बाँकेका कतिपय संस्थागत विद्यालयहरु कानुन पालनामा अटेर देखिएको भन्दै सम्बद्ध शिक्षा अधिकारीले कडा शब्दमा चेतावनी दिएका छन् । ‘ख्याल गर्नुस् तपाईहरुमा कानुन पालनामा समस्या देखिएको छ’, हिसान बाँके÷बर्दियाको चौथो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा शिक्षा अधिकारी राम सुरेश यादवले भने, ‘अब स्वेच्छाचारिताले चल्दैन ।’
संस्थागत विद्यालयको कतिपय व्यवहारका कारण आफुहरुलाई पनि ‘अप्ठ्यारो’ परेको संकेत गर्दै जिल्ला शिक्षा विकास समन्वय इकाइ बाँकेका प्रमुख यादवले संस्थागत विद्यालयका सञ्चालकहरुसँग भने, ‘भर्नादेखि विद्यालय सञ्चालनसम्म अवैध असुलीका गुनासाहरु प्रशस्त आइरहेका छन् ।’
संस्थागत विद्यालय सञ्चालकहरुले चन्दा दिइरहनु परेको गुनासो व्यक्त गरिरहँदा जिल्ला शिक्षा समन्वय अधिकारी यादवले कठोर शब्दमा भने, ‘गलत काम गर्नुभएको छैन भने किन चन्दा दिने ?’ उनले चलाउन नसक्ने विद्यालयहरु कक्षाका स्वीकृति लिएर झोलामा राख्ने काम भैरहेको भन्दै त्यस्तो झोले विद्यालय बन्द गर्न हिसान, प्याब्सन जस्ता संस्थाहरु अग्रसर हुनुपर्ने धारणा राखे ।
राज्य पुनर्संरचनापछि शिक्षामा पनि अधिकार क्षेत्रको जटिलता तर्फ संकेत गरेका यादवले नेपालगन्जमा पछिल्लो पटक कक्षा १२ को परीक्षामा देखिएको विकृति लाजमर्दो भएको टिप्पणी गरे । ‘सेटिङमा चिटिङ जस्ता समाचारले हामीलाई लज्जाबोध गराएको छ’, यादवले प्लस टु सञ्चालित विद्यालयहरु तर्फ संकेत गर्दै भने, ‘चिट सम्म त विद्यार्थीहरुले पुर्याए होलान्, बोराका बोरा किताब कसरी भित्र पस्यो ?’ कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरका प्रमुख गिरभान थापाले परीक्षा पद्धतिलाई सुधारका लागि सबैको साथको अपेक्षा गरेका थिए ।