नेपालगन्जमा सुरु भो ल्याण्डफिल साइटको प्रयोग

नेपालगन्जको फोहोर व्यवस्थापनका लागि बाँकेको हिरमिनियामा बनाइएको ल्याण्डफिल साइटको निर्माण सकिएको छ । निर्माण सकिए लगत्तै बिहीबारदेखि परीक्षणका रुपमा ल्याण्डफिल साइट प्रयोग सुरु गरिएको छ ।


‘परीक्षणका रुपमा ल्याण्डफिल प्रयोगमा ल्याइएको छ’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद प्याकुरेलले दैनिक नेपालगन्जसँग भने, ‘झण्डै दुई साताको अवधी संकलनदेखि व्यवस्थापनसम्मका सबै पक्षहरुको परीक्षणपछि औपचारिक उद्घाटन गरिनेछ ।’ प्याकुरेलले संकलनका क्रममा आउने समस्याहरुलाई निराकरण गर्दै सम्पूर्ण रुपमा तयार भएपछि औपचारिक उद्घाटन गरिने जानकारी दिंदै भने, ‘कामका क्रममा जे जति इरर आउँछन् करेक्सन गर्दै अगाडि बढ्ने हो ।’


बाँकेको हिरमिनियामा १० बिगाह क्षेत्रफलमा एशियाली बिकास बैंकको सहयोगमा एकिकृत सहरी बिकास कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाले ल्याण्डफिल्ड साईड निर्माण गरेको हो । करिब ३८ करोडको लागतमा निर्माण भएको ल्याण्डफिल साइट ब्यबस्थित र देशकै नमूना बन्ने गरी संरचना निर्माण भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्ज सहर भरी उत्सर्जन हुने फोहरलाई सो केन्द्रमा लगेर छुट्याई जैविक मल उत्पादन गर्ने लक्ष्यका साथ कामलाई अगाडी बढाइएको छ । उत्पादन भएको मल उपमहानगरपालिकाको दिगो आम्दानीको श्रोत समेत हुने छ ।


आगामी ५० बर्ष सम्म नेपालगन्ज सहरको फोहर ब्यबस्थापनमा कुनै समस्या नआउने गरी आधुनिक संरचना बन्न लागेको हो । नेपालगन्ज उपमहानगरपालिकाले सहर भन्दा टाढा रहेकाले ल्याण्डफिल साइट वातावरणिय दृष्टिकोणले पनि उपयुक्त भएको बताएका छन् । उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले ल्याण्डफिल्ड साइड सञ्चालनमा आएसंगै फोहरमैला ब्यबस्थापनको समस्या समाधान हुने विश्वास ब्यक्त गरेका छन् ।


ल्याण्डफिल साइटमा कुहिने र नकुहिने फोहरलाई छुट्टा छुट्टै ब्यबस्थापन गरिंदैछ । वातावरणमा कुनै असर नपर्ने भन्दै कुहिने फोहरबाट जैविक मल उत्पादन गरी नेपालगन्ज उपमहानगरपालिको दीर्घकालिन आम्दानीको श्रोत हुने विश्वास गरिएको छ ।


२३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट हाल दैनिक ३२ टन फोहोर उत्पादन हुने गरेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्ने ठाउँको अभावका कारण कुनै निश्चित ठाउँमा नभएर खाली जग्गामा फोहोर फाल्दै माटोले पुर्दै आएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया