त्रिभुवन चोक ‘विजोग’ नराख

चोक सुन्दर बनाउन दाता खोजेर ठिक्क परेको नेपालगन्ज उद्योग वाणिज्य संघलाई त्रिभुवन चोकको सौन्र्दयीकरण अगाडि बढाउन सर्वपक्षीय सुझाव दिइएको छ । मंगलबार संघमा भएको सर्वपक्षीय सहभागिताको एउटा छलफलमा सबैले एक मत भएर भने, ‘कुनै पनि हालतमा त्रिभुवन चोकको सौन्र्दयीकरण रोक्ने कार्य गरिनु हुँदैन ।’


चोकमा शालिक राख्ने कुरा राजनीतिक भएकाले त्यस विषयमा विधिसम्मत निर्णय गर्न सम्बद्ध निकायलाई सुझाव दिंदै सहभागीहरुले भने, ‘चोकलाई विजोग राख्ने काम तत्काल बन्द गरी चोकलाई सुन्दर बनाउने काम अगाडि बढाइयोस् ।’


‘विकासमा बाधकहरुलाई तह लगाउन स्थानीय जनता जाग्नु पर्यो’, स्थानीयबासी समेत रहेका अधिकारकर्मी रविन्द्र कर्णले भने, ‘त्रिभुवन चोकको सौन्र्दयीकरणमा विरोध गर्ने वा बाधा पुर्याउने व्यक्ति नेपालगन्ज विरोधी हो ।’


सहभागीहरुले नेपालगन्ज उपमहानगरपालिकालाई संघलाई दिएको जिम्मेवारी कार्यान्वयनमा कार्यपालिकाको निर्णय अनुसार गर्न सहयोग गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, राजनीतिकर्मी, नागरिक समाजका प्रतिनिधि सम्मिलित सर्वपक्षीय छलफलले दिएको सुझावका आधारमा नेपालगन्ज उद्योग वाणिज्य संघले उपमहानगरपालिकालाई पत्राचार गर्ने भएको छ ।


‘सर्वपक्षीय सुझावका आधारमा तत्काल काम अगाडि बढाउन नेपालगन्ज उपमहानगरपालिकाको सहयोग लिने निर्णय संघले गरेको छ’, अध्यक्ष नन्दलाल वैश्यले छलफल पछि उपमहानगरपालिकालाई पत्राचारको निर्णय गरिएको जानकारी दिंदै भने, ‘सर्वपक्षीय सुझाव र स्थानीयबासीको मर्म, भावना अनुसार तत्काल काम अगाडि बढाउन उपमहानगरपालिकाको सहयोग मागिंदै छ ।’ वैश्यले संघलाई काम अगाडि बढाउन सघाउन सहयोग माग गरिएको जानकारी दिंदै भने, ‘अन्यथा उपमहानगरपालिका आफैले काम गरोस्, दाताको रकम हामी स्थानीय सरकारलाई नै उपलब्ध गराउँछौं ।’


बासका कार्यकारी निर्देशक नमस्कार शाहले संयोजन गरेको मंगलबारको सर्वपक्षीय छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका विकासका लागि नागरिक समाजका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, समाजवादी पार्टीका कमरुद्दिन राई लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया