दानको पर्व रमजान

इस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजान चलिरहेको छ । रमजान सकिए लगत्तै सबैभन्दा ठूलो पर्व ईद मनाउने गरिन्छ । रमजानको महिनामा इस्लामिक धर्मावलम्वीहरुका लागि विशिष्ट पक्ष छ । इस्लाम धर्ममा पाँच महत्वपूर्ण खम्बाहरु छन् । जसमा जकात (दान) पनि एउटा हो । यसलाई इमानका साथ पालना गर्ने हो भने मुस्लिम समुदायमा गरिबी भन्ने शब्द विरानो हुन्छ । खासगरी चल पू“जीको साढे २ प्रतिशत जकात र प्रति व्यक्ति फितरा दिनु पर्ने इस्लामिक धार्मिक कानुनले व्यवस्था गरेको कुरा अत्यन्तै महत्वपूर्ण छ ।


‘इश्वरले सबैलाई समान देख्न चाहन्छन् । इश्वरको चाहनालाई पूरा गर्न उनीद्वारा सिर्जित मानव सभ्यताले सहयोग गर्नुपर्छ’, हाजी सकिल अहमद कादरी भन्छन्, ‘त्यसैले नै वैज्ञानिक ढंगले इस्लाम धर्ममा जकात र फितराको व्यवस्था गरिएको हो ।’


नेपालगन्जमा मात्रै इमानका साथ जकात र फितरा छुट्टयाएर गरिबीको रेखामूनि रहेका मुसलमान दाजुभाइकै लागि प्रदान गर्ने हो भने एउटा विशिष्ट परिस्थितिको सिर्जना हुन्छ । यसले समुदायका सबैलाई समृद्ध बनाउन सक्छ । धार्मिक व्यवस्थाले साम्प्रदायिक घेरा बनाएको हु“दैन । त्यसैले नै जकात र फितरा पनि गैर मुस्लिमका हातमा स्वभाविक ढंगले पुगेको हुनसक्छ । ‘जकात र फितरा असहाय र गरिबहरुलाई सहयोग पुगोस् भनेर धार्मिक ग्रन्थमा नै उल्लेख गरिएको हो’, हाजी कादरी भन्छन् ।


जकात र फितरा (दान)लाई विशिष्टतालाई वैज्ञानिकिकरण गर्दै सामूहिक कोषको निर्माण गरी नियमन गर्ने व्यवस्था गर्न सक्ने हो भने यसका प्रवर्तकले निर्धारण गरेको उद्देश्य पूर्ति सम्भव हुने इस्लामिक धर्मका अगुवाहरु बताउँछन् ।


इस्लाम धर्मममा साढे ७ तोला सुन वा साढे ५२ तोला चाँदी वा सो बराबरको नगद तथा पसलमा भएको सामानमा अनिवार्य रुपमा जकात (दान) गर्नुपर्छ । जग्गामा भने जकात दिनु पर्दैन । उसो दान कुनै पनि समयमा गर्न सकिन्छ । तर, रमाजानको महिनामा गरिने दानको फल ७० गुणा बढी प्राप्त हुने विश्वास इस्लाम धर्ममा रहेको छ । ‘रमाजान इस्लाम धर्ममा पवित्र महिना हो, यस महिनामा गरेका धार्मिक कार्य अन्य बेला भन्दा विशिष्ट मानिन्छ’, हाजि सकिलले भन्छन् ।
प्रत्येक इस्लाम धर्मावलम्वीले आफैले आफ्नो सम्पत्तिको हिसाब गरेर निर्धारित भन्दा बढी सम्पत्तिको २.५ प्रतिशत दान गर्नु पर्ने धार्मिक मान्यता छ । ‘गरिब, असहाय, उपचारमा आर्थिक अभाव भएका, अनाथ बालबालिका र मदरसामा जकात दिन सकिन्छ’, हाजी सकिल भन्छन्, ‘दानलाई धर्ममा दायित्वका रुपमा लिइएको छ ।’ जकात (दान) गरेको सम्पत्तिबाट गरिएको कारोबार सुरक्षित हुने विश्वास समेत इस्लाम धर्ममा रहेको छ ।


जकात सँगै अर्को फितरा पनि गर्नुपर्ने धार्मिक व्यवस्था छ । रमाजानको महिनामा घरका सबै सदस्यको ६० रुपैयाँका दरले फितरा (दान) गर्नु अनिवार्य रहेको नेपालगन्ज–४ का जाकिर सिद्दिकी बताउँछन् । ‘जकात निर्धारित सम्पत्ति भन्दा बढी भएकाले बुझाउने हो भने फितरा प्रत्येक मुस्लिमका लागि अनिवार्य छ’, उनी भन्छन्, ‘गरिब, असहाय, मदरसा लगायत सामाजिक कार्यमा दान दिन सकिन्छ ।’


हाजी सकिलले प्रत्येक बर्ष इदको नमाज अघि फितरा बुझाउनु अनिवार्य रहेको जानकारी दिएका छन् । ‘ईद अघि भर्खरै जन्मेको सन्तान भएपनि गणना गरेर दान गर्नुपर्छ’, उनी भन्छन् ।
रमाजानको महिनामा बढीले जकात दिने गरेका छन् । यसको कारण भनेको गरिब र असहायले पनि राम्रोसँग पर्व मनाउन पाउन् भन्ने हो । ‘पर्व सबैको हो, खर्च गर्न क्षमता नभएकाले पनि दान प्राप्त गरी राम्रो सँग पर्व मनाउने भन्ने उद्देश्यले पनि रमाजानको महिनामा बढी दान गर्ने परम्परा रहेको हो’, सकिल भन्छन् ।


प्रत्येक बर्ष रमाजानको महिनामा २९/३० दिन इस्लाम धर्मावलम्वीहरु निरहार व्रत (रोजा) बस्छन् । प्रत्येक दिन सुर्योदय अघि नै निर्धारित समयदेखि सुर्यास्तको तोकिएको समयसम्म पानी पनि नखाई कठोर व्रत रमाजनको महिनामा इस्लाम धर्मावलम्वीहरु बस्ने गरेका छन् । बिरामी, बालबालिका बाहेक सबैलाई रोजा बस्नु अनिवार्य छ । यस बर्ष सोमबारसम्म रमाजानको १४ औं रोजा सकिएको छ । नियमित दैनिक पाँच वटा नमाज बाहेक रमाजानको बेला तराबी समेत पढ्ने गरिन्छ । ‘रमाजानमा तराबी पढ्नु अनिवार्य छ’, हाजि सकिल भन्छन् ।


प्रत्येक दिनको व्रत सकिएपछि साँझा व्रत तोड्ने (इफ्तार) गरिन्छ । जुन सामूहिक पनि हुने गरेको छ । नेपालगन्जमा विभिन्न व्यक्ति तथा संस्थाहरुले आफ्नो दक्षता अनुसार सामूहिक रोजा इफ्तार आयोजना गरिरहेका छन् । इस्लाम धर्ममा पाँच वटा स्तम्भहरु पालना अनिवार्य मानिन्छ । जसमा इमान, रोजा, नमाज, हज र जकात रहेको छ ।


नेपालगन्जमा चर्को गर्मी छ । पछिल्ला दिनको तापक्रम हेर्ने हो भने ४० डिग्री भन्दा माथि रहेको छ । तर, पनि इस्लाम धर्मावलम्वीहरु कठोर व्रत गर्दछन् । सोमबार नेपालगन्जको तापक्रम ४३.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया