नेपालगन्जन्युज
बाँके जिल्ला अदालत यतिबेला दिनको साढे २ बजिरहँदा भरिभराउ छ । त्यो पनि अधिकाँश महिलाले भरिएको अदालत परिसरमा ४ नम्बर बेन्च सबैको केन्द्र बनेको छ ।
जिल्ला न्यायाधीश अनिल कुमार शर्माको इजलाशमा पहिलो पटक पुगेको स्वस्तिका लिम्बु प्रकरण सुनुवाईमा बहस सुन्न ठुलो संख्यामा महिलाहरु पुगेका हुन् । अवस्था कतिसम्म छ भने, अभियुक्तलाई आक्रोशित पीडितका आफन्तले झण्डै हातपातको अवस्था आएपछि सुरक्षा व्यवस्था बढाइएको छ ।
स्वस्तिका लिम्बुको हत्या भएको भन्दै संलग्नलाई कडा कारबाही सहित दिनहुजसो प्रदर्शन भइरहँदा प्रहरी अनुसन्धान सकि आज आइतवार पहिलो पटक जिल्ला अदालत बाँकेमा अभिय’क्तसहित आन्दोलनकारीहरु समेत उभिएका हुन् ।
२०७६ नयाँ वर्षको दिन नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरमा १९ बर्षीया स्वस्तिकाको रहस्यमय तरिकाले मृत्यु भएको थियो । परिवारले आत्महत्या गरेको बताएपनि माइती पक्षले हत्या नै गरेको दाबी गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।
स्वस्तिकाको उनका श्रीमान भृकुटीनगरका २० बर्षीय ‘आशिष’ भनिने मुकेश बुढा क्षेत्रीले नै हत्या गरेको माइतीको दाबी छ । घटनालाई लिएर कतिपयले राजनीतिक चलखेलको आरोपमा नारा लगाइरहेका छन् । प्रहरीले घटनाको पहिलो दिनदेखिनै चलखेलको आरोपलाई खारेज गर्दै आएको छ ।
आशिष र स्वस्तिकाबीच करिव ६ महिनाअघि प्रेम विवाह भएको थियो । ६ महिनामै श्रीमति गुमाएका आशिष प्रहरी हिरासतमा छन्, त्यो पनि प्रेम अनि विवाह गरेकी जीवन संगिनीको हत्या अभियोगमा । उनीप्रतिनै आफन्तको शंकाको तरबार झुण्डिएको छ ।
पक्षले भने घटनाको प्रकृति हेर्दा हत्या नै भएको भन्दै राजनीतिक दवावमा घटनाका दोषीलाई उन्मुक्ती दिन खोजिएको दावी सहित संघर्ष समितिनै बनाएर विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएका छन् । स्वस्तिकाले माइत जान नपाएकै झोंकमा झुण्डिएर आत्महत्या गरेको बयान आशिष प्रहरी समक्ष गरेको बताइएको छ । ‘बयान सबै सकिएकाले आज सुनुवाई तोकिएको छ,’ प्रतिवादी एक जना कानुन व्यवसायीले नेपालगन्जन्युज सँग भने, ‘वादी र प्रतिवादी दुबै तिरबाट ठुलो संख्यामा चुनिन्दा वकिलहरु बहसका लागि तम्तयार छन् ।’
‘विषयसँग चासो राख्ने पत्रकार पनि उत्तिकै अदालत पुगेका छन्, दैनिक नेपालगन्ज सहकर्मी ज्ञानुसंगमले नेपालगन्ज न्युजसँग भने, ‘सम्भवतः ३ बजेबाट बहस शुरु हुन्छ ।’