ग्राहक र किसान बीच सोझो सम्पर्कका लागि हाट बजार आवश्यकता महसुस
बाँकेका किसानहरुले कृषि उत्पादन बिक्रीमा उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । किसानहरुले उब्जनी गरेको तरकारी लगायतको बजारीकरणमा समस्या रहेको भन्दै उनीहरुले स्थानीय स्तरमा कृषि बजारको आवश्यकता औंल्याएका हुन् । बिहीबार दैनिक नेपालगन्जको सम्यक संवादमा सहभागी कृषि क्षेत्रका प्रतिनिधिमूलक अगुवाहरुले बाँकेमा कृषि उत्पादन बढेपनि किसानले त्यसको उचित मूल्य पाउन नसकेको बताएका हुन् ।
सम्यक संवादमा बोल्दै नेपाल कृषि विकास फार्मका सञ्चालक देबेन्द्र अधिकारीले खुला सीमानाका कारण नेपाली कृषि उपजले बजारमा प्रतिस्पर्धा गर्न समस्या हुने गरेको धारणा राखे । ‘भारतका विना भन्सार भित्रिने कृषि उपज सँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिन हुने गरेको छ’, उनले भने, ‘उत्पादनमै लागत बढी परेका कृषि उत्पादनले बजारमा उपयुक्त मूल्य पाउन सकिरहेका छैनन् ।’
पछिल्लो समय बाँकेमा कृषि उद्यम तर्फ आकर्षण बढेको छ । तर, न्यूनतम मार्जिनमा काम गर्नुपर्ने बाध्यता रहेको श्री हरियाली कृषक समूह बैजनाथका दिपक कुमार थारुले बताए । अधिकांश भारतीय उत्पादन स्थानीय उत्पादन भन्दा सस्तोमा बिक्री हुने गरेको थारुले बताए ।
खजुरा गाउँपालिका स्थित एकता मिहला किसान समूहकी तारा ज्ञवालीले पनि खुला सीमाका कारण नेपाली उत्पादनले पर्याप्त मूल्य पाउन नसकेको बताइन् । ‘भारतीय कृषि उपजको मूल्यमै हामीले आफ्ना उत्पादन बिक्री गर्न बाध्य हुनुपरेको छ’, उनले भने, ‘त्यसैले हाम्रा उत्पादनले उचित मूल्य पाउन सकिरहेका छैनन् ।’
विभिन्न किसिमका तरकारी र फलफुलका बिरुवा उत्पादन गर्दै आएका नेपाल कृषि विकास फार्मका सञ्चालक अधिकारीले राज्यले नीतिगत रुपमै स्थानीय उत्पादन प्रवद्र्धनको व्यवस्था गर्नुपर्ने बताए । ‘स्थानीय तहले बाँड्ने तरकारी तथा फलफूलका बिरुवा समेत बाहिरबाट आयात गरिन्छ’, उनले भने, ‘यसले यहाँको कृषि उद्यमलाई फष्टाउन असहयोग पुग्छ ।’ केही स्थानीय तहको उदाहरण समेत दिंदै उनले नमूनाका रुपमा भएपनि आफ्ना विरुवा खरिद गर्न गरिएको प्रस्ताव अस्वीकार गरिएको बताए । ‘आफ्नै ठाउँमा उत्पादित विरुवा बाँड्ने हो भने त्यसले यहीको कृषि क्षेत्र फष्टाउने मात्रै होइन उद्यमीलाई जिम्मेवार समेत बताउँछ’, उनले भने ।
भारतीय किसानका तरकारी, फलफुल जन्य उत्पादन उनीहरुको खेतबाट नेपाली बजारसम्म पुग्दा त्यसको गुणस्तरमा ह्रास आइसक्ने गरेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ । ‘हामी दुई रुपैयाँ सस्तोको लोभमा आफ्नो स्वास्थ्यको ख्याल गरिरहेका हुँदैनौं,’ उपभोक्ता आफै पनि सचेत हुनुपर्ने उल्लेख गर्दै श्रेष्ठले भने ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि कार्यक्रम (रिज्म) नेपालगन्जका प्रमुख गोकर्ण अर्यालले स्थानीय उत्पादनको प्रवद्र्धन नागरिक स्तरबाट नै सुरु हुनुपर्ने धारणा राख्छन् । ‘कागजी योजना, नीति र बोलेर मात्रै हुँदैन स्थानीय कृषि उपजलाई प्रवद्र्धन आफैबाट सुरु गरिनुपर्छ’, अर्यालले भने, ‘सस्तो मात्रै हेर्नु भन्दा स्वास्थ्यको ख्याल पनि गरिनुपर्छ ।’ आफुले खानाका लागि प्रयोग गर्ने कृषि उपज कहाँबाट ल्याइएको हो र त्यो कुन गुणस्तरको छ भन्नेमा उपभोक्ता सचेत हुर्ने अर्याल बताउँछन् ।
किसानहरुले भने भारतबाट आउने कृषि उपजमा कर लगाउने र त्यसको नियमनमा कडाई गरेमात्र नेपाली उत्पादन फष्टाउन सक्ने बताउँछन् । श्री हरियाली कृषक समूह बैजनाथका किसान दिपक कुमार थारु भन्छन्, ‘खाद्य पदार्थ उपभोक्ताको स्वास्थ्य सँग जोडिने हुनाले त्यसको गुणस्तर भन्सारमा नै परीक्षण गर्ने व्यवस्था मिलाइनु पर्छ ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपाली उत्पादकको पहुँच सिधै उपभोक्तासम्म नहुँदा उचित मूल्य किसानले पाउन नसकेको बताउँछन् । उनले किसानलाई बिचौलियाबाट जोगाएर सिधै उपभोक्ताको पहुँचमा पुर्याउन हाट बजारको व्यवस्था गरिनुपर्ने धारणा राखे । ‘किसानले सिधै आफ्ना उत्पादन उपभोक्तालाई बेच्न पाउने हो भने कृषि उत्पादनको राम्रो मूल्य प्राप्त गर्न सक्छन्’, अध्यक्ष वैश्य कृषि हाट बजारको आवश्यकता महसुस गरी प्रयास गरेपनि सफल हुन नसकेको बताउँछन् । ‘कृषि हाट बजारका लागि हामी प्रयासरत छौं’, अध्यक्ष वैश्यले भने, ‘स्थानीय तहलाई पनि त्यसबारे ध्यानाकर्षण गराउँदै आएका छौं ।’
बस्तुको उत्पादनसँगै त्यसको उपयुक्त बजारीकरण नहुँदा पनि कृषि उपजले उपयुक्त मूल्य प्राप्त गर्न नसकेको संघ अध्यक्ष वैश्यले बताए । ‘किसानले आफुले उत्पादन गरेका वस्तुहरु ताजा र स्वस्थ छन् भन्ने सन्देश प्रवाह गर्न नसक्दा पनि बजारीकरणको समस्या भएको हो’, उनले भने ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि कार्यक्रम (रिज्म) नेपालगन्जका प्रमुख अर्यालले किसानले आफ्नो श्रम र लगानी अनुसार प्रतिफलको अपेक्षा राख्नुपर्ने सुझाव दिए । ‘हामीले स्थानीय उत्पादनको प्रयोग बढाउने हो भने उत्पादन पनि बढ्छ र बजारीकरण पनि हुँदैजान्छ’, उनले भने ।