व्यवसायिक कृषिमा युवा अग्रसरता

आठ करोड पुग्दै लगानी


खगेन्द्र दाहाल

यति बेला देबेन्द्र अधिकारीलाई फुर्सद छैन । हप्तामा एक दिन पनि फार्म भएको स्थानमा समय दिन पाइरहेका छैनन् । विभिन्न कृषक, कृषि फार्म तथा अन्य निकायमा कृषि सिकाईका बारेमा जानकारी दिने देखि तालिम तथा कृषिका नयाँ तौर तरिका र प्रविधि सिकाउन उनको अधिकांश समय जान्छ ।


बाँकेको कोहलपुरमा रहेको उनको नेपाल कृषि विकास फार्म प्रा.लि.ले नर्सरी व्यवसाय, खेती व्यवसाय, सेवा क्षेत्र तथा बजारिकरण लगायतका अन्य सेवामा गरी कुल ४ करोड लगानी पुगिसकेको छ । तीन लाख रुपैँयाबाट सुरु भएको फार्मको कारोबार बढेर करोड पुगेपछि उनले सोही फार्मलाई प्रा.लि.मा स्तरउन्नती गरेका हुन् । फार्मले कोहलपुर ८ मा ग्रीष्म वागवानी नर्सरीसंगै गुलरिया बर्दियामा १० बिगाहा जमीन भाडामा लिएर व्यवसायिक केरा खेती गरिरहेको छ । यसै बर्षदेखि बर्दियाकै बारबर्दियामा १० बिघा जमिनमा व्यवसायिक कागती, अनार, लिचि, मेवा र आँप खेतीसगैँ दैलेखको गुराँस गाउँपालिका पहाड तथा हिमाली क्षेत्रमा हुने बिरुवा साथै आलुको लागि नर्सरी र टिस्युकल्चर ल्याब बनाउन काम सुरु भैसकेको छ ।


बाँकेको खजुरा गाउँपालिका ४ एफ गाँउका २८ वर्षीय देवेन्द्र अधिकारीले खजुरापछि कोहलपुरमा नेपाल कृषि विकास फार्म प्रालि सञ्चालन गरेका हुन् । फार्म सञ्चालन गरेर जिल्लामै आधुनिक तबरले ‘टिस्यू कल्चर’ प्रविधिबाट बेर्ना उत्पादन गर्दै आएका उनले अहिले यो प्रविधिले उत्पादित बेर्नाको माग बढ्दो रहेको वताए । समन्वय भएका प्रायः सबै किसान, कृषि फार्म, सहकारी, संस्था, स्थानीय निकाय लगायत साना नर्सरीहरु, सप्लायर्स, डिपो आदिको लागि प्राथमिक रुपमा तयारी भएका र पूर्ण तयारी भएका गरी दुई थरीका बिरुवा उपलब्ध छन् । उनले २०७१ सालमा बैंकबाट तिन लाख ऋण लिएर खजुरा ४ मा एक बिघा जमिनबाट केरा खेती सुरु गरे । २ लाखको मात्रै केरा रोपे । लाखौमा सुरु गरेको व्यवसाय अहिले करोडमा पुगेको छ । यो व्यवसाय विस्तार गर्न उनले थप एक करोड ऋण लिएका छन् । हाल सम्म फार्म स्थापना र विस्तारका लागि ४ करोड लगानी लगाइसकेका अधिकारीले शितोष्ण बागवानी नर्सरी र टिस्यु कल्चर ल्याव सहितका थप ४ करोडका सामाग्री थप्दै यसै वर्ष कुल ८ करोड लगानी पु¥याउने लक्ष्य राखेका छन् ।


कोहलपुरमा रहेको फार्ममा ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादित विभिन्न प्रजातिका केरा, कागति, अनार, भुइँकटहर, अम्बा, मेवा लगायत गुणस्तरीय रुपमा कलमी वा उन्नत प्रविधि अपनाइएका आँप, लिचि, अंगुर, टिमुर, सुन्तला, नास्पती, दाँते ओखर, अलैँची, किवि, एभोकाडो, आलु आदि र विभिन्न फुलहरु, सो प्लान्टहरु र जडिबुटी तथा वन सम्बन्धिका विभिन्न विरुवा उत्पादन गरी देवेन्द्रले विक्री वितरण गरिरहेका छन् । पछिल्लो ५ बर्षदेखि हालसम्म ३० लाख बढि विरुवा उत्पादन गरिसकेको उनले बताए । गतबर्ष सबै जातका गरेर करिब ७ लाख बिरुवा उत्पादन र बिक्री भयो । ‘यसबर्ष १४ लाख बिरुवा उत्पादन र बिक्री गर्ने योजना बनाएका छौ उनी भन्छन्, ‘कृषि व्यवसाय जोखिमपूर्ण त छ तर सम्भावना पनि धेरै छ, गत बर्ष करिब ३० लाख नाफा भएको थियो ।’


व्यवसायिक कृषि कर्ममा लाग्नुपुर्व देवेन्द्रले स्थानीय सञ्चारमाध्यममा काम गर्थे । विभिन्न परियोजनाहरुको अनुभव पनि लिए । दुवैवाट सन्तुष्टि प्राप्त नभएपछि उनी व्यवसायमा लागेका हुन् । सुरुमा लिएको ज्ञान, सीप र चिनजानलाई सदुपयोग गर्दैे व्यवसायिक कृषि कर्ममै जमेर लागेका छन् । ‘आवश्यकताको पहिचान गरेर राज्यले सहयोग दिन सके यसखालका कामलाई अरुले पनि प्राथमिकता दिन सक्छन्’, देबेन्द्रले आफ्नो काममा रिजम एफपीले सघाएको प्रसंङ उल्लेख गर्दै भने, ‘त्यो पनि हाम्रो आवश्यकतालाई पहिचान गरेर सहयोग दिइयो ।’


टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएका बिउ, बिरुवामा जातीय शुद्धता र गुणस्तरमा विश्वसनीय हुने, नर्सरीमा हुँदासम्म कुनैपनि रोग र भाइरस नलागेको हुने, पछिपनि रोग प्रतिरोधात्मक हुने, पहिलो पुस्ताको हुने, बिरुवा एकनासले हुर्कने, एकनासले फल्ने, धेरै फल्ने, सबै फल बिक्री गर्न योग्य गुणस्तरीय हुने, ढुवानी तथा काम गर्न सजिलो हुने र अन्य बिरुवा भन्दा अलिछिटो फल्ने भएकाले व्यवासायिक किसानको पहिलो रोजाईमा परेको उनको भनाइ छ । उनी भन्छन्, ‘किसानको आयस्तरका साथै कृषि उत्पादन बढाउने हो र देशलाई कृषिमा आत्मनिर्भर बनाउने हो भने मुल बिउ बिरुवाको स्रोत उच्च गुणस्तरको हुनु पर्छ, खेती प्रणाली आधुनिक हुनुपर्छ । सबै स्थानीय निकाय र कृषि सम्बद्ध सरोकारवालाहरुले टिस्यु कल्चर प्रणालीलाई अवलम्बन गर्नुपर्छ ।’


‘टिस्यूकल्चर’ प्रविधिबाट केराको जि नाइन, विलियम हाइब्रिड, मालभोग, रातो केरा आदी जातका केराहरुका साथै कागतिका विभिन्न जातहरु जस्तैः सुन कागती, थाई सिड्लेस, मद्रास हाईब्रिड, अनारको सुपर भगवा, भगवा, मृदुला, गणेश, अम्बाको थाइ केजी, सिड्लेस, भुईकटरको यामडि टु, क्वीन, ज्वायन्ट क्यू, र रेड लेडी मेवाको बेर्ना उत्पादनको समेत सुरुवात गरिएको देवेन्द्रले बताए ।


अहिले उनीसंग २ लाख केरा, ५० हजार सुन कागती, ३० हजार थाई सिड्लेस कागती, १० हजार भुईकटहर, २० हजार थाई केजी अम्बा, सुपर भगवा अनार २० हजार, लिची १० हजार, टिमुर १ लाख, आँप ३० हजार र अन्य बिरुवा करिब ५० हजार गरी ५ लाख ५० हजार बिरुवाहरु तयारी स्टकमा रहेको छ । नेपाल कृषि विकास फार्मले विरुवा मात्र विक्री नगरेर आफै फलफुलको पनि खेती गर्दे आएको छ । बर्दियाको गुलरियामा व्यवसायीक रुपमा १० बिगाह क्षेत्रफलमा केरा खेती गर्दै आएको फार्मले बर्दियाको बारबर्दियामा १० बिगाह जमिनमा उच्च गुणस्तरका अनार, कागती, अम्बा, लिचि, आँप र मेवा समेतको खेती गर्न तयारी गरिरहेको छ ।
विगत ५ वर्ष देखि हालसम्म ३० लाख विरुवा बिक्री गरिसकेका देवेन्द्रले तराई पहाड र हिमाली गरी ४० जिल्लासम्म विरुवाको वितरण गरेको बताए । किसानलाई गुणस्तरीय विरुवा उपलव्ध गराउन कटिबद्ध भएर लागेको देबेन्द्र बताउँछन् ।

‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादित विरुवा पाउन किसानहरुलाई जुन किसिमको समस्या हुन्थ्यो, त्यो समस्यालाई नेपाल कृषि विकास फार्म प्रालिले समाधान गर्ने प्रयास गरिरहेको अधिकारीले बताए । पहिले अगुवा किसानहरुले निकै प्रयास पछि मात्र ‘टिस्यूकल्चर’को विरुवा पाउने सम्भावना थियो भने बाँकेको कोहलपुरमा देवेन्द्र अधिकारीले सञ्चालन गरिरहेको कृषि फार्मबाट सहज रुपमा पाइरहेका छन् । देवेन्द्रले साना तथा विपन्न किसानहरुलाई मध्यनजर गर्दे प्रति विरुवामा १५ प्रतिशत सम्म छुट दिएको बताए । उनले जुनसुकै प्राविधिक सहयोग सबै किसानहरुलाई निःशुल्क रुपमा दिदै आएको बताए । उनी भन्छन्, ‘हामी आफु पनि सुहाउँदो आधुनिक प्रविधि र खेती गर्ने तरिकाको उपयोग गर्छौ, अरुलाई पनि त्यहि सल्लाह दिन्छौं । व्यवसायले धान्न नसक्ने महँगो प्रविधि अपनाउँदैमा व्यवसायिक भइँदैन, प्रविधि बिना पनि व्यवसायबाट गुणस्तरीय उत्पादन बजारमाग अनुसार दिन सकिदैन ।’ समय, लगानी र श्रमको बचत पनि हुने उत्पादन पनि बढी हुने गरी नयाँ तौर तरिकाले खेती विस्तार गर्नूपर्ने उनको भनाइ छ ।


देवेन्द्रले हरेक वर्ष विउ उत्पादनलाई बढाउन योजना बनाउने गर्छन् । उनी भन्छन्, ‘बार्षिक योजना सहित व्यवसायलाई प्रतिवर्ष बढाउदै लगेको छु ।’ उनले किसानलाई विरुवा मात्र उपलव्ध गराउँदैनन् साथमा आवश्यक सल्लाह सुझाव दिदै किसानले सरकारी अथाव गैर सरकारी निकायबाट पाउने सेवा सुविधाको लागी प्रस्ताव लेखन समेत निःशुल्क गरीदिने गरेका छन् । किसानलाई व्यवसायिक योजनाको तालिम, उद्यमशीलताको तालिम, व्यवसायिक सम्भाव्यता अध्ययन, परियोजना रिपोर्ट, बिमा तथा ऋण समन्वय, बजारिकरणमा सहजिकरण आदि सहयोग पनि निःशुल्क दिने गरेका छन । बिरुवा लिने किसान वा निकायले फिल्डमा प्राविधिकको आवश्यकता छ भनेमा जतिसक्यो चाँडो निशुल्क प्राविधिकलाई समेत किसानको खेतमा पुर्याउछन । बर्षभरी किसान वा सरोकारवालाहरुलाई कुनै समस्या भए आफु वा बिषय सम्बन्धित व्यक्तिलाई पठाउँछन् । आफ्नो फार्मको बारेमा बुझ्न आउने किसानहरुलाई व्यवसायिक बन्न प्रेरित गर्न पछि हट्दैनन् ।


नेपाल कृषि विकास फार्म प्रालिमा हाल दैनिक १२ जनालाई मासिक तलवका रुपमा रोजगारी दिएका छन् भने कामको चापको आधारमा २० जना भन्दा बढीसम्म दैनिक उक्त फार्मबाट स्थानीयले रोजगारी पाएका छन् । यसै बर्ष बर्दियामा व्यवसायिक खेती विस्तार र दैलेखमा शितोष्ण नर्सरी र टिस्युकल्चर ल्याब सञ्चालन हुने बित्तिकै थप २० जना मासिक तलबमा रोजगारी सिर्जना हुने उनले जानकारी दिए । फार्ममा विभिन्न प्रयोगात्मक तालिम, अवलोकनका साथै विभिन्न कृषि पढाइहुने विद्यालयबाट प्रयोगात्मक अभ्यासको लागी पनि आउने गरेका छन् । कृषि सिकाई केन्द्रको रुपमा विकास गर्दै लगेमा व्यवहारिक शिक्षा प्राप्त गर्ने जोसुकैले पनि व्यवसायिक कृषि गर्न सक्ने उनको भनाइ छ । उनका अनुसार यस फार्मलाई वागवानी सम्बन्धि बिउ बिरुवाको निजी स्रोतकेन्द्रको रुपमा विकास गरिँदै छ ।

प्रतिक्रिया

प्रतिक्रिया