सिराज खान
‘रोजा बसेकाहरुलाई बिद्युत अनियमितताले निकै समस्या पारिरहेको छ,’ नेपाल विद्युत प्राधिकरणलाई विद्युत नियमित गराउन ध्यानाकर्षण गराउन गएका नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले भने, ‘कमसेकम यो रोजा अवधीभर विद्युत नियमित गरियोस् ।’
४३ डिग्रीको तापक्रम अनि शरिरनै पोल्ने गरी चलिरहेको तातो हावा ( लु ) का विच पनि बाँकेका मुस्लिम समुदायका अधिकांश पुरुष महिलाहरुले १५ घण्टाको निराहार रोजा ( ब्रत ) बसिरहेका छन् । यसै प्रसंगलाई लिएर नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, रोजामै रहेका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, अर्का उपाध्यक्ष दुर्गा भण्डारी सहितको टोली मंगलवार विद्युत पुगेको हो ।
धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार, देशकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगन्जका अधिकांश मुस्लिमहरुले ४३ डिग्रिको ताक्रममा समेत विहान ४ बजेदेखि बेलुका ७ बजेसम्म पानी समेत नखाई रोजा बसिरहेको जानकारी दिए ।
‘यही त उपरवालाको परिक्षा हो, उसले हेर्न चाहन्छ प्रतिकुल मौसममा पनि कस कसले उसका लागि रोजा राखेर त्याग गर्छ, र कस कसले आफ्नो मनोमानी गर्छ’– धर्मगुरु मन्जरीले भन्नुभयो ।
अत्याधिक गर्मी र तातो हावामा पनि रोजा राख्नेहरुमा धेरैजसो ती सामान्य मानिसहरु छन् जसले विभिन्न कलकारखानामा काम गर्छन्, रिक्सा चलाउँछन् वा मजदुरी गर्छन् ।
नेपालगन्ज–११ स्थित तामाको भाडा बनाउने कारखानामा आगोको भट्टीमा काम गरिरहेका मोहम्मद शादाबले यति धेरै गर्मीमा पनि काम र रोजा दुबै संगसंगै चलिरहेको बताए । ४३ डिग्रिको गर्मीमा आगोको भट्टीमा बसेर काम गर्नु नै ठुलो चुनौती रहेको भन्दै शादावले त्यसमाथि १५ घण्टाको निराहार रोजा बस्नु त झनै ठुलो कुरा भएको प्रतिक्रिया दिए । यसका
शादाब जस्तै सयौं युवाहरुले अत्याधिक गर्मीमा पनि एकातिर दिनभरी काम गर्छन भने अर्कोतिर १५ घण्टाको रोजा समेत बसिरहेका छन् ।
अरबी क्यालेण्डर अनुसार इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान गत साता मंगलवारबाट शुरु भएको छ । रमजान महिनाभरी हरेक वालिग, समझदार महिला तथा पुरुष मुस्लिममाथि रोजा (ब्रत) बस्नु अनिवार्य गरिएको छ । रोजा इस्लाम धर्मका पाँच वटा अनिवार्य आधार स्तम्भहरूमध्येको एक हो । अन्य आधारस्तम्भहरुमा एक ईश्वरमाथि बिश्वास गर्नु, नमाज पढ्नु, जकात दिनु र आर्थिक रुपमा सम्पन्न हुनेले सउदी अरबमा गएर हज गर्नु हुन् ।
बिहान सुर्योदय हुनुभन्दा पहिलेबाट बेलुकी सुर्यास्त हुनुसम्म पानी समेत नखाएर उपवास बस्नुनै रोजा हो । तर, बृद्धबृद्धा, अशक्त वा दीर्घ रोगी, यात्री, गर्भवति, रजश्वला भएकी, सुत्केरी वा दूध चुसाउने महिलाहरूका लागि रोजा अनिवार्य गरिएको छैन । ‘स्वास्थ्य समस्याका कारण रोजा बस्न सकिरहेको छैन्,’ आफ्नो शरिरलाई अत्यधिक पानी चाहिने भएकाले रोजा नबसेको जानकारी दिंदै सञ्चारकर्मी जावेद हल्वाईले भने, ‘रोजामा पानी पनि नखाई ब्रत बसिन्छ ।’
धर्मगुरु मौलाना मन्जरीका अनुसार, रोजाको वास्तविक उद्देश्य दिनभर खानपिनलाई छोड्नु मात्रै नभई यसले मानिसमा आत्मसुद्धि, सन्तुष्टि र अल्लाहको भय उत्पन्न गराउनुका साथै गरिब र खान नपुगेर भोकै बस्नेहरुको दुःख समेत अनुभव गराउनु हो । ‘रोजाले मानिसलाई भलो र सदाचारी बन्न सहायता गर्छ ।’ उनले रोजाबाट मानिसको आत्मिक एवं चारित्रिक उत्थान हुने विश्वास गर्छन् ।
धार्मिक मान्यता अनुसार रमजान दान, प्रतिदान र क्षमादानको महिना हो । यो महिनामा बिशेष गरी रोजा राख्नुका साथै गरिबहरुलाई खाना खुवाउनु, रोजा खोल्ने ब्यबस्था गर्नु र आफ्नो आम्दानीको अढाई प्रतिशत रकम गरिब असहायलाई बितरण गरिने गरिन्छ । जसलाई जकात भनिन्छ । रमजानमा सूर्याेदय हुनुपूर्व रोजाको नियतबाट खानपिन गर्नुलाई सेहरी भनिन्छ । सेहरी खानु पनि अनिवार्यनै गरिएको छ । सूर्यास्तपश्चात् रोजा खोल्नका लागि केही खानपिन गर्नुलाई इफ्तार भनिन्छ । इफ्तारमा ढिला गर्नुहुन्न ।
रमजान महिनामा हरेक राती विशेष किसिमको नमाज पढिन्छ, जसलाई तराविह भनिन्छ । तराविहमा कम्तीमा एक पटक सम्पूर्ण कुरानको पाठ गरिन्छ । रोजा र कुरानबीच घनिष्ठ सम्बन्ध रहेको छ । रमजान महिनामै कुरान अवतरित भएकोले यो महिनाको निकै महत्व छ । त्यसैले यो महिनामा धेरैभन्दा धेरै कुरानको पाठ गरिन्छ ।
रोजाले मनुष्यका सबै ज्ञानेन्द्रीयहरूलाई कुकर्म गर्नबाट रोकेर राम्रो काम गर्ने प्रेरणा दिने गरेको अर्का मुस्लिम धर्मगुरु मौलाना जमाल अहमद बताउछन् । उनका अनुसार, यो कुकर्मबाट टाढा रहने र पुण्य फैलाउने माध्यम हो । रमजानको २९ वा ३० दिनसम्म रोजा बसेपछि ईदको चन्द्रमा निस्कन्छ । सो चन्द्रमा निस्केपछि ईद धुमधामका साथ तीन दिनसम्म मनाइने गरिन्छ । ईदलाई रोजाको इनामका रुपमा मनाइने पर्वका रुपमा समेत लिइन्छ । रोजा शुरु भएयता नेपालगन्ज लगायतका मुस्लिम गाउँबस्तीमा रमजानको रौनक बढेको छ । ईद मुस्लिम धर्मालम्बीको महत्वपूर्ण र महान पर्व हो ।