‘शिक्षामा निर्धक्क लगानी गर्नुस्’

नेपालगन्जलाई शैक्षिक हबका रुपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको भन्दै शिक्षा क्षेत्रका लगानीकर्ताहरुले निर्धक्क लगानी बिस्तार गर्न आव्हान गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पदाधिकारीहरुले नेपालगन्जलाई शैक्षिक हबका रुपमा विकास गर्न सकिने आंैल्याएका हुन् ।


‘शिक्षामा वैदेशिक लगानी समेत भित्र्याएर नेपालगन्जलाई शैक्षिक हबका रुपमा विकास गर्ने प्रशस्त सम्भावना देखिएको छ’, हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले शनिबार बाँके, बर्दियाका संस्थागत विद्यालय सञ्चालकहरुलाई सम्बोधन गर्दै भने, ‘निर्धक्कसँग शिक्षा क्षेत्रमा लगानी गर्नुस् ।’ नीतिगत रुपमै शिक्षा क्षेत्रका विभिन्न सुधारका प्रयासहरु औंल्याउँदै सिलवालले नेपालमा निजी क्षेत्र विना शिक्षाको विकास ‘कल्पना नै गर्न नसकिने’ दाबी गरे । ‘कुनै पनि अर्थले नेपालमा निजी क्षेत्रले गरेको शैक्षिक लगानी डुब्ने अवस्था छैन’, हिसानका केन्द्रीय अध्यक्ष सिलवालले भने, ‘अब निजी विद्यालयहरु बन्द भयो भने सञ्चालकहरु कै कमजोरीका कारण हुन्छन् ।’


झण्डै एक घण्टा लामो सम्बोधनका क्रममा हिसान अध्यक्ष सिलवालले नेपालगन्ज पश्चिम क्षेत्रको आर्थिक विकासको केन्द्रका रुपमा विकसित हुँदै गैरहेको भन्दै त्यसैका आधारमा शिक्षा आर्जनका लागि पनि आकर्षित गन्तव्य बन्न सक्ने औंल्याए । ‘भारतका नाम चलेका शिक्षकहरु ल्याएर नेपालगन्जमै स्तरीय शिक्षा उपलब्ध गराउन तिर केन्द्रित हुनुस्’, सिलवालले स्थानीय आवश्यकतामा आधारित शिक्षाको विकास गर्न जोड दिंदै भने, ‘एक ढिक्का भएर अगाडि बढ्न सके राज्यको नीति तपाईका लागि सहयोगी नै बन्ने देखिएको छ ।’ उनले ‘वीन–वीन’ को अवस्थामा शिक्षामा वैदेशिक लगानी भित्र्याउन सकिने पनि धारणा राखे ।


हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले पछिल्लो सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँदै गएको बताए । उनले शिक्षा नीतिले संस्थागत विद्यालयलाई निरुत्साहित गर्नेमा आफु विश्वस्त नरहेको धारणा राख्दै राज्यलाई योग्य मानव स्रोत उत्पादनको जिम्मेवारी निजी क्षेत्रले वहन गरिरहेको बताए । ‘गुणस्तरमा सम्झौता नगरे निजी क्षेत्रले शिक्षामा गरिएको लगानी डुब्दैन’, वरिष्ठ उपाध्यक्ष शर्माले नेपालगन्ज पश्चिम क्षेत्रकै शैक्षिक हबका रुपमा विकास हुने सम्भावना औंल्याउँदै भने, ‘दीर्घकालीन योजना बनाएर लगानी गर्न तिर लाग्नुस् ।’ उनले अर्बौ रकम गुणस्तर शिक्षाका लागि बाहिरिएको दृष्टान्त प्रस्तुत गर्दै भने, ‘उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा नेपालगन्जलाई विकसित गर्न सकिने सम्भावना छ ।’


हिसान बाँके÷बर्दियाको चौथो अधिवेशन उद्घाटनमा सहभागी अधिकांस वक्ताहरुले निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदानलाई राज्यले प्रोत्साहित गर्न नसकेको टिप्पणी गरे । उल्टै निरुत्साहित गरेर आफुलाई बेलाबेलामा निराशा उत्पन्न गराइ दिने गरेको गुनासो निजी विद्यालय सञ्चालकहरुको थियो । ‘चन्दा आतंकले बेहाल भएको’ गनासो पनि उनीहरुले गरिरहेका थिए ।
हिसानका उपाध्यक्ष इश्वर पोखरेलले बाँके, बर्दियाका संस्थागत विद्यालयहरुको परीक्षा प्रणालीमा सुधारमा जोड दिए । उपाध्यक्ष पोखरेलले निजी क्षेत्रमा गरिएको लगानीको सुरक्षा र सुनिश्चितताका लागि बारम्बार प्रश्न उठ्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको भन्दै पोखरेलले भने, ‘हाम्रो लगानी र भविष्य सुरक्षित छ भन्ने कुराको सुनिश्चितता हुनैपर्छ ।’ उनले विद्यार्थी सीमापारी जाने संस्कार न्यून हुँदै गएको पनि बताए ।


हिसानका केन्द्रीय सदस्य विद्यमान राज भण्डारीले संस्थागत विद्यालयहरुलाई राज्यले सहुलियत नदिएको गुनासो गरे । ‘हामीलाई चौतर्फी हेयको दृष्टि लगाइएको छ’, प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र कुमार आचार्यले भने, ‘राज्यबाट पनि हतोत्साहित गरिएको छ, प्रताडित गरिएको छ ।’ हिसानका सदस्य अर्जुनलाल नेवारले संगठित ढंगबाट संस्थागत विद्यालयको सुधारका लागि निरन्तर प्रयत्नरत रहेको जानकारी दिए । ‘हिसानलाई अझ बिस्तार र विकास गरी निजी विद्यालय र कलेजहरुको हकहित संरक्षणका लागि नीतिगत सुधार सहित अगाडि बढ्दैछौं’, हिसान बाँके, बर्दियाका अध्यक्ष डा. अवनिन्द्र दत्त मिश्रले कार्यक्रमको अध्यक्षता गर्दै भने, ‘आगामी दिनमा संस्थागत गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लगिने छ ।’


कार्यक्रमको सहजीकरण गरिरहेका हिसानका सचिव नारायण दत्त उपाध्यायले पछिल्लो कार्यकालमा गरिएका सम्पूर्ण सांगठनिक गतिविधि र कोषाध्यक्ष निर्मल उपाध्यायले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार नै सकिएको छ । अधिवेशनमा हिसानकप खेलकुद प्रतियोगितामा बिजयी बिद्यालयका बिद्यार्थीहरुलाई केन्द्रीय अध्यक्ष सिलवाल लगायतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया