नर्सिङ पढेर विदेशिने सपना

निशु जोशी

मानवीय सेवाको सम्मानित पेशा नर्सिङ । विरामीका लागी चाडवाड समेत नभनेर खटिनुपर्ने पेशा भएपनि सरकारले नर्सहरुलाई उचित सेवा सुविधा दिन नसक्दा नर्सहरु पलायन हुन थालेका छन् । हेर्दा आकर्षक पेशा देखिए पनि नर्सको दुःख राज्यले बुझ्न नसकेको उनिहरुको दुःखेसो छ ।


अहिलेपनि बाँकेमा झण्डै ५ सय नर्स छन् । वर्षेनी एक हजारको हाराहारीमा नर्सिङ अध्ययन गरिरहेका छन् । कालीकोटबाट नर्सिङ पढ्न नेपालगन्ज आउनुभएकी अन्जु सिंह अहिले पिसीएल दोश्रो वर्षमा अध्ययनरत छन् । सेतो कोटमा सजिएर विरामीको सेवा गर्ने सपना बोकेर नेपालगन्ज आएकी अन्जु जस्तै प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवतीहरु अनेकौ सपना बोकेर नर्सिङ पढ्न नेपालगन्ज आउने गरेका छन् । गुलरिया बर्दियाबाट गृष्मा ओली पनि वाल्यकालदेखिको नर्स बन्ने सपना पुरा गर्न नेपालगन्ज आइन् । होष्टेलमा बसेर ३ वर्षे पिसीएल नर्सिङ कोर्ष पढ्दै गरेका उनीहरुलाई पढाई पुरा गरिसकेपछि जागीर नपाइएलाकी भन्ने चिन्ताले छोइसकेको देखिन्छ ।


यति मात्रै होइन, विद्यार्थीसंगै अभिभावकले पनि छोरीको भविष्य राम्रो बनोस् भन्ने अपेक्षाले नर्स पढ्न पठाएका छन् । नेपालगन्ज कारकादोकी कल्पना कार्की वाल्यकालदेखिको नर्स बन्ने सपना र बुवाको सपना पुरा गर्न पढिरहेको बताउँछिन् । तर, उनलाई पनि आफ्नो र परिवारको सपना पुरा हुनेमा आशंका छ । उनी पनि आफुभन्दा अग्रजहरुले पढाई पुरा गरिसकेपछि जागीर नपाएको देख्दा मन खिन्न छ ।


धेरैले नेपालमा नर्सिङ पिसीएलको ३ वर्षे कोर्ष पुरा गरिसकेपछि जागीर पाएका छैनन् । त्यसैले अहिले नेपालगन्जमा नर्सिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले विदेश जाने सपना बुनिसकेको देखिन्छ । पहिलो प्राथमिकता लोकसेवा आयोग लड्ने र काम नपाएपछि विदेश जाने साेंच रहेको कार्कीले दैनिक नेपालगन्जसँग सुनाइन् । कार्की जस्तै अधिकांश विद्यार्थीहरुले अहिलेको परिस्थीति देखिसकेपछि विदेश जाने सपना बुन्न थालेको बताउँछन् ।


मान्यताप्राप्त शिक्षण संस्थाबाट तीन वर्षको कोर्ष सकेपछि पिसीएल नर्सिङ पुरा हुन्छ । नर्सिङ पुरा गर्न ७ देखि ९ लाख रुपैयासम्म खर्च लाग्ने गरेको छ । नेपालमा जागीर पाउनै मुस्कील, पाएपनि न्युनतम पारिश्रमिक पाउने गरेको सुनेपछि पढाईले सार्थकता नपाउने हो कि भन्ने डरमा विद्यार्थीहरु रुमल्लिएका हुन् । नेपालगन्ज रामवागकी सन्जीला सिंह ठकुरीले पनि पढाई पुरा गरेपछि विदेश जाने सोंच बनिसकेको सुनाउँदै भनिन्, ‘सरकारले पढाई अनुसार न्युनतम पारिश्रमिक र अन्य देशमा जस्तो महत्व दिनुपर्छ ।’


आकर्षण भने उस्तै
समस्या नै समस्या भएपनि यो पेशाप्रति आकर्षण घट्नुको साटो झन् झन् बढ्दै गएको पाइएको छ । धेरै समस्या भएपनि नर्सिङ पढ्नेहरुको आकर्षण दिन प्रतिदिन बढ्दो छ । अझ पुरुषको संख्या ह्वात्तै बढेको छ ।


पछिल्लो समय पुरुषहरुले पढ्न पाउने प्रावधान बनाएपछि पुरुषहरु समेत यस पेशा प्रति आकर्षित हुन थालेका हुन् । अस्ट्रेलिया, अमेरिका, क्यानाडा, नर्वे लगायतका देशमा कमाई राम्रो हुने भएका कारण आकर्षण बढेको नर्सिङ अध्यापन गराइरहेकाहरु बताउछन् ।


शिक्षिका मीरा भट्टराई मध्यपश्चिम प्राविधिक शिक्षालयमा २ वर्षदेखि पढाउदै आएकी छन् । ‘३ वर्षे कोर्ष पढ्ने बित्तिकै जागीर पाउने, विरामीहरुको हेरचाह गर्न पाउने, जहाँसुकै काम गर्न सकिने भएकाले राम्रो आकर्षण छ,’ भट्टराई भन्छिन्, ‘तर मिहिनेत अनुसारको फल पाउन सकिरहेका छैनन् ।’ तरपनि विद्यार्थीहरुको आकषण नघटेको उनको भनाइ छ ।


स्वदेशमा रोजगारी पाउन नसकेपनि विदेश जान पाउने अपेक्षा बोकेर विद्यार्थीहरु पढ्न आउने गरेको जानकारी दिंदै शिक्षक समीक्षा केसीले नेपालमा लोकसेवा आयोगमा जति खुल्नुपर्ने त्यति कोटा नखुल्ने गरेकोले पनि समस्या बल्झिाएको बताइन् । एउटा अस्पतालमा १ जना नर्सले नै सबै विरामी हेर्नुपर्ने वाध्यता भएकाले नर्सको दरवन्दी बढाउनुपर्ने अवस्था रहेको केसीको भनाइ छ ।


नर्सहरु १२ घण्टा सम्म दिनरात नभनि काम गर्छन् । तर, उनिहरुले निकै कम ज्यालादारीमा काम गर्दै आइरहेका छन् । सरकारले न्यूनतम पारिश्रमीक १६ हजार रुपैंया तोकेपनि अहिलेपनि नर्सहरुले ५ हजार रुपैंया देखि १५ हजार रुपैंयासम्म काम गर्न बाध्य रहेको पाइएको छ ।
बाँकेमा पनि कतिपयले अझैपनि स्वयम्सेवा गर्नुपरेको दुःखद अवस्था रहेको नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी ओलीको भनाइ छ । ‘नर्सलाई सरकारले सम्मान पनि दिन सकेन,’ अध्यक्ष ओलीले भनिन्, ‘पितृसतात्मक सोंचले गाँजेका कारण नर्सहरुलाई उपेक्षा गरिएको हो ।’
पछिल्लो समय नर्सिङ पढाउने कलेजहरु बढिरहेको, तर सरकारले सम्मान गर्न नसकेको अध्यक्ष ओलीको गुनासो छ । सरकारले गर्ने सम्मानमा कन्ज्युस्याइ त छ नै, नर्सहरुको सेवा सुविधा झन दयनीय छ । स्वयम्सेवा गर्नुपरेको अवस्था रहेको बताउदै अध्यक्ष ओलीले संघले स्वयम्सेवा अन्त्य गर्ने भनेपनि भित्रभित्र नाजुक अवस्था रहको बताइन् ।


‘मेडिकल कलेजहरुले ५ हजार देखि ८ हजारमा पनि काम गराइहेको लाजमर्दो अवस्था छ,’ अध्यक्ष ओलीले काम नपाएकाले स्वयम्सेवा गर्न वाध्य हुनुपर्ने नर्सहरुको अर्को वाध्यता औल्याउँदै भनिन्, ‘पुरुष प्रधान समाजका कारण महिलालाई डोमीनेट गरियो ।’ निर्णायक तहमा समेत महिला नभएका कारण पनि थप समस्या नर्सहरुले भोग्नुपरेको ठम्याइ ओलीको छ ।


स्थानीय प्रदेश र संघ सरकार आएपनि नर्सहरुका लागी पर्याप्त कोटा नछुट्याएको भन्दै नेपाल नर्सिंङ संघले स्वास्थ्य मन्त्रीलाई भेटेर समस्याबारे ज्ञापन पत्र बुझाएपनि सुनुवाई नभएको अध्यक्ष ओलीले दुखेसो पोख्ने ठाँउ संघ भएपनि कार्यान्वयन सरकारले गर्नुपर्ने उहाँको धारणा छ । पितृसतात्मक साेंच भएकै कारण पुरुषहरुलाई पनि नर्सिंङमा समावेस गराउने प्रावधान बनाइएको टिप्पणी गर्दै ओलीले सरकारले सौतेनी आमाको छोराछोरी जस्तो व्यवहार गरिरहेको टिप्पणी गरिन् । बाँकेमा एउटा एएनम, टियुको एक र अन्य गरी ७ वटा कलेज सन्चालनमा छन् ।

नर्सिङ दिवस मनाइयो

विभिन्न कार्यक्रम गरि नेपालगन्जमा आइतवार अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुले बिरामीहरुलाई फलफूल वितरण लगायतका कार्यक्रम गरि नर्सिङ दिवस मनाएका हुन् ।
१९९ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाउने क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुले कार्यक्रमको आयोजना गरेका हुन् । अस्पतालका २५० जना जति बिरामीहरुलाई फलफूल वितरण गरिएको नर्सिंङ संघ बाँकेकी सदस्य देवमाया घलेले जानकारी दिइन् ।


मेट्रोन ममता शर्मा, नर्सिङ अधिकृत सुमन गिरी, सुबिना खरेल, हरिना जोशी, इन्चार्जहरु कोहिनुर फारुकी, झरना बुढाथोकी, अनिता थापा, अनिता अधिकारी लगायत नर्सिङ कर्मचारीहरु तथा शुभचिन्तकहरुको उपस्थिति रहेको उक्त फलफुल वितरण कार्यक्रममा नर्सिङ अधिकृत सुमन गिरीले धारणा राखिन् । सामुहिक रुपमा फ्लोेरेन्स नाइटिंङ्गलको तस्वीरमा माल्यार्पण, द्वीप प्रज्वलन तथा तस्वीरमा टीका लगाइ कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया