सरकारले बाँकेमा सुरु गरेको खर मुक्त घरका लागि ‘सेलेक्सन’ प्रक्रिया सुरु गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागले बाँके र बर्दियाका ३ हजार ५० वटा खरका घरलाई अनुदान दिएर टिनको छाना लगाउने अभियान सुरु गरेको हो । अभियानका लागि सरकारले सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सुरक्षित नागरिक आवास समन्वय समिति गठन समेत गरेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले बाँकेका इन्जिनियर होमनाथ भुषालले प्रक्रियागत रुपमा बाँके, बर्दियामा अनुदानका लागि घर छान्ने प्रक्रिया सुरु भैसकेको बताएका छन् । ‘वडामा आवेदन परेपछि आर्थिक रुपमा कमजोरलाई प्राथमिकतामा राखेर अनुदान दिइनेछ’, उनले भने ।
इन्जिनियर भुषालका अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा १ हजार ४ सय, डुडुवा गाउँपालिकामा ७ सय, जानकी गाउँपालिकामा ३ सय, नरैनापुर गाउँपालिकामा ३ सय तथा बर्दियाको बढैयातालमा १ सय र गुलरिया नगरपालिकामा २ सय खरका घरमा टिनका लागि अनुदान दिने योजना रहेको छ । त्यसका लागि १५ करोड बढी छुट्याइएको छ । ‘छानिएका स्थानीय तहका वडामा २५ देखि १ सय ४० वटा घरसम्म योजनामा समेटिनेछन्’, इन्जिनियर भुषालले भने, ‘वडाले स्थानीय तह र स्थानीय तहले समितिमा पठाएपछि अनुदानका दिने क्रम सुरु हुनेछ ।’
‘खासगरी खरका छाना भएका घरलाई सुरक्षित बनाउन टिनको छाना उपलब्ध गराउने सरकारको अभियान हो’, इन्जिनियर भुषालले भने भने, ‘आगलागीको जोखिमबाट सिङ्गो बस्ती जोखिममा पर्दै गएपछि सरकारले यसखालको योजना अघि सारेको हो ।’ उनले गाउँबस्तीमा जोडेर बनाइएका खरका घरमा आगो लाग्दा बस्ती नै सखाप हुने जोखिमपछि सरकारले टिनका लागि अनुदान दिन अभियान थालेको बताए ।
सरकारले प्रति घर टिन लगाउनका लागि ५० हजार रुपैयाँ नगद नै सहयोग गर्नेछ । ‘घर छनोट भएपछि पहिलो किस्ता वापत ३० हजार रुपैयाँ दिइनेछ’, इन्जिनियर भुषालले भने, ‘टिन लगाएपछि बाँकी २० हजार रुपैयाँ बिलका आधारमा भुक्तानी दिइनेछ ।’
सहरी विकास तथा भवन निर्माण विभागले बाँकेले यसअघि दुई वटा बाँके, बर्दियामा २ हजार ५० वटा पक्की घर समेत बनाएको छ । जनता आवास मार्फत कार्यालयले पक्की घरका लागि २ लाख १५ हजार २ सय अनुदान दिएको हो । अब भने जनता आवास कार्यक्रम प्रदेश सरकारले सञ्चालन गर्दैछ ।