महानगर गाथा

टीएस ठकुरी

कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य । तर सही समयमा सही निर्णय लिंदा उनीहरु असाधारण बन्छन् । यो पनि एउटा कला हो । सायद सावित्रा बस्नेतलाई यो कला थाहा छ । त्यसैले त उनी सामान्य हुँदाहुँदै असाधारण बन्न पुगेकी छिन् । पढाउने उनको मुल पेशा हो । यद्यपी पढाएर जिविकोपार्जन गर्नेहरुका भिडमा उनको पहिचान पृथक छ । प्राध्यापन पेशामा प्रवेश गरेको करिब अढाई दशकको यात्रामा उनले स्थापित उद्योगपतिको परिचय तयार गरिसकेकी छिन् । उनी महिला उद्यमीहरुकी नेता समेत हुन् ।


साविकको मध्य तथा सुदुरपश्चिमको सबैभन्दा पुरानो महेन्द्र बहुमुखी क्याम्पसको प्राध्यापन पेशा उनको खास दैनिकी हो । नेपाल परिचय पढाउँछिन् । हरेक बिहान उनी क्याम्पस जान्छिन् । दिनभरको समय आफ्नो उद्योगमा समय दिन्छिन् । त्यसैले उनको परिचय उद्योगपति पनि हो । पछिल्लो समय महिला उद्यमीलाई संगठित गर्ने अभियानमा पनि उनको सक्रियता त्यत्तिकै लोभलाग्दो छ । ‘गाउँ गाउँ पुगेर महिला उद्यमी दिदी बहिनीलाई एउटा छातामुनि राख्न सफल हुँदै गएका छौं ।’ उनी सुनाउँछिन् –‘सायद अब सबै महिला उद्यमीमा चेतनाको स्तर उठ्दै गएको छ ।’


उनी महासचिव रहेको नेपाल महिला उद्यमी संघले नेपालगन्जमा पहिलोपल्ट कोसेली घर खोलेको छ । जहाँ स्थानीय उत्पादनलाई प्रवद्र्धन गरिन्छ । यस कोसेली घरबाट स्थानीय उत्पादन प्रवद्र्धन हुनेमा सावित्रा लगायत दर्जनौं महिला उद्यमी आशावादी छन् । एपीजे अब्दुल कलामले भनेझैं जसले महान सपना देख्दछन्, उनीहरुको सपना अवश्य पुरा हुन्छ । हो, संसार सपना देख्नेहरुकै लागि हो । जसले सपना देख्यो, उ सफलताको शिखर चढ्यो । सावित्राले पनि नेपालगन्जमा पाइला टेक्नेबित्तिकै त्यस्ता सपना देखिन्, त्यसलाई साकार पार्न अहोरात्र खटिन् । मेहनत गरिन्, परिश्रम गरिन् । कलामले भनेका छन् सपना त्यो हैन जो निदाएको बेला देखिन्छ, सपना त त्यो हो जसले तपाईंलाई निदाउन दिंदैन ।

सावित्रीलाई पनि सपनाले पछ्यायो, निद नलाग्नेगरी । उनी संघर्षबाट कहिल्यै डराइनन् । उनलाई काँधमा काँध दिने उनका श्रीमान् अशोक बस्नेत साथमंै थिए । जो आफैंमा नाम चलेका प्राध्यापक हुन् । त्यो भन्दा अर्को परिचय अडिट फर्म सञ्चालक । उनी नाम चलेका अडिटर हुन् । उनीहरु दुवैजना महेन्द्र बहुमुखी क्याम्पसमा पढाउँछन् बिहानको समय । दिनभर एक जनाले अडिट फर्मको सुपरिवेक्षण गर्छन्, अर्कोले उद्योग । अंकुर पेट प्रिफर्म उद्योग र अंकुर टेप्स एण्ड भल्ब्स इन्डस्ट्री । अंकुर टेप्स एण्ड भल्बको मुख्य संचालिका सावित्री नै हुन् । अंकुर पेट प्रिफर्ममा पनि मानव संशासन विभाग सावित्रीले नै हेर्ने गरेकी छन् । यस उद्योगले पिउने पानीको धारा सम्बन्धि सामग्री उत्पादन गर्दछ । अंकुर ब्राण्डका नामले बजारमा पुग्छ । अंकुर पेट प्रिफर्मले पिउने पानीको बोतल, ढक्कन, जार लगायत उत्पादन गर्दछ । यी दुवैले ठुला उद्योगको आकार ग्रहण गरिसकेका छन् ।


सामान्य जागिरे जीवन व्यतित गर्नका लागि नेपालगन्ज आएका यी दम्पत्तिको संघर्ष र सफलताको कथा अलग छ । अशोक बस्नेत इलामबाट झापा हुँदै २०४८ सालमा नेपालगन्ज पाइला टेकेका थिए । सावित्री ओखलढुंगाबाट झापा हुँदै नेपालगन्ज आएकी थिइन् २०५१ सालमा । त्यो पनि नयाँ जीवनको सुरुवात गरेर । भन्नुपर्दा अशोक र सावित्रीको दोस्रो इनिङ २०५१ मा सुरु भयो । सावित्री भर्खरै मास्टर्स सकेर बसेकी थिइन् । पारिवारिक सल्लाहमा विवाह भयो । उनले अध्ययनकै क्रममा नेपालगन्जमा गगनगन्जको नाम सुनेकी थिइन् । त्यहाँ वादी समुदायको बस्तीका बारेमा उनी जानकार थिइन् । तसर्थ उनको इच्छा वादी समुदायमाथि थेसिस लेख्ने थियो, नेपालगन्ज आउनासाथ थेसिस सुरु गरिन् वादी समुदायको बिषयमा । यत्तिकैमा क्याम्पस पढाउने अवसर पनि पाइहालिन् ।

२०५२ साल माघदेखि नेपाल परिचय पढाउन सुरु गरेको उनी बताउँछिन् । यसैबीच २०५३ सालदेखि अशोकले अडिट काम सुरु गरे । ठुलो छोरो पनि यही साल जन्मियो । सावित्रीले २०५५ पुस १५ गतेसम्म मात्र पढाइन् । २०५८ साल माघ १ गतेदेखि मेची क्याम्पसमा करार प्राध्यापकका रुपमा नाम निकालिन, र उता लागिन् । यता २०५८ सालमा अशोक सर स्थायी भए । यस बर्ष सानो छोरो जन्मियो । एके कम्पनीले पनि गति समातिसकेको थियो । उनले मेची क्याम्पसमा पढाउँदै गर्दा २०६४ सालमा स्थायी भइन् । ६५ सालमा सरुवा भएर फेरि नेपालगन्ज आइन् । सामाजिक विज्ञान विभागको विभागिय प्रमुखका जिम्मेवारी नै पाइन् । अहिले पनि बिहान ६.३० देखि ९ बजेसम्म क्याम्पसमा पढाउँछन् दुवैजना । त्यसपछि घरमा खाएर खाना बनाइ खाइ उद्योगको काम सम्हाल्न पुगिहाल्छन् । ‘सर फ्याक्ट्री जाँदा, म अडिट हेर्छु । सर, अडिट फर्ममा हुँदा म फ्याक्ट्री पुग्छु ।’– उनले भनिन् ।


उनले उद्योगमा मानव संशाधन विभाग हेर्छिन् । त्यहाँ ८० जना कामदार छन् । यता एके कम्पनीमा १५ जना कर्मचारी रहेको उनले जानकारी दिइन् । जहाँ अंकुर उद्योग छ, त्यहाँ पहिले कत्था फ्याक्ट्री थियो । भारतीय साझेदारहरुसँगको सहकार्यमा सामुहिक लगानीमा कत्था उद्योग खोलेका थिए । २०६७ सालमा त्यो बन्द हुने अवस्थामा पुग्यो, त्यसपछि साझेदारहरुले हात झिके । सबै अचल सम्पत्तिको मुल्यांकन गराइयो । त्यसलाई अशोकले सकारे । अब अचल सम्पत्ति एकल भयो । त्यहींबाट सुरु भयो अंकुर । पहिलो बर्ष पानीको बोतल, ढक्कन आदि बनाउन सुरु गरे । २४ घण्टामा एक टन उत्पादन क्षमता रहेको सावित्रीले बताइन् । अर्को बर्षदेखि खानेपानीका धाराका सामग्री उत्पादन सुरु गरे ।


एकातिर पेशागत जिम्मेवारी निर्वाह गर्दै यात्रा अघि बढ्यो, अर्कोतर्फ उद्योग पनि स्थापित भयो । तर, समाजमा अलग पहिचान स्थापित गर्ने हुटहुटी बढिरह्यो । यसका लागि उपयुक्त अवसर देखियो महिला उद्यमी संघ । सोचे जस्तै, खोजे जस्तै । पाँच बर्षअघि सदस्यता लिइन् । त्यसपछि यसमा पनि उनको यात्रा अघि बढ्यो । गाउँ गाउँ पुगे । महिला उद्यमीहरुलाई संगठित गर्दै अघि बढे । संघलाई स्थापित गर्न आर्थिक रुपले मजबुत बनाउनुपर्ने सोंच पनि आयो । पहिलोपटक २०७२ सालमा प्रदर्शनी मेला सुरु गरे । विनय रस्तोगीको पासाङ ल्हामु मार्गस्थित नीजि घरको परिसरमा । दोस्रो बर्ष पनि त्यहीं भयो मेला । होली उत्सव तथा महिला उद्यमी मेलाका नाममा । यतिबेलासम्म महिला उद्यमी संघले आकार फराकिलो पारिसकेको छ । ३५ जना सदस्य छन् । कोसेली घर सञ्चालन गर्न सक्षम भएकाछन् । ‘सगरमाथा चढ्न होस् अथवा करियरमा सफलता प्राप्त गर्न, तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ,’ एक विद्वानले कतै भनेका छन् । सावित्री यस भनाइमा पुर्ण सहमत छिन् । उनी पनि साहस र शक्ति बटुलेर निरन्तर अघि बढिरहेकी छिन् ।

प्रतिक्रिया

प्रतिक्रिया