विज्ञान, प्रविधिको प्रादेशिक राजधानी बन्ने अवसर
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को प्रादेशिक प्रतिष्ठान नेपालगन्जमा स्थापना गरिने भएको छ । शनिबार नेपालगन्जमा सुरु भएको तीन दिने बैज्ञानिक लेखनबृत्ति सम्बन्धित तालिम उद्घाटनका क्रममा नाष्टका नाष्टका वरिष्ठ वैज्ञानिक सुरेश ढुंगेलले नाष्टको प्रादेशिक एकेडेमी नेपालगन्जमा स्थापना गर्न लागेको जानकारी दिएका हुन् ।
विज्ञान प्रविधि र नव प्रवर्तनको नयाँ नीति बन्न लागेको जानकारी दिंदै वरिष्ठ वैज्ञानिक ढुंगेलले त्यसक्रममा बुटवलमा आयोजित अन्तरक्रियामा सरकारका सचिवले नाष्टको प्रादेशिक कार्यालय नेपालगन्जमा सञ्चालनमा ल्याउने आधिकारिक रुपमा जानकारी दिएको बताएका हुन् । ‘प्रादेशिक राजधानी बुटवल नै भएपनि नाष्टको प्रादेशिक कार्यालय नेपालगन्जमा नै हुनेछ’, वैज्ञानिक ढुंगेलले भने, ‘त्यसका लागि टेण्डर समेत आव्हान गरिसकिएको छ ।’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) प्रादेशिक संरचना अनुसार कार्यान्वयनमा आएको हो । नाष्ट यसअघि राजधानी केन्द्रमा मात्र रहँदै आएकोमा मुलुक संघीय संरचनामा गएपछि उसले पनि आफूलाई प्रादेशिक संरचनामा रुपान्तरण गरेको हो । प्रदेश राजधानीमा कार्यालयहरु केन्द्रित हुने गरेपनि नाष्टले नेपालगन्जमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याउन लागेको हो । ‘प्रशासनिक राजधानी बुटवल वा अन्य ठाउँमा भएपनि विज्ञान प्रविधिको राजधानी प्रदेश नं. ५ को नेपालगन्ज नै बन्दैछ,’ उनले भने, ‘यो नेपालगन्जका लागि महत्वपूर्ण अवसर हो ।’
नाष्टको प्रादेशिक कार्यालय नेपालगन्जमा स्थापना भएपछि युवा, वैज्ञानिक तथा प्राविधिकको क्षमता अभिवृद्धि, प्रोत्साहन लगायत अनुकूल वातावरण उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ । नाष्टले शनिबारदेखि सुदूरपश्चिम, कर्णाली र प्रदेश नं. ५ को केन्द्रका रुपमा नेपालगन्ज रहेको भन्दै यस क्षेत्रका प्रध्यापकहरुलाई वैज्ञानिक लेखनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गरिरहेको छ । ३६ जना सहभागी रहेको तालिम आज सोमबार सकिंदैछ ।