‘नेपालगन्जमा क्रिकेट मैदान चाहियो’

क्रिकेटको मैदान अभावले खेलकुद विकासमा प्रभाव परेको भन्दै सरोकारवालाहरुसँग मैदानका लागि आवश्यक व्यवस्था गरिदिन बाँके जिल्ला क्रिकेट संघले माग गरेको छ । संघका अध्यक्ष दुर्ग बहादुर थापाले बुधबार नेपालगन्ज उपमहानगरपालिकाका वडाध्यक्षहरुसँग सामूहिक आग्रह गर्दै भने, ‘न त क्रिकेट मैदान भयो न त टुनामेन्ट नै ।’ उनले क्यानको विवादले देशभरी नै क्रिकेट धराशयी भैरहँदा मैदान अभावले बाँकेमा खेलाडीहरु अभ्यास सम्म गर्न नपाइरहेको दुःखेसो गरे ।


‘कोहलपुरमा एउटा मैदान बनेर केही हदसम्म राहत भएको छ’, तर नेपालगन्जका विद्यार्थीहरुका लागि कोहलपुर मैदान टाढा भएको औंल्याउँदै अध्यक्ष थापाले वडाध्यक्षहरुसँग भने, ‘२३ वडाभित्र कही न कही त क्रिकेट ग्राउण्डका लागि जग्गा व्यवस्थापन गर्न सकिएला ?’
अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७६ को सन्दर्भमा आयोजक द ग्रुप अफ–१६ युथ क्लबले आयोजना गरेको वडाध्यक्षहरु बीचको छलफलमा बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष थापाको एउटै भनाइ थियो, ‘जसरी हुन्छ क्रिकेट मैदान बनाऊँ ।’ बर्षौदेखि मंगल मावि खेल मैदानमा अभ्यासरत क्रिकेट खेलाडीहरु कोहलपुरमा मैदान बनेपछि त्यही जाने गरेको औंल्याउँदै खेलाडीहरुले भने, ‘तर, नयाँ प्रतिभाहरु त्यति टाढा गएर अभ्यास गर्न रुचाउँदैनन् ।’


नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० र १२ ले संयुक्त रुपमा गरेको आर्थिक सहयोगबाट द ग्रुप अफ–१६ युथ क्लबले जेठ २३ गतेदेखि आयोजना गर्न लागेको अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताकै लागि खेल मैदानको टुङ्गो छैन । ‘मंगल मैदानकै पत्र पठाएका छौं’, आयोजक युथ क्लबका सदस्य समेत रहेका नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य तरुण बज्राचार्यले भने, ‘तर, वैकल्पिक मैदानको व्यवस्था हुनुपर्छ भन्ने मान्यतामा हामी छौं ।’


फुल्टेक्रामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण हुनसक्ने गरी जग्गा व्यवस्थापनमा लागेपनि टुङ्गो नहुँदा काम अगाडि बढ्न सकेको छैन । ‘हाम्रो तर्फबाट यथासम्भव मैदानका लागि पहल भैरहेको छ’, उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष प्रमोद रिजालले सहभागीहरु बीच छलफलमा भने ।


छलफलमा सहभागी वडाध्यक्षहरु बुद्धिसागर सुवेदी, बिन्दु भुषण बस्नेत, सुनिल सिंह हमाल, उज्वल सिंह राठौंर, विरेन्द्र बहादुर शाह, जुम्मन खाँ, कैफुल बरा अन्सारी लगायतले अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताले युवाहरुलाई वडास्तर देखि नै क्रिकेटमा आकर्षण बढाउने विश्वास व्यक्त गरे । उनीहरुले वडाबाट खेलकुदका लागि गर्न सकिने आवश्यक सहयोग निरन्तर गर्दै जाने प्रतिबद्धता पनि जनाए ।

वडा स्तरीय क्रिकेट हुँदै

नेपालगन्जमा पहिलो पटक अन्तर वडा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । द गु्रप अफ १६ युथ क्लब नेपालगन्जको आयोजनामा जेठ २३ गतेदेखि प्रतियोगिता आयोजनाको घोषणा भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० र १२ को आर्थिक सहयोगमा युथ क्लबले पहिलो पटक वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘क्रिकेटको विकासमा आधारभूत संरचना तयार गर्न यसले बल पुर्याउँछ भन्ने विश्वास हो’, आयोजक युथ क्लबका अध्यक्ष विष्णु अर्यालले भने, ‘निरन्तर आयोजनाको रुपमा स्थापित गर्दै लैजाने योजना छ ।’
सहयोगी वडा नं. १० का अध्यक्ष बिन्दु भुषण बस्नेत र १२ का बुद्धि सागर सुवेदीले युवाहरु खेलकुदमा लाग्दा कुलतबाट जोगिने विश्वास गरे । ‘युवाहरुलाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले आयोजनालाई निरन्तर अगाडि बढाउने प्रयास गरिंदैछ’, आयोजक क्लब सदस्य तरुण बज्राचार्यले भने ।
क्लब सचिव राम श्रेष्ठका अनुसार, जेठ १५ गतेसम्म टिम दर्ताको समय राखिएको प्रतियोगितामा सम्बन्धित खेलाडी मात्र टिममा रहन पाउने व्यवस्था गरिएको छ । टि–ट्वान्टी फर्मेटमा प्रतियोगिताको डिजाइन गरिएको क्यानका एम्पायर इनामुद्दिन हलवाईले जानकारी दिए । आयोजक युथ क्लबले बुधबार पत्रकार सम्मेलन गरी आयोजनाको तयारी अगाडि बढाइएको जानकारी दिएको हो ।
‘आयोजनालाई खेलाडीको आकर्षणको केन्द्र बिन्दु बनाउन ठूलो राशीको पुरस्कार योजना गरिएको छ’, क्लब अध्यक्ष अर्यालले भने ।

प्रतिक्रिया

प्रतिक्रिया