बर्दियासँग पोखराको मितेरी

पर्यापर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहनलाल चौधरी र पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जीवि पोखरेलले मितेरी साइनो गाँस्दै


भावुक योगी
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र ठाकुरद्धाराबाट कार र्यालीमा निकिएको टोलीले पोखरामा मितेरी साइनो गाँसेका छन् । पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने आशा सहित पर्यापर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहनलाल चौधरी र पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जीवि पोखरेलले मितेरी साइनो गाँसेका हुन् ।
पोखराको लेकसाइडमा आयोजित एक भव्य अन्तरक्रिया कार्यक्रममा बर्दिया र पोखराको पर्यटन प्रर्वद्धन गर्न भन्दै दुबै जिल्लाका पर्यटन व्यवसायीका अध्यक्षले मितेरी साइनो गाँसेको होटल व्यवसायी बिना भट्टराईले बताउनुभयो ।
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि विकास लम्साल, प्रदेश सासंद राजिव पहारी, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने सहितको उपस्थिीमा दुई जिल्लाका पर्यटन व्यवसायीले पोखरामा पुगेर साइनो गासेपछी पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने बताईएको छ ।
प्रदेश नम्बर ५ ले लुम्वीनी भ्रमण वर्ष र गण्डकी प्रदेशले पोखरा भ्रमण वर्ष घोषणा गरेको अवस्थामा बर्दियाले नेपालमै पहिलोपल्ट बर्दिया भ्रमण वर्ष घोषणा गरेर पर्यटन प्रर्वद्धनका लागि कार र्याली गरि पोखरा पुगेर मितेरी साइनो गाँसेपछी दुई प्रदेशका जिल्लामा पर्यटक बढने अनुमान गरिएको छ ।


बुधवार विहान पोखरा पुगेको टोलीलाई पोखरामा भव्य स्वागत गरिएको थियो । बर्दिया पोखरा सम्पर्क मञ्चले भव्य स्वागत गरेका हुन् । कार र्यालीको टोलीलाई पोखरा बजार परिक्रमा गरिएको थियो । विहिवार विहान पोखरामा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि विकास लम्साल, प्रदेश सासंद एवं पोखरा पर्यटन परिषदका टोली संग बर्दियाको प्रर्यटन प्रर्वद्धनका विषयमा अन्तरक्रिया गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताउनुभयो ।
देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मुल नारा सहित २०७६ लाई बर्दिया भ्रमण बर्ष घोषणा पश्चात बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायीहरु पर्यटन प्रर्वद्धनका लागि आइतवार कार र्यालीमा निस्किएका हुन् । नेपाल भ्रमण बर्ष सन् २०२० र बर्दिया भ्रमण बर्ष २०७६ लाई सफल बनाउन बर्दिया निकुञ्ज आसपास क्षेत्रका पर्यटन व्यवसायि र संरक्षणकर्मीहरु आइतवार कार र्यालीमा निस्कीएका थिए ।
बर्दियामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरि बर्दिया भ्रमण बर्ष २०७६ भव्य रुपमा सम्पन्न गर्ने योजनाका साथ कार र्यालीको आयोजना गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार र्यालीको उद्धघाटन पश्चात आइतबार बिहान बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसर ठाकुरद्धाराबाट र्याली पुर्वतर्फ प्रस्थान गरेको टोली बुधवार विहान पोखरा पुगेको हो । कार र्यालीलाई बर्दियाको भुरिगाउँबाट प्रहरीले स्कटीङ गरेको थियो भने दाङ, बुटवल पाल्पा, पोखरा लगायत ठाउँठाउँमा प्रहरीले र्यालीलाई स्कटीङ गरि सहयोग पुर्याएको पर्यटन व्यवसायी मधुसुधन पोख्रेलले बताउनुभयो ।
बर्दिया भ्रमण वर्ष २०७६ का अवसरमा निस्किएको कार र्याली १२ वटा पर्यटकिय जंगल सफारी जीपमा ७१ जनाको टोली बर्दिया, बाँके, दाङ, हुँदै लुम्वीनी, बुटवल, पाल्पा, पोखरा देखि विहान हिँडेको कार र्याली तनहुँको बन्दिपुर पुगेको छ । र्याली सुक्रवार दिउसो चितवन पुग्ने जनाईएको छ ।


कार र्यालीमा निस्किएका टोलीले जिल्लाका प्रमुख बजार तथा चोकमा पोस्टर टाँस्दै बाघ लगायतका वन्यजन्तु र विभिन्न प्रजातीका चरा अवलोकनका लागि सबैलाई बर्दिया घुम्न आउन निम्तो समेत दिईएको पर्यटन व्यवसायी तथा चराविज्ञ रामबहादुर शाहीले बताउनुभयो ।
यस्तै सुक्रवार बेलुका चितवनका होटल तथा पर्यटन व्यवसायीसंग बर्दियाको पर्यटन प्रर्वद्धन विषयमा अन्तरक्रिया गरिने चिसापानी पर्यटन प्रर्वद्धन समितिका पुर्व अध्यक्ष तथा कार र्याली समन्वय उप समितिका संयोजक कृष्ण प्रसाद भट्टराईले बताउनुभयो ।
माघ १ गते बर्दियाको ठाकुरद्धारामा आयोजना गरिएको बर्दिया माघी महोत्सवको उद्घाटन समारोहमा देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मुल नारा सहित २०७६ लाई बर्दिया भ्रमण बर्ष घोषणा गरिएको थियो ।
ठाकुरबाबा नगरपालिका, नेपाल पर्यटन वोर्ड र पर्यापर्यटन विकास मञ्चको आर्थिक सहयोगमा निस्किएको कार र्याली १२ गते बर्दियाको सदरमुकाम गुलरिया पुगेर समापन गरिने बर्दिया टाइगर रिसोटका प्रवन्धक रेशम थापाले बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लाकै मुख्य पर्यटकिय गन्तब्य हो । निकुञ्ज भ्रमण गर्दा जंगल पदयात्रा, जीप सफारी, हात्ती सफारी, जलयात्रा, क्याम्पिंग, फिसिंग, थारु सांस्कृतिक नाच, थारु समुदायको मौलिक परिकारहरु, आदीको अवलोकन गर्न सकिन्छ ।
बर्दियामा पछिल्लो समय बाघको संख्या बढेसंगै बाघ हेर्न बर्दिया आउने पर्यटकको संख्या समेत बढ्दो छ । आन्तरीक तथा बाह्य पर्यटकहरु बाघ हेर्न चितवन पछि बर्दिया आउने परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८७ वटा बाघ रहेका छन् ३७ वटा एकसिँगे गैँडा छन भने १ सय बढि हात्ती रहेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जलाई नेपालमा मात्रै नभएर विश्वभर चिनाउन पर्यटन व्यवसायी र संरक्षणमा आवद्ध संरक्षणकर्मीहरुले महत्वपुर्ण योगदान पुर्याएका छन् । देशको शान, अन्तराष्ट्रिय पहिचान बोकेको बर्दिया निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तुहरु र थारु समुदायको मौलिक संस्कृतिको जगेर्ना गर्न संरक्षण र पर्यटन सबैले बुझ्न जरुरी रहेको छ ।

मितेरी साइनो गाँसेपछी आजकै दिनदेखि पोखराका पर्यटकलाई बर्दियासम्म पठाउन सहयोग गर्ने र बर्दियाका पर्यटकलाई पोखरासम्म पठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साइनो गासेसंगै आफुहरुले आन्तरिक तथा वाह्य पर्यटकलाई बर्दिया पुर्याउन सहयोग गर्ने समेत पोखराका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।


यस्तै बर्दियाको ठाकुरद्धारा देखि पोखरा र पोखरा देखि ठाकुरद्धारासम्म आउजाउ गर्न पर्यटकका लागि सुबिधा सम्पन्न पर्यटक बस सेवा संचालन गर्ने समेत जनाईएको छ । बर्दिया र पोखराका २० जना व्यवसायीहरुले टि ट्वान्टी टुर्स एण्ड टाभल्स मार्फत सुविधा सम्पन्न पर्यटक बस एक महिना भित्रै देखि संचालनमा ल्याईने बर्दिया पोखरा सम्पर्क मञ्चका सल्लाहकार मेघमान श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया