शुक्रबार बाँकेको राप्तीपारी ६५ राउण्ड गोली चलेको छ । बाँके प्रहरीले प्रतिबन्धित लागु औषध चरेश ओसारपोसारको आरोपमा पक्राउ परेका एक जना भारतीय नागरिकलाई छुटाउन दबाब दिंदै चौकी घेराउ गरिंदा राप्तीपारी नरैनापुरमा तनाव भएको हो ।
शुक्रबार साँझदेखि बढेको तनाव यो समाचार तयार पारुन्जेल शान्त बनाउन प्रहरी प्रयासरत छ । यद्यपि, बाँके प्रहरीका निमित्त प्रमुख, डिएसपी प्रकाश सापकोटाले अवस्थामा ‘अण्डर कन्ट्रोल’ रहेको बताए । लागु औषध विरुद्ध परिचालित विशेष प्रहरी टोलीले नेपालगन्जबाट नरैनापुर पुगेर भारतीय नागरिक देविदिनलाई पक्राउ गरेपछि बिग्रिएको हो ।
ठूलो परिणामको चरेश सहित पक्राउ परेका भारतीय युवालाई प्रहरी चौकीमा राखेका मुचुल्काका लागि गएको प्रहरी टोलीमाथि ढुंगामुढा गरी तनाव प्रयास भएको थियो । त्यसपछि सीमापारीबाट आएका भारतीय युवाहरुले देविदिनलाई नछोडेसम्म प्रहरीलाई जान नदिने भन्दै घेरा हालेपछि अवस्था अनियन्त्रित बनेको हो । ‘प्रहरीको गाडीमा आगजनी र ढुंगामुढा गरेपछि थप प्रहरी बल पुगेर अवस्था नियन्त्रण गर्न खोजेको थियो’, प्रत्यक्षदर्शी भन्छन्, ‘तर प्रहरीको उपस्थिति कमजोर देखेपछि उत्तेजित भीडले क्रमशः आक्रोश फैलाउँदै चौकीमै घेराउ गर्न पुगे ।’
तनाव त्यहाँनिर अझै बढ्दै गयो जतिबेला सीमा क्षेत्रको स्थलगत फर्किएका प्रदेश सभा सदस्य कृष्णा केसी, गाउँपालिका प्रमुख इस्तियाक अहमद शाह सहितको टोलीमाथि नै आक्रमण प्रयास भयो । ‘मेरा कुरा पनि सुनेनन्, धेरै दुःख लागेको छ’, निकै भावुक अवस्थामा प्रस्तुत भएका नरैनापुर गाउँपालिका प्रमुख शाहले दैनिक नेपालगन्जसँग भने, ‘सामान्य घटनामा भारतीय घुसपैठ भएर गम्भीर बन्यो ।’ उनले निर्दोषलाई प्रहरीले फँसाएको भन्ने विषयमा आफुले छानविन गरेर सत्यतथ्य पत्ता लाग्ने आश्वासन दिंदा पनि सुनुवाई नभएको दुःख व्यक्त गर्दै भने, ‘कुरै नसुनेर जबर्जस्ती गर्न खोजियो ।’
गाउँपालिका प्रमुख शाहले जायज मागका पक्षमा कानुन, समाज र आफुपनि साथमै रहेको पटकपटक आग्रह गर्दा पनि उल्टै ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्न बाध्य भएको जानकारी दिए । प्रदेश सभा सदस्य कृष्णा केसी चढेको गाडी आगजनी प्रयास भएको थियो । ‘निकै डरलाग्दो अवस्थाको सामना गरियो’, झण्डै चार घण्टापछि प्रहरीले उद्दार गरेको जानकारी दिंदै सांसद केसीले दैनिक नेपालगन्जसँग भनिन्, ‘अहिले म केही कुरा बोल्न र भन्न सक्ने अवस्थामा छैन ।’
भारतसँग जोडिएका नयाँ गाउँ, खयर भट्टी लगायतका गाउँहरुको अवस्था र राज्यले सहयोग गर्नुपर्ने प्राथमिकताका योजना बनाउन स्थलगत अनुगमनमा गएका बेला आफुमाथि आक्रमण प्रयासलाई ‘गम्भीरतापूर्वक लिएको’ सांसद केसीको भनाइ थियो ।
जिल्लाबाट बन्दोबस्ती सहित पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राती ११ बजेतिर घटनास्थललाई पूर्ण रुपमा नियन्त्रणमा लिएको सम्बद्ध स्रोतले जनाएको छ । त्यसअघि स्थानीय हाटबजारमा पसल थाप्दै आएका देविदिनलाई नेपालगन्जबाट गएको साधा पोशाकको विशेष प्रहरी टोलीले ठूलो परिमाणको चरेश सहित नियन्त्रणमा लिएको थियो ।
तस्करी गरेर नेपाल ल्याउँदै गएको मालसामान सहित गत साता सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका अपराधीलाई यसरी घेरा हाली भारतीयले छुटाएर लैजान भएका थिए । ‘राज्यको कमजोर उपस्थिति देखेर आजपनि तस्करलाई त्यसैगरी छुटाएर लैजाने प्रयास हो’, बाँके प्रहरीका निमित्त प्रमुख डिएसपी सापकोटाले भने, ‘घटनाको थप विवरण अवस्थाबारे अध्ययन भैरहेको छ ।’