नेपालगन्ज : सञ्चालनको तयारीमा ‘फन पार्क’

३५ करोड प्रारम्भिक लगानीमा तयार हुँदै गरेको फन पार्कसँगै अर्को नयाँ योजना तयारी सुरु गरिसकिएको मानसरोवर होलिडे इनले जनाएको छ

नेपालगन्जलाई महानगरीय उचाई दिन एकसाथ तीन वटा बृहत लगानीका फन पार्क तयार हुँदैछन् । नेपालगन्जमा निर्माण भैरहेका तीन वटै फन पार्क मध्ये मानसरोवर होलिडे इन प्रालिले आगामी असारबाटै सञ्चालनमा ल्याउने गरी ‘ह्याप्पी वल्र्ड वाटर फन एण्ड एम्युजमेन्ट पार्क’ काम अन्तिममा पुर्याएको जनाएको छ ।


‘बैशाखबाटै सञ्चालन योजना हो’, सोमबार निर्माण स्थल हवल्दारपुरमा योजना नियाल्दै गरेका ह्याप्पी वल्र्डका सञ्चालक विजय भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘असार १५ भन्दा पछाडि नजाने गरी सञ्चालन तयारीमा जुटेका छौं ।’


कैलालीका प्रतिष्ठित उद्यमी दिनेश भण्डारीको अध्यक्षतामा नेपालगन्जका करिब २० जना अगुवा व्यवसायीहरु संगठित भई मानसरोवर होलिडे इन स्थापना गरेका हुन् । ‘३५ करोडको प्रारम्भिक लगानीमा वाटर फन पार्क तयार हुँदैछ’, तीन विगाह क्षेत्रफलमा विशाल संरचना तयार भैसकेको देखाउँदै सञ्चालक भण्डारीले भने, ‘बालबालिकाका लागि छुट्टै पार्क तयार भैरहेको छ ।’

‘त्यससँगै पुल पार्टीदेखि म्यारिज सेलिब्रेसनसम्मका आयोजनाका लागि हल लगायतका संरचना पनि तयार हुनेछन्’, भण्डारीले रेष्टुरेन्ट, गेष्ट हाउस जस्ता नयाँ योजना पनि सुनाउँदै भने, ‘अर्कोतिर थप तीन विगाह जग्गा लिजमा लिएर नयाँ अवधारणामा काम अगाडि बढाइसकेका छौं ।’ सँगै खटिएका अर्का सञ्चालक निरज गौतमले नेपालगन्ज महानगरको गौरवको रुपमा ह्याप्पी वल्र्ड फन एण्ड एम्युजमेन्ट पार्क सञ्चालनमा ल्याउने जानकारी दिंदै भने, ‘ढुक्क हुनुस् नेपालगन्जमा एउटा यस्तो गन्तव्य तयार हुँदैछ जहाँ सिङ्गो परिवार गएर घण्टौं समय बिताउँदा पनि पत्तै हुँदैन ।’


झण्डै ९० प्रतिशत काम पूरा भैसकेको जानकारी दिंदै सञ्चालक भण्डारीले मुलुकमै उत्कृष्ट फनपार्कहरु मध्ये ह्याप्पी वल्र्ड वाटर फन एण्ड एम्युजमेन्ट पार्क दर्ज हुने विश्वास व्यक्त गरे । ‘यसले महानगरको दौडमा रहेको नेपालगन्जलाई कोहलपुरसँग जोड्ने मात्रै होइन एकाकार बनाउँछ’, युवा उद्यमी भण्डारीले उत्साहित हुँदै भने, ‘गोवा वा बैंककको जस्तो वाटर फन मस्तीका लागि अब धेरै दिन पर्खनु पर्दैन ।’







प्रतिक्रिया

प्रतिक्रिया