रामु ओली
डिजिटल दुनियाँका कयौं नकारात्मक असरहरु छन् तर कयौं सम्भावना पनि यहि डिजिटल दुनियाँले दिएको छ । त्यहि सम्भावनामा पाइला चाल्दै गरेका नेपालगन्जका युवापुस्ताको खोजिम थियो दैनिक नेपालगन्ज ।
नेपालगन्जका युवापुस्ता मात्रै नभई कुनै न कुनै रुपले मिडिया कम्पनी, अनलाइनकर्मी र ब्यक्ति विशेषले युट्युबमा आफ्नो उपस्थिति नखोजेका होइनन् । तर धेरैजसो युट्युबमा अझै पनि संघर्षरत नै छन । नेपालगन्जको यस्तो भिडमा भेटियो ‘स्कुल ब्वाइज’ । जो स्थापनाको पाँच महिना नबित्दै युट्युबसंग युट्युब पार्ट्नर्स प्रोग्राम (YPP) गर्न सक्षम भयो । जसको युट्युबमा ८३ हजार भन्दा बढी सस्क्राइबर छन् भने स्कुल ब्वाइजको कयौं भिडियोले मिलियन भ्युवर्स पाइसकेको छ ।
कुरा २०७४ सालको अन्तिमतिरको हो । होप इन्टरनेसनल एकेडेमीका १० कक्षाका बिद्यार्थी स्कुल देखि बिदा हुने क्रममा थिए । त्यही बिदाई हुने बिद्यार्थीमा कमल धमला पनि सामेल थिए । स्कुल छोड्ने समय आउँदै गर्दा कमल संगै आकाश नेपाली, अनिल थापा, महेन्द्र धमला, आर्थिक मरासिनी, सुशील रेग्मीले स्कुलको केही मिठा यादहरु मोबाइलमा कैद गर्ने साेंच बनाए । त्यही साेंचले जन्म दियो ‘स्कुल ब्वाइज’ ।
बिकासनगर नेपालगन्जका कमल धमला १८, आकाश नेपाली १८, अनिल थापा १८, महेन्द्र धमला १८, आर्थिक मरासिनी १८, सुशील रेग्मी १८ ले एसइइ सकिए संगै सुरु गरेको स्कुल ब्वाइजमा हाल पुष्पा केसी र राँझाका टिना गिरि १६ समेत मिसिएका छन् ।
सुरुवात ताका भर्खरै एसइइको परिक्षा दिएर बसेका धमला र उनका साथीहरूमा नत कुनै सफल युट्युबर बन्ने सोंच थियो नत मनग्ये पैसा कमाउने । बस उनीहरु आफ्नो स्कुलले जीवनलाई ताजा बनाउन चाहन्थे , मोबाइलमा कैद गर्न चाहन्थे, हाँस्न अनि हँसाउन चाहन्थे तर सोंचेभन्दा पृथक बनिदियो स्कुल ब्वाइज । अनि उनीहरुको आम्दानीको स्रोत बनिदियो ।
‘खासमा हामी आफ्ना यादहरुलाई मोबाईल क्यामेरामा कैद गर्ने सोंच थियो, जतिबेला हामिले भिडियो बनाउन सुरु गर्यौं त्यतिबेला सम्म युट्युबमा केही गर्छांै भन्ने हाम्रो कुनै सोंच नै थिएन,’ धमलाले भने, ‘तर भिडियोहरुले राम्रो रेस्पोन्स पाउन थाले पछि भने हामीले क्रमिक रुपमा स्कुल जीवनकालमा गरिने र गरेका रमाइला भिडियोहरु निर्माण गर्न थाल्यौं ताकी ती भिडियोहरु हेर्नेलाई भरपुर मनोरञ्जन प्रदान होस ।’ ‘त्यसैले हाम्रा प्राय हँसाउने खालका भिडियो नै धेरै छन्,’ सामाजिक संजालमै लामो गफगाफका क्रममा धमलाले स्कुल ब्वाइजको स्थापना र त्यसपछिका सुरुवाती दिनहरु बताए ।
सुरुवातको करिब आठ महिना सम्म उनीहरुले आफ्नो अनि साथीहरुको मोबाइलबाट नै भिडियो निर्माण गरे अनि एडिट पनि । त्यसपछि भने भिडियो क्वालिटी बढाउन नेपालगन्जका विभिन्न ब्यक्तिसंग क्यामेरा भाडामा लिएर स्कुल ब्वाइजले भिडियो निर्माण गर्दै आएको छ ।
‘सुरुवातको ८ महिना त हामीले मोबाइल बाटनै भिडियो र एडिट गर्यौं त्यसपछि भने कहिले भाडमा त कहिले स्कुल तथा अन्य साथी र दाइहरु बाट सहयोग लिएर भिडियो बनाउदै आएका छौं,’ धमला भन्छन्, ‘किनकी अब हामीले भिडियोको क्वालिटी बढाउनु पर्ने छ ।’
स्कुल ब्वाइजले हाल थोरै आफुलाई ब्यवस्थापन गर्दै गैरहेको छ । स्क्रीप्ट लेखन, निर्देशन र भिडियो एडिटको जिम्मा कमल धमलाले गर्दै आएका छन् । बाँकी सदस्यहरु कलाकारको रुपमा अभिनय गर्छन् । पढाई संगै भिडियो निर्माण गर्नु, भिडियोलाई एडिट गर्नु अनि आफ्नो युट्युब च्यानललाई लगातार मोनिटर गर्नु उनीहरुको प्रमुख चुनौती हुन् ।
त्यसैले पनि स्कुल ब्वाइजले कहिलेकाही युट्युबमा भिडियो हाल्न लामो समय लिने गर्छ । युट्युबमा ८३ हजार बढी सस्क्राइबर रहेको उनीहरुको च्यानलको कयौं भिडियोले मिलियन भ्युवर्स बटुलेको छ । उक्त उपलब्धि जो कसैको लागि सपनाको कुरा हुन जान्छ । त्यसैमा त्यो उमेर र साधन तथा स्रोतको उपलब्धतामा ।
नेपालको परिप्रेक्ष्यमा कुरागर्ने हो भने युट्युबमा व्यवसायिक भिडियो उत्पादन गर्ने हेतुले यो क्षेत्रमा प्रवेश गरेका कयौं च्यानल र कम्पनीहरु स्थापित भएका छन् । कयौं कम्पनी तथा च्यानलहरुले जनशक्ति राखेर नियमित रुपमा विभिन्न किसिमका भिडियो कन्टेन्ट उत्पादन गर्ने गरेका छन् । जसबाट युट्युबले भिडियोमा देखाइएको बिज्ञापनको ६० प्रतिशत सम्म रकम त्यस्ता च्यानललाई दिने गर्दछ । यहि सेरोफेरोमा स्कुल ब्वाइजले मासिक कति कमाउछ त ? हाम्रो जिज्ञासा थियो ।
‘आम्दानीको रुपमा यति नै भन्न सकिन्न किनकी भिडियोको संख्या र भिजिटरको संख्याले आम्दानी निर्धारण गर्छ तरपनि युट्युबबाट औसतमा चालिस हजारसम्म मासिक आउँछ,’ हाम्रो जिज्ञासा लाई मेट्दै स्कुल ब्वाइजका प्रमुख कमल धमलाले दैनिक नेपालगन्ज सँग भने, ‘कहिले काहीं भिडियोमा स्पोन्सर बिज्ञापन समेत हाल्ने गर्छांै जसबाट पाँच हजार सम्म लिने गर्छौं त्यसैले लगभग खर्च कटाउँदा त्यस्तै चालिस हजार सम्म बच्ने गर्दछ ।’
बिश्व तथा नेपालको परिवेशमै टेलिभिजन, अनलाइन मिडिया तथा ठुला कम्पनी स्थापना गरेर युट्युबको लागि भिडियो उत्पादन गर्ने काम गरिरहेको अवस्थामा नेपालगन्जका कक्षा ११ मा अध्यनरत धमला र उनको समुह बर्ष दिनमा पाएको उत्साहले हौसिएका छन् ।
युट्युब च्यानलले पैसा दिन सुरु गरिसकेको छ । उनीहरु युट्युबको भिडियो कन्टेन्टमा बढोत्तरी गर्दै छन् । ब्यवसायिक भिडियो उत्पादनमा पाइला चाल्दै छन् । रमाइलो मात्रै भन्दा पनि चेतनामूलक भिडियो बनाउँदै छन् । उनीहरु अब व्यवसायिक रुपमै यो क्षेत्रमा टिकिरहन चाहन्छन् । डिजिटल दुनियाले दिएको सम्भावनाको उपयोग गर्न चाहन्छन् ।
युट्युबमा सबै किसिमका भिडियो बिक्छ । शिक्षा, स्वास्थ, समाचार, बिचार, छलफल, मनोरञ्जन जस्ता कयौं बिधामा कयौं युट्युब च्यानलहरु लागि परेका छन् । तिनै च्यानलको बिचमा नेपालगन्जको स्कुल ब्वाइज आफ्नो अस्तित्व खोज्दैछ अनि भविष्य कोर्दैछ ।
‘हसाउनु अनि केही सिकाउनु अहिलेको हाम्रो उद्देश्य हो, अब हामीले निरन्तर रुपमा भिडियो निर्माण गर्छौं, राम्रो अनि सन्देशमुलक सर्ट मुभीहरु बनाउने योजनामा छौं,’ आगामी योजना बारे उनीहरुको एक स्वर छ, ‘अब बिस्तारै व्यवसायिक रुपले यो क्षेत्रमा प्रवेश पनि गर्दैछांै ।’