भावुक योगी, बर्दिया, जेठ ३
बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँमा छोराले बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन् । लागु पदार्थ गाँजा सेवन गरिरहने छोरा विष्णु भनिने ४१ बर्षिय दोर्णरत्न पोख्रेलले बन्चरो प्रहार गरी ७४ बर्षिय आफ्नै बुवा रत्नलाल शर्मा पोख्रेलको हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
भुरिगाउँ बजारमा बस्ने मृतकका बुहारीले फोन गर्दा ससुराले मोवाइल फोन नउठाएपछी सुक्रवार दिउसो घरमै गएर हेर्दा कोठा भित्र रगत मात्रै देखेपछी प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली घटनास्थलमा पुगेपछी घरभित्र रगत र घर नजिकै करेसाबारीमा शंकास्पद अवस्थामा खाल्डो खनी गाडिएको देखेपछी जिल्लामा खबर गरिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक प्रदिपकुमार डिसीले बताउनुभयो ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरियाबाट आएको टोलीले घटनास्थलमा पुगी शंकास्पद अवस्थामा गाडिएको ठाउँ उत्खनन गर्दा मृतकको टाउको र शरीर अलग गरी एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको बर्दियाका डिएसपी मदन महराले जानकारी दिनुभयो ।
उत्खनन गर्दा शवको शरीर र टाउको अलग रहेको प्रहरीले जनाएको छ । घरमा बावु छोरा मात्र भएको अवस्थामा जेठ १ गते राती हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । हत्या अभियोगमा मृतकका ६ छोरा मध्ये साइला छोरा विष्णु भनिने ४१ बर्षिय दोर्णरत्न पोख्रललाई इलाका प्रहरी कार्यालय भुरिगाउँले पक्राउ गरेको जनाएको छ ।
मृतककी श्रीमती जेठो छोराको घर सुर्खेत गएको र घरमा अरु कोही नभएको अवस्थामा बाउ छोरा मात्रै भएका बेला कोठाभित्रै बाउलाई बन्चरो प्रहार गरी हत्या गरि कोदालोले खाल्डो खनी करेसाबारीमा गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।
आफ्नै बावुको हत्या अभियोगमा पक्राउ परेका छोरा पाख्रेल लागुऔषध गाँजा सेवन गरी केही महिनादेखि भुरिगाउँ बजार क्षेत्रमा डुलिरहने गरेको उनका दाजु बासुदेव पोख्रेलले बताउनुभयो ।