मन्त्रीले नसुनेपछि वाणिज्यमा ज्ञापन
वाणिज्य कार्यालय नेपालगन्जले नविकरण म्याद गुज्रेका फर्मको नविकरण नगरिदिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । वाणिज्य कार्यालयले कानुनी व्यवस्था अनुसार नविकरण म्याद गुज्रेपछि नविकरण बन्द गरेको हो ।
बाँकेमा रहेका २९ हजार फर्म मध्ये १२ हजार फर्म मात्रै वाणिज्य कार्यालयमा ‘अपडेट’ अवस्थामा रहेको वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले जानकारी दिएका छन् । झण्डै १७ हजार फर्म नविकरण भएका छैनन् । फर्म नविकरण नहुँदा व्यवसायीहरुले विभिन्न किसिमका समस्या झेल्नु परिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् । वाणिज्य कार्यालयका प्रमुख पौडेलले भने केन्द्रबाट नै निर्णय नहुञ्जेलसम्म हालकै अवस्था यथावत रहने जानकारी दिएका छन् । ‘हामीले व्यवसायीका समस्या केन्द्रमा पठाएका छौं, अब केन्द्रबाट नीतिगत निर्णय भएमा मात्रै म्याद गु्रजेका फर्मको नविकरण हुनसक्छ’, वाणिज्य कार्यालयका प्रमुख पौडेल भन्छन् ।
नविकरण म्याद गु्रजेका व्यवसायी दैनिक जसो वाणिज्य कार्यालय र उद्योगी व्यवसायीहरुको छाता संगठन नविकरण सुचारुका लागि पहल गरिदिन आग्रह गर्दै पुग्ने गरेका छन् । वाणिज्य कार्यालयले कानुनी व्यवस्था भन्दै नविकरण नगरी फर्काउने गरेको छ । संघ जिल्लादेखि केन्द्रसम्म सरोकारवाला निकायको ढोका ढक्ढक्याउँदैछ ।
उद्योग वाणिज्य महासंघकै पहलमा नेपालगन्ज उद्योग वाणिज्य संघले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवलाई समेत भेटेर व्यवसायीहरुको समस्या सुनाएको थियो । ‘हामीले मन्त्रीज्यूलाई भेट्दा एक पटकका लागि नविकरण सुचारु गरिदिन्छु भन्नु भएको थियो’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले भने, ‘तर, अझैसम्म सुनुवाई भएको छैन, व्यवसायीहरु छट्पटाइरहेका छन् ।’
केन्द्रमा गरिएको पहलको परिणाम नआएपछि संघले पुनः जिल्लाबाट पहलको थालनी गरेको हो । मंगलबार उद्योग वाणिज्य संघको टोलीले मन्त्रालयलाई वाणिज्य कार्यालय मार्फत पुनः ज्ञापन पत्र पठाएको छ । ‘दैनिक व्यवसायीहरु संघमा नविकरण सम्बन्धी गुनासो लिएर आउनुहुन्छ’, महासचिव अजय टण्डन भन्छन्, ‘सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्दछ ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी फर्म नविकरण नहुँदा व्यवसायीले लगानीका लागि बैंक मार्फत ऋण पाउन नसकेको बताएका छन् । ‘बैंकिङ्ग कारोबारका लागि वाणिज्यको नविकरण चाहिएको छ, वाणिज्यले नविकरण गरिदिंदैन कसरी व्यवसाय गर्ने ?’, उपाध्यक्ष मन्सुरीले भने ।
नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघको महासचिव श्याम सुन्दर अधिकारीले व्यवसायीले जरिवाना तिरेर नविकरण गरिदेउ भन्दा भनि सरकारले चासो नदिनुले आश्चर्यमा परेको बताएका छन् । ‘नविकरणको म्याद गुज्रिए जरिवाना लिएर नविकरण गरियोस्’, उनी भन्छन्, ‘त्यसले सरकारको राजश्व पनि वृद्धि हुन्छ ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले सरकारले व्यवसायीलाई आन्दोलन गर्न बाध्य बनाइरहेको बताएका छन् । ‘नविकरण नहुँदा वैधानिक रुपमा व्यवसाय सञ्चालन गर्न नै गाह्रो भयो’, अध्यक्ष वैश्यले भने, ‘सरोकारवाला निकायमा हामीले पहल गरिसक्यो अब पनि सुनुवाई नभएमा आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।’
उद्योग वाणिज्य संघको छाता संगठनले नविकरणकै लागि पहल थालेको लामो समय भैसकेको छ । तर, त्यसको कुनै निकास भने हालसम्म निस्केको छैन । ‘सरकारले सुनेन भने हाम्रो विकल्प नै आन्दोलन हो’, अध्यक्ष वैश्य भन्छन् ।
संघका सदस्य धु्रव दाहालले सरकारले व्यवसायीहरुको ढाड सेक्ने काम मात्रै गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । ‘व्यवसायी करदाता हुन् तर सरकार व्यवसायीका समस्यामा वास्ता गरेको पाइँदैन’, दाहालले भने ।
वाणिज्य कार्यालय प्रमुख पौडेलले संघले बुझाएको ज्ञापनपत्र तत्कालै सरोकारवाला निकायमा पठाउन प्रतिबद्धता जनाएका थिए । ‘वाणिज्य कार्यालय व्यवसायीका समस्यामा गम्भीर छ’, उनी भन्छन्, ‘तर, कानुनी व्यवस्था सबैले पालना गर्नुपर्छ ।’ वाणिज्य कार्यालयहरुले फर्म नविकरण नगरेपछि खारेज भने गरेको छैन । ‘म्याद गु्रजेपछि नविकरण नगरिएको हो, रद्द भएको चाही छैन’, वाणिज्य कार्यालय प्रमुख पौडेले भन्छन् ।