दुई महिना अघि दैनिक नेपालगन्जको कार्यालय जाँदै गर्दा बाटोमा एउटा दृश्यले लोभ्यायो, ‘ल्यापटप रिपियर हाउस’को होडिङ बोर्ड । पसलको अगाडी पार्किङ गरिएको कार । पसलको ¥याक भरी सजिएका ल्यापटप । मर्मत गर्न राखिएको ल्यापटपको ठुलो थुप्रो । छेउमा केही काम गर्ने सहयोगी अनि ल्यापटप मर्मत गर्न तन्मय भएर लागेका बर्ष २९ का अफजल शेख दृश्यमा थिए ।
यस्तै लोभलाग्दो दृश्यको परिधिमा रहेका नेपालगन्जका युवापुस्तालाई दैनिक नेपालगन्जका अक्षरहरुमा सजाउनु थियो । त्यसको केही दिन पछि उनै अफजल संग बिगत, बर्तमान अनि भबिष्यका कुराहरु गर्ने मौका मिल्यो । मासिक लाखौं कमाई, गाडी, पसलभरी सजिएका ल्यापटपका थानले छेकेको उनको बिगत धेरै फरक थियो । जुन मेरो मस्तिष्कबाट हट्न सकेको थिएन ।
प्लसटु पढ्दै देखि मनमा आफ्नै ब्यवसाय सुरु गर्ने हुट्हुटिले प्लस टु पास गरे पछि साझेदारीमा कम्प्युटर मर्मत तथा बिक्री गर्ने ध्येयले अफजल शेख ब्यबसायमा छिरे । तीन महिना नबित्दै उक्त ब्यबसाय धराशयी बन्यो । सानो उमेरमा ठूलो सपना लिएर घरबाट अनेकन जुक्ति र जिद्दीले पैसा निकालेर सुरु गरेको ब्यबसाय तीन महिनामै तीन लाख लगानी डुबाएर बन्द भयो । मध्यम वर्गीय परिवारका अफजलका लागि त्यो उमेरमा तीन लाख डुबाउनु चानचुने कुरा थिएन । कम उमेरमैं ब्यवसायमा हामफालेका नेपालगन्ज गणेशपुरका अफजल त्यसपछि भने एकाएक हराए । कारण थियो ‘असफलता’ । उनले जानी नजानी आइटी क्षेत्रमा हात हालेका थिए । असफलताको नमिठो स्वाद पछि उनी दिल्ली पुगेर एक बर्ष गुमनाम भएर ल्यापटप मर्मतको कोर्स पूरा गरे । अनि फर्किए नेपालगन्ज, बिगतलाई सच्याउन ।
‘दिल्ली पुग्दा सम्म तनाबमा थिए, व्यवसाय बन्द भएपछि त्यत्रो पैसा डुब्नुको पीडा थियो । आइटी मैं केही गरेर देखाउछु भन्ने लाग्यो । त्यसैले चिप लेभलको ल्यापटप मर्मत कोर्स पढ्न सुरु गरेको थिए ।’ उनी आफ्नो बिगत सम्झिन्छन । आफ्नो बिगत बताउदै गर्दा अफजलमा छुट्टै छुट्टै उर्जा संचार भएको महसुस गर्न सकिन्थ्यो जब उनी नेपालगन्ज फर्किए, बर्ष दिनमै धेरै कुरा बद्लिएको पाए । अफजलले जतिबेला आफ्नो पसलको सटरमा ताल्चा मारेका थिए , त्यति बेला सम्म डेस्कटप कम्प्युटरकै बिगबिगी थियो । टेक्नोलोजीले थोरै समयमै यसरी फड्को मार्यो कि हरेक घर र कार्यालयमा ल्यापटप अनिवार्य जस्तै बन्यो । अनि सुरु भयो अफजलको सफलताको कथा ।
उनी दिल्लीबाट फर्किदा सम्म काठमाडौं र नेपालका गिनेचुनेका शहर बाहेक अन्य ठाउँमा ल्यपटपको चिप लेभलको मर्मत कार्य गरिदैनथ्यो । त्यसैको फाइदा उठाए अफजलले । सुरुका दिनमा घरकै कोठालाई कार्यथलो बनाएका उनले सफलता आफ्नो पोल्टामा पार्न भने कम मेहनत गर्नुपरेन । काम गर्न सक्छु भनेर बिश्वास दिलाउन उनको लागि फलामको चिउरा चपाउनु जस्तै थियो ।
‘काम जनेको छु, गर्न सक्छु भन्दा पनि बिश्वास गर्ने कम थिए । सन्देह गर्ने मात्रै भेटे । हरेक कम्प्युटर पसल र मर्मत पसलमा धाउन थाले । नेपालगन्ज देखि नजिकका आसपासका पहाडी जिल्लाहरुमा घुम्न थाले र त्यहीँका कम्प्युटर तथा ल्यापटप मर्मत पसलहरु संग सम्पर्क बढाउदै गए । उनिहरु संग आएको चिप लेभलको काम मैले लिन थाले’ अफजल बताउछन् ।
२०७० बाट आफ्नो सुत्ने कोठा देखि सुरु गरेको ब्यवसायको दोस्रो इनिङलाई नेपालगन्जको मुटु सेतु बिक चोकमा ल्यापटप रिपियर हाउस नामले ल्यापटप मर्मत, खरिद तथा बिक्रीको लागि एकमात्र विकल्पको रुपमा स्थापित गरेका अफजललाई त्यसपछि काम र दामको लागि कहिल्यै पछाडि फर्किनु परेन । सायद अब पनि पर्दन, शुभकामना !
नेपालगन्ज आसपासका २५/३० जिल्लाबाट ल्यापटप रिपियरका लागि उनैको मा आइपुग्छन । कुरियर कम्पनी मार्फत नै उनको ब्यवसाय चलेको छ भने एक बर्ष अगाडी मात्रै मोटर पार्टस र वर्कसप व्यवसायमा समेत लगानी गरेका छन् ।
सधै जसो व्यवसायको सेरोफेरोमा बेस्त रहने अफजलको दैनिकी आजभोलि थोरै बदलिएको छ । मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमदानले गर्दा । रोजा राख्छन् अनि साझ इफ्तारिको तयारिमा जुट्छन ।
’रमदानको पवित्र महिना हो रोजा राखेको छु , त्यसैले बाहिर भागदौड गरेको छैन , साझ इफ्तारिको तयारी गरिन्छ अनि साथी भाइ र परिवार संगै मिलेर इफ्तारी गर्छौ ।’ अफजल बताउछन् ।
यो रमदानको पवित्र महिनामा आफ्नो कमाईको केही हिस्सा दान गर्नु पर्छ भन्ने मान्यता छ त्यही अनुरुप अफजल पनि आफ्नो कमाईको केही हिस्सा गरिबमा बाड्ने बताउछन् । हरेक रमदानमा गरिब , असाहाय र दिनदुखीहरुलाइ सहयोग गरेको छु र गर्नै पर्छ पनि । उनी बताउछन् ।
सुत्ने कोठा देखि देखि सुरु भएको व्यवसायको दोस्रो इनिङको करिब सात बर्ष पुग्नै लाग्दा उनी निकै नै महत्वाकांक्षी योजनाको तयारिमा छन् । ल्यापटप रिपियर र बिक्री गर्दै आएका अफजल नेपालगन्जमै ल्यापटप एसेम्बल गर्ने योजनामा छन् ।
’ल्यापटप एसेम्बलको काम नेपालगन्जमै गरेर नेपालगन्ज र नेपालको विभिन्न शहरमा सप्लाइ गर्ने योजमा छु त्यसैको लागि दुई चार पटक दिल्ली र लखनउको भ्रमण समेत गरिसके । यदि नेपालगन्ज मै ल्यापटप एसेम्बल गर्न सक्ने हो भने ल्यापटपको मुल्यमा समेत धेरै अन्तर आउने छ अनि केही रोजगारी समेत सृजना हुनेछ । उनी आफ्नो भबिस्यको योजना सुनाउदै भन्छन् ।