भारतमा रारा चिनाइँदै, ‘दिल्ली–रारा–दिल्ली’ प्याकेज

‘यो एउटा एडभेन्चर हो,’ दिल्ली– रारा– दिल्लीको पहिलो टोलीलाई विदाई गरेपछि उत्साहित युवा उद्यमी देवानन्द अर्यालले दैनिक नेपालगन्ज सँग भने, ‘पर्यटकीय यात्राका सौखिनहरुका लागि यो सुखद नभएर साहसिक यात्रा हो ।’


बाँकेको कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजाको पहलमा भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित ट्राभल एजेन्सी वल्र्ड अफरोड ओभरल्याण्ड एडभन्चरले ‘दिल्ली–रारा–दिल्ली’ बाइरोड रारा यात्रा थालिएको हो । भारतबाट विश्व साहसिक यात्रामा कहलिएको प्रतिष्ठित ट्राभल एजेन्सी वल्र्ड अफरोड ओभरल्याण्ड एडभन्चर (वो)सँगको सहकार्यमा होटल सेन्ट्रल प्लाजाले उक्त साहसिक यात्रा प्रारम्भ गरेको हो । ‘भारतमा रारा चिनाउने अभियान हो,’ धर्तीकी अप्सरा उपनाम पाएको सुन्दर रारामा भारतीय पर्यटक भित्र्याउन गरिएको एक वषदेखिको प्रयास सफल भएपछि हर्षित होटल सेन्ट्रल प्लाजाका प्रवन्ध निर्देशक अर्यालले यसमा व्यवसायीले नाफा भन्दा सोंचको प्रभावकारिता हेर्नुपर्ने बताए । ‘यो अमेजिङ कुरा हो, प्रभाव चाहिं विस्तारै आउँछ,’ अर्यालले भने, ‘कुरा नाफाघाटाको होइन, यसमा हामीले भन्दा रारासम्म पुग्दा धेरैले कमाउन सक्छन्, समग्रमा देशले कमाउने कुरा हो ।’

नेपालगन्जबाट भारतको नयाँ दिल्लीसम्म हवाई सम्पर्क कायम गर्न पर्यटन व्यवसायीहरुले पटक पटक माग गरेपनि सफल हुननसकेकै बेला भारतको दिल्लीबाट नेपालको रारातालसम्म सडक मार्फत नै पहिलो पटक सोझो सम्पर्क जोडिंदा सकारात्मक उत्साहको सञ्चार भएको छ । दिल्ली–रारा–दिल्लीको सात दिने टुरका लागि वल्र्ड अफरोड ओभरल्याण्ड एडभन्चरका प्रबन्ध निर्देशक विशाल गोयल र होटल सेन्ट्रल प्लाजाका प्रवन्ध निर्देशक देवानन्द अर्यालविच औपचारिक सम्झौता भएपछि यसैसाता यात्रा सुरु भएको हो । ‘पहिलो पटक राराको सम्बन्ध सडकमार्फत नै भएपनि सोझै भारतको राजधानी दिल्लीसंग जोड्न पाउनु पर्यटन व्यवसायका लागि ऐतिहासिक हो,’ होटल सेन्ट्रल प्लाजाका प्रवन्ध निर्देशक अर्यालले भने ।


१७ जनाको जोडीलाई लिएर शुक्रवार बेलुकी कोहलपुर आएको भारतीय पर्यटकको पहिलो टोली शनिवार नेपालगन्जबाट राराका लागि प्रस्थान गरेको छ । पर्यटन टोलीको स्कटिंगका लागि होटलले अगाडी १ र पछाडी १ गरेर २ वटा गाडी पठाएको छ । एकजना वरिष्ठ कर्मचारीलाई समेत संगै पठाएको छ । ‘टिमसँग मेडिकल देखि मेन्टिनेन्स, सुरक्षा देखि रेस्क्यु सम्मका विज्ञ पठाइएको छ,’ अर्यालले भने, ‘वास्तवमा यो हाम्रो पनि इन्ट्रान्स हो ।’ नेपालगन्जदेखि जीप र मोटरसाइकलमा रारा यात्राको परिकल्पना गरिरहेका अर्यालले भने, ‘मानिस ज्इाननै जोखिममा पारेर सगरमाथा किन चढ्छ ? हो, यसखालका यात्राका स्वाद बेग्लै हुन्छ र पारखी पनि बेग्लै हुन्छन् ।’


राराको पहिलो टोलीमा वल्र्ड अफरोड ओभरल्याण्ड एडभन्चरका प्रबन्ध निर्देशक विशाल गोयल र प्रमुख इन्जिनियर ग्रिस भाट पनि सहभागी रहेको अर्यालले जानकारी दिए । आठ वटा गाडीमा आएको १७ जनाको टोलीलाई कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा स्वागत गरेर शनिवार विहान राराका लागि पठाइएकोमा सुर्खेतमा समेत ती पर्यटकहरुलाई कर्णाली प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाले स्वागत गरे ।


अर्याल भन्छन्, ‘दिल्लीबाट सुरु भएर रारा पुग्ने टुर प्याकेज राराको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिस्तरको रोड ट्रिप हो, यसअघि आन्तरिक पर्यटकहरू गाडीबाट रोड ट्रिपमा गए पनि भारतबाट वाइरोडको ट्रिपमा गाडीकै यात्रामा रारासम्म गएको पहिलो पटक यही ट्रिप नै हो ।’ गाडीबाट नेपालका विभिन्न पर्यटकीय स्थानमा अवलोकन गर्न सकिने सकारात्मक सन्देश दिनुका साथै यो यात्राले पश्चिम नेपालको पर्यटन व्यवसायमा कोषेढुंगा सावित हुने उनको अपेक्षा छ ।


दिल्लीबाट गाडीमा हिडेको सो टुरिष्ट टोली दोस्रो दिन कोहलपुर पुगेर बास बस्ने तेस्रो दिन सुर्खेत हुँदै कालिकोट पुगेर बास बस्ने तथा चौथो र पाँचौ दिन रारामा बास बसेर छैठौं दिन कोहलपुर बास बस्न आई सातौंदिन पुनः दिल्ली पुग्ने तालिका बनाइएको छ । ‘यस वर्षको सिकाइबाट यात्रालाई अझ प्रभावकारी कसरी बनाउने भन्ने प्लानिङ गरिनेछ, पहिलो रारा टिम फर्काइको पर्खाइमा रहेका अर्यालले भने, ‘यसको सफलतासँगै अबको जाडोदेखि मासिक कम्तिमा दुई ट्रिप भारतीय पर्यटक दिल्ली–रारा– दिल्लीका हुनेगरि योजना बनाइएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया