेको बताएका थिए ।
भारतीय पक्षले छलफलमा नेपालबाट तस्करीबाट मादक पदार्थ र चरेश भित्रिने गरेको भन्दै त्यसमा निगरानी बढाउन आग्रह गरेका थिए । कार्यक्रममा डा. एशोसिएसनका अध्यक्ष डा. सनत कुमार शर्माले लागुऔषधले पार्ने नकारात्मक प्रभावबारे धारणा राखेका थिए । ‘उपचारका लागि बनाइएका औषधीहरु नशाका लागि प्रयोग भैरहेको छन्’, डा. शर्माले भने, ‘यसले मानिसको आर्थिक र सामाजिक जीवन बर्बाद गर्दैछ ।’


डा. शर्माले नेपाल–भारत दुवै देशका युवाहरुको जीवन नशाले बर्बाद गरिरहेको उल्लेख गर्दै दुवै देशका सरोकारवाला नियन्त्रणका लागि सक्रिय हुनुपर्ने धारणा राखेका थिए । केवलपुरका प्रधान प्रतिनिधि जुबेर फारुकीले रुपैडिहामा भैरहेको लागुऔषधको विरुद्ध आवाज उठाइरहेको जानकारी दिंदै भने, ‘नेपाली युवा, नेपाली पैसा नसामा बर्बाद भैरहेको छ ।’
एसएबी बीओपीका इन्चार्ज अरुण कुमारले १०–१५ बर्षका बालक समेत रुपैडिहामा लागुऔषध सेवन गर्ने आउने गरेको बताए । ‘जमुनाह चौकीमा यसको कडाईका साथ जाँच गरिनु आवश्यक छ’, उनले भने, ‘सीमामा हामीले धेरैलाई लागु औषध सहित समातेर जेल पठाएका छौं ।’
कार्यक्रममा दुवै देशका सरोकारवालाहरुले लागुऔषध विरुद्ध सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गर्दै सञ्जाल गठन गरेका थिए । भाजपा नेता रमेश कुमार अमलानीको उपस्थितिमा भएको कार्यक्रममा पत्रकार मनिराम शर्माको संयोजकत्वमा २१ सदस्यीय लागु औषध नियन्त्रण सञ्जाल गठन गरिएको हो ।


कार्यक्रममा रुपैडिहा थाना इन्चार्ज हर्षबद्र्धन सिंह, दीवान रविन्द्र मिश्र, रुपैडिहा उद्योग व्यापार संघका अध्यक्ष विजय कुमार मित्तल, महामन्त्री इमाम रिजवी, डा. उमाशंक वैश्य, नेपालगन्ज वडा प्रहरी प्रमुख नारायण डाँगी, जमुनाह प्रहरी चौकी इन्चार्ज बसन्त कुमार बस्नेत लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहारा हाउस नेपालगन्जका अध्यक्ष अभिराज क्षेत्रीले गरेका थिए ।


लागुऔषध नियन्त्रणका लागि सक्रिय हुने सञ्जालको बैठक सके मासिन नसके त्रैमासिक रुपमा अनिवार्य रुपमा गर्ने सहमति गरिएको छ । सञ्जालले लागुऔषध नियन्त्रणका लागि रणनीति बनाएर सुझाव दिने सहारा हाउसका रविन्द्र सिंह राठौंरले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया