सबै तहमा विज्ञान प्रयोगशाला प्रस्ताव

सरकारले विज्ञानलाई जनजीविकासँग जोड्दै व्यवहारिक बनाउने अग्रसरता देखाएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै तहमा विज्ञान प्रयोगशाला स्थापनाको प्रस्ताव गर्दै ‘साइन्स लर्निङ किट’ उपलब्ध गराउने भएको छ ।


नेपालगन्जमा विज्ञान अध्ययन केन्द्र स्थापनाको पहल थालेको मन्त्रालयले त्यसको अपरिहार्यता तथा विकास सम्बन्धी मंगलबार गरेको अन्तरक्रियामा मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदीले भने, ‘नेपालगन्जमा विज्ञान अध्ययन केन्द्र स्थापना गर्नुपर्छ भन्ने टुङ्गोमा हामी पुगेका छौ ।’
नेपालगन्ज क्षेत्रका शैक्षिक संस्थामा अध्यापनर्त विज्ञान शिक्षक, स्थानीय तहका इन्जिनियर, मन्त्रालयका कर्मचारी, विज्ञहरुको सहभागितामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार अन्तरक्रिया गरेको हो ।


विज्ञान अध्ययन केन्द्रको अवधारणा र आवश्यकताबारे विज्ञ डा. दिनेश राज भुजु र नेपालगन्ज क्षेत्रको विज्ञान शिक्षा तथा अनुसन्धान ः प्राथमिकता चुनौति र अवसरबारे महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विज्ञान संकाय सहायक क्याम्पस प्रमुख रविन्द्र कर्णले अवधारणा पत्र प्रस्तुत गरेका थिए । अन्तरक्रियामा समूहगत छलफलबाट विज्ञान अध्ययन केन्द्रको संरचना र क्रियाकलापबारे सुझाव संकलन गरिएको सहायक क्याम्पस प्रमुख कर्णले जानकारी दिए ।
अन्तरक्रिया उद्घाटन गर्दै प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले समय अनुसार, विज्ञान, प्रविधिसँग जोडिएर अगाडि बढ्न नसक्दा मुलुक पछाडि परेको टिप्पणी गरे । नेपालगन्ज उपमहानगरपालिकाले विज्ञान प्रविधिका क्षेत्रमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै नगर प्रमुख डा. राणाले भने, ‘विज्ञानको प्रयोग गर्न सकिने गरी प्रयाक्टिल साइन्सलाई अगाडि बढाउनुस् ।’


कार्यक्रममा विज्ञ डा. भुजुले विज्ञान शिक्षा र व्यवहारमा ‘ग्याप’ बढेकाले एकापसमा ‘लिङ्क’ गर्न विज्ञान पढाउने विद्यालय र कलेजलाई विज्ञान अध्ययन केन्द्रका रुपमा विकसित गर्न खोजिएको बताए । विज्ञान प्रयोगशालालाई जनताका आवश्यकतासँग जोडेर अपनत्व विकास गरिनुपर्ने औंल्याउँदै डा. भुजुले भने, ‘विज्ञानको पढाई र उनीहरुले प्रयोग गर्ने प्रयोगशाला विद्यार्थीका लागि मात्र नभई स्थानीयबासीका लागि पनि उपयोगी बनाइनु पर्छ ।’ मन्त्रालयका प्रतिनिधि नविन पोखरेलले मुलुकका ७ सय ५३ वटै पालिकामा साइन्स लर्निङ किट प्रदान गर्न बजेट प्रस्ताव गरिएको जानकारी दिए । ‘प्रत्येक तहमा कम्तिमा एउटा विज्ञान प्रयोगशाला प्रस्ताव गरिएको छ’, पोखरेलले कार्यक्रममा भने, ‘त्यसका लागि उपयोगी हुने विज्ञान प्रविधि नीति पनि बन्दैछ ।’

प्रतिक्रिया

प्रतिक्रिया