जन्मसिद्ध नागरिकका सन्तानलाई संविधान अनुसार नागरिकता दिलाउने गृहमन्त्रालयको परिपत्र रोक्न सर्वोच्च अदालतले अर्को आदेश गरेको छ । मंगलबार न्यायाधीशहरु इश्वर प्रसाद खतिवडा र सुष्मलता आचार्यको संयुक्त इजलासले यसअघि नागरिकताका विषयमा फरकफरक आदेश जारी भएकाले यसलाई पूर्ण इजलासमा टुङ्गो लगाउनु पर्ने फैसला गर्दै हाल गृह मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
गृहमन्त्रालयको परिपत्र विरूद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि पहिलो सुनुवाई गर्दै यसअघि पनि सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश दिएको थियो । पछि उक्त इजलासले त्यो रोक्का फुकाउने आदेश गर्यो ।
जन्मका आधारमा नागरिकता लिएका सन्तानले बाबु र आमा दुवै नेपाली भएमा वंशजको नागरिकता पाउने संविधानमा व्यवस्था छ । यो व्यवस्था कानुनमा भने छैन । सर्वोच्च अदालतकै विभिन्न आदेश र संविधानको कार्यान्वयन गर्नैकै लागि गृहले उक्त परिपत्र जारी गरेको देखिएको भन्दै आफैले लगाएको रोकलाई सर्वोच्चले फूकुवा गरेको थियो ।
‘यसबाट अदालतको आदेशको कार्यान्वयनमा द्विविधा पैदा हुने अवस्था देखिएको, यस अदालतको आदेशमा एकरूपता र निश्चितता हुनसमेत वाञ्छनीय देखिएको हुँदा विवादित कानूनी प्रश्नको निरूपण पूर्ण इजलासबाट हुनु आवश्यक देखियो,’ इजलासको आदेशमा भनिएको छ, ‘हाल गृहको उक्त परिपत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन २०७५ चैत्र १९ गते गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरेको थियो । ‘संविधानको धारा ११ को उपधारा ३ बमोजिम जन्मका आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी निवेदन दिएमा वंशजका आधारमा नागरिकता प्रदान गर्न अपनाउनुपर्ने कार्यविधि प्रक्रिया अपनाई, के बुझ्नुपर्छ बुझी उपयुक्त देखिएमा वंशजको नागरिकता प्रदान गर्न सकिने निर्णय भएको छ,’ परिपत्रमा भनिएको थियो ।
२०६३ मा अन्तरिम संविधान लागू भएपछि २०४६ चैत मसान्तसम्म नेपालमा बसोबास गरेको १५ वर्ष पुगेर त्यसपछि पनि निरन्तर यहीँ बसेकालाई राज्यले जन्मसिद्ध नागरिकता दिएको थियो ।
‘अर्को व्यवस्था नहुन्जेलका लागि पछिल्लो गृहको परिपत्रका आधारमा भएको नागरिकता वितरण कार्य रोकिएको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मंगलबार साँझ दैनिक नेपालगन्जसँग भने ।